20/10/2016
तुलाराम पाण्डे, कालिकोट कार्तिक ४, २०७३/मान्म ६ बद्रीगाउँका कुलप्रसाद आचार्य भालेको डाकोसँगै उठ्छन् । बारीमा पसेर बन्दा, काउली, रायो, गोलभेडालगायत तरकारी टिप्न थाल्छन् । हतार नगरे जुम्ला जाने गाडी छुट्ने पिरलो छ उनलाई । ‘कालिकोटको तरकारी बजार जुम्ला होला भन्ने कल्पनै गरेको थिइनँ,’ २७ वर्षीय आचार्य कर्णाली राजमार्ग सञ्चालनपछि फेरिएको दिनचर्या सुनाउँछन् ‘सातामा एक पटक तरकारी बेच्न जुम्ला–कालिकोट धाउने गरेको छु ।’ उनले गत वर्ष मात्र कालिकोटको बद्रीगाउँ र गल्लीमा उत्पादित बेमौसमी तरकारी जुम्लामा बेचेर ९ लाख रुपैयाँ कमाइ गरेको सुनाए । तरकारीबाटै मान्म बजारमा ३ तले पक्की घर बनाएका छन् । तरकारीबाट मनग्य आम्दानी गर्ने आचार्य एक्ला होइनन् । गाउँकै ऋषि आचार्यका ४ भाइले तरकारी व्यवसायबाटै मान्म बजारमा ४ घर बनाएका छन् । पत्नी कुसा बिहानैदेखि मान्म बजारको तरकारी पसलमा व्यस्त हुन्छिन् । उनी दैनिक १० देखि ५५ हजारसम्मको तरकारी र फलफूल कारोबार हुने सुनाउँछिन् । ‘१० हजारभन्दा कमको व्यापार अहिलेसम्म भएको छैन,’ कुसाले भनिन्, ‘दसैंअगाडि त एकै दिन ५५ हजारको फलफूल र तरकारी कारोबार भयो ।’ उनीहरूको सुर्खेतमा पनि घर छ । गाडी किनेका छन् । बद्रीगाउँकै भवानीप्रसाद आचार्यले तरकारीसहित गाउँमै कुखुरा फर्म पनि सञ्चालन गरेका छन् । सदरमुकाम मान्मबाट एक घण्टाको पैदलमा पुगिने बद्रीगाउँका ३७ युवाले व्यावसायिक तरकारी खेती गरिरहेको स्थानीय सालडाँडा निमाविका शिक्षक लक्ष्मीप्रसाद आचार्यले सुनाए । पहिले ज्यालामजदुरीका लागि भारत पस्ने स्थानीय सुर्खेत–जुम्ला सडक जोडिएपछि गाउँमै व्यवसाय गर्न व्यस्त छन् । ५ वर्षयता कुनै युवा ज्यालामजदुरीका लागि भारत नगएको स्थानीय राजु आचार्यले बताए । कर्णाली राजमार्गले स्थानीयको दिनचर्या फेरिदिएको उनले सुनाए सडक कर्णालीवासीको वषौं जेठो र महत्त्वाकांक्षी सपना हो । यो सपना अहिले आंशिक रूपमा पूरा भएको छ । सडक पुगेपछि कालिकोट, बदालकोटको रेगिल, बरातु, मान्मको ताडी, गैरागाउँ, दाहाको राताडाब, गेलाको पान्तडी, चिल्खायाको कामखेतसहितका डेढ सयभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यहाँका युवाले बेमौसमी तरकारी उत्पादन गरी जुम्ला खलंगा, नाग्म, पिली, सेराबाडा, मान्म, जिते, हुल्म, दैलेखको खिडीज्युलालगायत बजारमा बिक्री गरी सदरमुकाम मान्म, सुर्खेत, कोहलपुर, बर्दिया, कैलालीलगायत स्थानमा घरजग्गा खरिद गरेका छन् । मान्म ६ कै पर्वानन्द आचार्यले तरकारी बेचेरै ३२ लाख लगानीमा मान्म बजारमा पिल्लरसहितको ३ तले घर निर्माण गरेका छन् । अर्का व्यवसायी रूपप्रसाद आचार्यको ४ तले घर अन्तिम चरणमा छ । त्यहीँका भवानीले १६ कोठे घर बनाइसकेका छन् । कालिकोट तरकारी उत्पादनमा आत्मनिर्भर बन्न थालेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख कलबहादुर शाहीले बताए । ‘बद्रीगाउँ तरकारी उत्पादनका लागि नमुना बनेको छ,’ १० वर्ष पहिलेको कालिकोट सम्झिँदै भर्तामा घर भएका निमित्त प्रमुख शाहीले भने, ‘सुरुमा गाडी चल्न थालेपछि नेपालगन्जको फलफूल र तरकारीले मान्म बजार भरिएको थियो, अचेल जताततै स्थानीय उत्पादन पाइन थालेको छ ।’ उनले बरातु कर्णालीकै अर्गानिक तरकारी उत्पादन गर्ने गाउँ बनेको बताउँदै भने, ‘त्यहाँ कुनै पनि किसानले रासायनिक मल र विषादी प्रयोग गर्दैनन् ।’ मान्म बजारमा खपत हुने तरकारी स्थानीय तहमै उत्पादन हुन थालेको कालिकोट उद्योग वाणिज्य संघ अध्यक्ष सूर्यबहादुर शाहीले बताए । ‘निर्वाहमुखी खेती प्रणालीबाट यहाँका बासिन्दा माथि उठ्न थालेका छन्,’ शाहीले भने । उनले जुम्लाका लागि कालिकोट हिउँदे तरकारी उत्पादनको प्रमुख केन्द्र बनेको सुनाए । कालिकोटमा मात्र वार्षिक ५०/६० लाखको तरकारी र फलफूल व्यापार हुने गरेको शाहीले जनकारी दिए । यसअघि चर्को हेलिकोप्टर भाडा तिरेर आवत–जावत र दैनिक उपभोग्य वस्तु आयात गर्नुपर्ने बाध्यता थियो । सुर्खेत, बाङ्गेसिमलबाट सुरु भएर जुम्ला खलंगा बजारमा पुगेर अन्त्य हुने २३२ किलोमिटर लामो कर्णाली राजमार्ग निर्माण सम्पन्न भएपछि कालिकोट र जुम्ला जिल्लाको रौनक नै फेरिएको छ । जुम्लामा स्याउ खेतीका लागि ‘एक घर एक बगैंचा’ अभियान चलेको छ । कर्णालीमा स्याउ, ओखर, आरुबखडालगायत फलफूल प्रशस्तै उत्पादन गर्न सकिने भए पनि यसअघि बजार पहुँच अभावमा बिक्री गर्न सकिएको थिएन । अब भने अभियानकै रूपमा स्याउ, ओखर, सुन्तला, केराखेती सुरु भएको छ । जुम्लाको १४औं जिल्ला परिषद्ले फलफूलमा रासायनिक मल र विषादी प्रयोग नगर्ने प्रतिबद्धतासहित प्राङ्गारिक जिल्ला घोषणा गर्दै ‘एक घर, एक बगैंचा’ को अभियान थालेको हो । कर्णाली राजमार्गले कालिकोट, जुम्ला र आसपास क्षेत्रमा आर्थिक र सामाजिक रूपान्त्रणको ढोका खोलेको कालिकोटका सामाजिक अभियन्ता मीनबहादुर शाही बताउँछन् । भन्छन्, ‘अब कर्णालीका गाउँगाउँसम्म सडक सञ्जाल विस्तार गरेर आर्थिक समुन्नतितर्फ लैजानुपर्छ ।’ कछुवा गतिमा अघि बढिरहेको कर्णाली राजमार्ग निर्माणका लागि शाहीकै अगुवाइमा २०६० असार १० र ११ गते जुम्लामा भएको कर्णाली सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले यस क्षेत्रको आर्थिक, सामाजिक रूपान्त्रणका लागि कर्णाली राजमार्ग पहिलो आवश्यकता भएको ठहर गर्दै निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो । ०४८ देखि हालसम्म राजमार्गमा २ अर्ब ५ करोड रुपैयाँ खर्च भइसकेको छ । ०४२ सालमा तत्कालीन निर्माण तथा यातायात मन्त्री हरिश्चन्द्र महतको प्रयासमा सम्भाव्यता अध्ययन गरिएको राजमार्ग शिलान्यास ०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । पर्याप्त बजेट अभाव, फितलो कार्यान्वयन, राजनीतिक इच्छा शक्तिको कमि, ढिलासुस्ती, सशस्त्र द्वन्द्वलगायतका कारणले कर्णालीमा सडक पुग्न डेढ दशक लागेको थियो । -इकान्तिपूर बाट साभार
http://newssanchar.com/?p=4649
तुलाराम पाण्डे, कालिकोट कार्तिक ४, २०७३/मान्म ६ बद्रीगाउँका कुलप्रसाद आचार्य भालेको डाकोसँगै उठ्छन् । बारीमा पसेर बन्दा, काउली, रायो, गोलभेडालगायत तरकारी टिप्न थाल्छन् । हतार नगरे जुम्ला जाने गाडी छुट्ने पिरलो छ उनलाई । ‘कालिकोटको तरकारी बजार ...