29/03/2023
SEE परीक्षार्थी, शिक्षक र अभिभावकलाई ज्यादै उपयोगी र काम लाग्ने टिप्स :
SEE परीक्षालाई विद्यार्थी र अभिभावकले गाह्रो र कठिन ठान्ने अनि मनोवैज्ञानिक भयमा रहने गरेका छन्। तर त्यस्तो विल्कुल होइन, एसईई परीक्षालाई पनि अन्य परीक्षा जस्तै सहज रुपमा लिएर पूर्ण आत्मविश्वासका साथ उत्तर लेखेमा राम्रो नतीजा ल्याउन सकिन्छ।
अनावश्यक तनाव लिने कारण धेरै परीक्षार्थीले जानेका कुरा पनि बिर्सने र राम्ररी लेख्न नसकेर नतिजा बिगार्ने गर्छन्। यसकारण निम्न कुराहरुलाई परीक्षार्थीहरु र अभिभावकहरुले समेत ध्यान दिई व्यवहारमा कार्यान्वयन गरेमा परीक्षामा सफलता प्राप्त गर्न सक्छन्।
१. अघिल्लो दिनको तयारी,
- घरमा अभिभावकहरुले रमाईलो वातावरणको सिर्जना गरिदिने। कुनै तनाव उत्पन्न हुने खालका कृयाकलापहरु घरमा हुन नदिने।
- सकेसम्म परीक्षाको समयमा अभिभावकहरु आफ्ना बालबालिकाहरुसँगै बस्ने। परीक्षा केन्द्रसम्म आफैले पु-याइदिने र उत्साह भर्ने काम गर्ने।
- भोलि परीक्षा छ, पढ पढ.. भनेर छोराछोरीलाई दवाब नदिने, स्वतन्त्र रुपमा पढ्न छाडिदिने। सल्लाह दिने र निगरानीमात्र राख्ने।
- परीक्षाको अघिल्लो दिन शरीरले पचाउन नसक्ने खाले खाना नखाने, पानी प्रशस्त पिउने।
– परीक्षाका लागि आवश्यक पर्ने सामग्रीहरु जस्तै कलम, जियोमेट्री बक्स, क्याल्कुलेटर र प्रवेशपत्र एकैस्थानमा ठिक्क पारेर राख्ने।
– राती अबेरसम्म नबस्ने, सुत्नुअघि एक गिलास मनतातो पानी पिएर सुत्ने बरु बिहान सबेरै उठेर आफ्नो तयारीका साथै पुनरावलोकन गर्ने।
– परीक्षा केन्द्रमा पुगेर वा परीक्षाको दिन नयाँ कलम किन्नु हुँदैन। आफूले लेखिरहेको कलम कम्तीमा ३टा जति ठिक्क पारेर राख्नुपर्छ, ताकि कलमको कारणले परीक्षामा धोका नहोस्।
२ . परीक्षाको दिन,
- बिहान आफूले आस्था राखेको भगवानको आराधना गर्ने वा प्रार्थना गर्ने, यस्ले आत्मविश्वास जगाउन मद्दत गर्दछ।
- बिहान हल्का नास्ता खानुपर्छ भोकै परीक्षा दिन जानु हुँदैन ।
- विद्यालय पोशाक वा हल्का रङका पोशाकहरु लगाउनु पर्छ, आफूलाई सहज हुने पोशाक लगाउने।
- परीक्षाका लागि प्रवेशपत्र लगायत अघिल्लो दिनै तयारी गरेका सामग्रीहरु लैजान कुनै हालतमा पनि नबिर्सने।
– सकभर सम्भव भएसम्म आफ्ना घरपरिवारका सदस्यहरुसँग नै परीक्षा केन्द्रमा जानुपर्छ, नभए आफ्नो मनमिल्ने साथीहरुसँगै रमाईलो कुराकानी गर्दै परीक्षा केन्द्रमा जानुपर्छ। यसरी गरिने कुराकानीहरुमा केही रुपमा विषयवस्तुहरु पनि समेटिउन्।
- पहिलो दिन ४५ मिनेट अगाडी र अरु दिन आधा घण्टा अघि परीक्षा केन्द्रमा पुग्नेगरी पूर्ण तयारीका साथ घरबाट निस्कनुपर्छ।
३. परीक्षा केन्द्र जाँदा,
- आफूले परीक्षाको लागि आवश्यक पर्ने सामग्रीहरु बाटोमा सुरक्षित साथ लैजान ध्यान दिनुपर्छ।
- मनमा कुनै डर र त्रासको भावना पैदा हुने कुराहरु कत्तिपनि सोच्नु हुँदैन। सबै मैले पढेका विषयहरु हुन्, जानेकै र पढेकै पाठहरुबाटै प्रश्नहरु आउने हुन् भन्ने कुरा मनमा सोच्नुपर्छ।
४. परीक्षा केन्द्रमा पुगेपछि,
– गेटमा पुगेर सुरक्षाकर्मी वा कसैलाई प्रवेश पत्र देखाएर भित्र पस्नुपर्ने हुन्छ, त्यसैले त्यसको पूर्व तयारीका साथ गेटमा पुग्ने।
– परीक्षाकेन्द्रमा पुगेर कुनै पनि कुरा पढ्ने घोक्ने वा रट्ने गर्नु हुँदैन र साथीहरुसँग धेरै कुराकानी नगरीकन आफूले जाँच दिने कोठा खोज्नतर्फ लाग्नुपर्छ।
– आफ्नो कोठा पत्ता लागिसकेपछि १५ मिनेट अगावै परीक्षा हलमा पसेर आफ्नो सिम्बोल नम्बर भएको स्थानमा बस्नुपर्छ।
५. परीक्षा हलमा
– परीक्षा हलमा परीक्षार्थीले बिताउने ३ घण्टाको समय निकै महत्वपूर्ण हुन्छ। यो समयको सही सदुपयोग र केही सामान्य कुराको हेक्का राख्न सकिएमा परीक्षामा सोधिएका प्रश्नहरुको समाधान सहज रुपमा दिन सकिन्छ। कतिपय विद्यार्थीहरुलाई यस कुराको सही ज्ञान नहुँदा परीक्षा सकिएपछि पछुताउनु बाहेक केही हुँदैन।
क) उत्तरपुस्तिका पाएपछि –
– सर्वप्रथम उत्तर पुस्तिकाको अवस्था हेर्ने यदि कतै च्यातिएको छ वा कतै खुम्चिएको उत्तर पुस्तिका छ भने तुरुन्त निरीक्षकलाई भनेर कपी साट्नु पर्छ।
– उत्तर पुस्तिकामा आफ्नो नाम नलेखी सिम्बोल नम्बर अंक र अक्षर दुबैमा स्पष्टसँग केरमेट नगरीकन लेख्नुपर्दछ।
– सिम्बोल नम्बरलाई पुनः प्रवेशपत्र अनुसार जाँच गरी मिले नमिलेको एकिन गर्नुपर्छ। अन्य विवरणहरुमा परीक्षाको मिति, विषय, पत्र, स्क्रिप्ट (भाषा), राम्ररी नआत्तिईकन लेख्नुपर्छ।
– मार्जिन मिलाउने अनि संभव भएसम्म दायाँ, बायाँ धर्का तान्ने गर्नुपर्छ। (कपीमा नै पहिल्यै धर्का भएमा तान्नु आवश्यक छैन ।)
– आफ्ना सबै सामग्रीहरुको पूर्ण रुपमा तयारी गरी राख्नुपर्छ।
– यी सबै काम सकेपछि धैर्य राखेर प्रश्नपत्रको प्रतीक्षा गरी बस्नुपर्छ।
ख) प्रश्नपत्र पाएपछि –
– प्रश्नपत्र पाएपछि प्रश्नहरु पुरा भए वा नभएको, नछापिएको, काटिएको, मधुरो भएको अवस्थामा निरीक्षकलाई तुरुन्त जानकारी गराई अर्को प्रश्नपत्र लिनुपर्छ, सबै प्रश्नहरु सर्सती एकपटक हेर्नु पर्छ। यसरी पहिल्यै हेरिएमा ढुक्क हुन सकिन्छ र मस्तिष्कमा उत्तरको खाका पनि तयार हुँदै जान्छ।
ग) प्रश्नहरु समाधान गर्ने क्रममा –
– प्रश्न समाधान गर्नु पूर्व प्रत्येक प्रश्नहरुको प्रश्न नम्बर अनिवार्य रुपमा लेख्नुपर्छ। प्रश्न नसारीकन उत्तर लेख्नुपर्छ,
जस्तै : प्रश्न नम्बर १ को उत्तर
– विशेष गरी व्याकरणमा खाली ठाउँ भर्ने, सही उत्तर छानेर भर्ने जस्ता प्रकृतिका प्रश्नहरुमा भने प्रश्न लेख्ने गर्नु पर्दछ। प्रश्नमा दिइएको निर्देशन राम्ररी अध्ययन गरी उत्तर लेख्नु पर्दछ।
– संभव भएसम्म क्रमानुसार नै प्रश्नहरुको समाधान गर्नु राम्रो हुन्छ। कुनै प्रश्नको उत्तर नआएमा त्यसलाई छोडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्छ, त्यही प्रश्नमा अल्झिएर समय खेर फाल्नु हुँदैन।
– फरक छुट्टयाई लेख्नुपर्ने, पत्र लेख्नुपर्ने, चित्र बनाउनुपर्ने जस्ता प्रश्नको समाधान सकेसम्म एउटै पेजमा अट्नेगरी लेख्नुपर्छ। कुनै पेजमा उत्तर लेखेर थोरै मात्र ठाउँ छ भने अर्को पेजमा लेख्नुपर्छ।
– प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि दुई लाईन जति छाडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्दछ, यसो गर्दा कपी सफा र आकर्षक देखिन्छ।
– कलममा मसीको प्रयोगका हकमा भने सकभर नीलो मसी प्रयोग गर्दा धेरै राम्रो हुन्छ, चित्र शीशाकलमले बनाउनु पर्दछ। कलमको मसी वा कलम नै परिवर्तन गर्नुपर्ने अवस्था आएमा निरीक्षकलाई जानकारी गराएर हस्ताक्षर गराई मात्र प्रयोग गर्नु पर्दछ।
– कुनै दुईको वा तीनको मात्र उत्तर दिनुहोस् भनिएका निर्देशनहरुलाई राम्ररी बुझेर मात्र उत्तर लेख्नुपर्छ नत्र अनावश्यक रुपमा बढि प्रश्नहरु हल गर्दा समय पुग्दैन, अरू प्रश्न छुट्न सक्छन्।
– परीक्षा हलमा साथीहरुसँग कुराकानी गर्नु हुँदैन, परीक्षाको मर्यादालाई कायम राखी उत्तर लेखनमा व्यस्त रहनुपर्छ।
– अनिवार्य रुपमा हाजिरी गर्नुपर्छ। हाजिरी विवरण भर्दा आफ्नो सिम्बोल नम्बर, मूलकपी नम्बर, विषय, आफ्नो नाम र हस्ताक्षरका विवरणहरु नआत्तिइकन राम्ररी भर्नुपर्छ, नबुझेमा निरीक्षकलाई सोध्नुपर्छ।
– जुन प्रश्नफहल गरिन्छ त्यसलाई प्रश्नपत्रमा सानो ठीक लगाउनु पर्दछ, जसले गर्दा प्रश्नहरु छुट्ने, दाेहाेरिने सम्भावना हुन्न।
– कपि सकिनुभन्दा ५ मिनेट अगावै निरीक्षकसँग उठेर थप कपी माग्नुपर्दछ। पूर्ण रुपले सकिएपछि मात्र कपी माग्नु हुँदैन यसो गर्दा कपी माग्दा निरीक्षकले कपी ल्याएर दिँदा एक, दुई मिनेटको समय त्यसै खेर जान्छ। परीक्षामा सेकेण्ड समयको पनि निकै महत्व हुन्छ, अगाडी नै थप कपी मागेर निरीक्षकले कपी दिँदै गर्दाको समयमा पनि आफूले लेख्दै गर्नुपर्छ।
घ) सबै प्रश्नको उत्तर लेखेपछि –
– सकभर समयको व्यवस्थापन गरेर अन्तिममा १० देखि १५ मिनेट बचाउनु पर्छ। यो बाँकी समयमा लेखेका उत्तरहरु पढ्ने, कतै केही गल्ती भेटिएमा सुधार गर्ने धेरै नै शब्द गल्ती भेटिएमा धेरै फोहर नगरीकन एक लाईनले चट्ट काटेर सफा अक्षरमा लेख्नुपर्छ। कतै केही कुरा छुट भएमा पनि लेख्न सकिन्छ।
– खाली ठाउँमा भरेका शब्दलाई अन्डरलाइन गर्नुपर्छ।
– समय भएमा आफूले लेखेका उत्तरहरु (हिसाब आउने विषयहरुका हकमा) प्रश्नपत्रमा टिपोट गर्नुपर्छ।
– कपीको अन्तमा समाप्त या गिभअप, आफ्नो सम्पर्क फोननम्बर, कपी परीक्षकहरुलाई आफ्ना कथा ब्यथाहरु लेख्ने अनि मलाई जसरी पनि पास गरिदिनुहोला, लगायतका अनुनय विनयका कुराहरु पटक्कै लेख्नुहुँदैन। सही उत्तर लेखिएका कपीहरुको सही रुपमा मूल्याङ्कन हुन्छन्, त्यस्ता कुराहरु लेखिएमा कुनै अर्थ रहन्न।
ङ) उत्तरपुस्तिका बुझाउँदा,
– राम्ररी सबै थप कपीहरु राम्ररी स्टिच (नत्थी) गर्नु पर्छ। संभव भएसम्म स्टिच मेशीन आफैले लैजाँदा राम्रो हुन्छ।
– कपी थपिएको विवरण मूलउत्तर पुस्तिकामा उल्लेख गर्नुपर्छ जसका लागि निरीक्षकलाई वा आफैले पनि १+१… +१ लेख्नुपर्छ। आफैले लेखेमा निरीक्षकसँग रुजु गराउनु पर्दछ।
–उत्तरकपी परीक्षा हलमा खटिएका निरीक्षकलाई नै बुझाउनुपर्छ।
च) परीक्षाहलवाट बाहिरिनु अगाडि,
– प्रवेशपत्र लगायत आफ्ना सम्पूर्ण परीक्षाका सामग्रीहरु सम्झेर ल्याउनुपर्छ।
छ) हल बाहिर निस्केर –
– परीक्षा के भयो, कस्तो भयो भनेर साथीहरुसँग सामान्य रुपमा छलफल हुनु त स्वभाविकै हो तर यसमा धेरै समय खर्चिनु हुँदैन।
– खुसी भएर मैले जे गरेको छु राम्रो गरेको छु भन्ने सम्झिएर निवासतिर फर्किनुपर्छ।
६. घरमा पुगेर,
– परिवारका सबै सदस्यहरुलाई परीक्षामा के कस्तो भयो भनेर जानकारी दिनुपर्छ। फ्रेश भएर आराम गरी अर्कोदिनको परीक्षाको तयारीमा पहिलेजस्तै लाग्नुपर्छ।