06/03/2016
तपाईले लगानी गरेका यी ७ कम्पनी, जुन नेप्सेबाट हुँदैछन् खारेज, ओटिसी मार्केटमा दर्ता हुने १५ कम्पनी कुन् कुन् हुन् ?
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दर्ता भएर पनि लामो समयसम्म दर्ता शुल्क तथा वार्षिक शुल्क नतिरेका ७ वटा कम्पनीको दर्ता खारेजी हुने भएको छ । लगानीकर्ताको हितलाई ध्यानमा राखि नेप्सेले लामो समयसम्म दर्ता खारेजी जगरेको भए पनि ती कम्पनीहरु सम्पर्कमा नआएका कारण नेप्सेले दर्ता खारेजीको प्रकृया अघि बढाएको हो । यसै बिच नेप्सेको ओटिसी मार्केटमा दर्ता हुने कम्पनीको संख्या १५ पुगेको छ ।
दोस्रो बजारमा शेयर कारोबार गराउन भन्दै नेप्सेमा सुचिकृत भए पनि त्यस पछि दर्ता तथा वार्षिक शुल्क नबुझाएका ७ कम्पनीको दर्ता खारेजी गर्ने तयारप् नेप्सेले गरेको हो । उल्लेखित शुल्क नबुझाएकै कारण निलम्बनमा परेका कम्पनीहरुलाई लगानीकर्ताको हितलाई ध्यानमा राखेर पटक पटक सबै शुल्क बुझाउन ताकेता गरिए पनि सम्पर्कमा नआएका कारण खारेज गर्न लागिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार दर्ता खारेजीको तयारीमा परेका कम्पनीहरुमा बुटवल स्पाइनिङ मिल, याक एन्ड यती होटल, विराट सुज, नेपाल ट्रेडिङ, फ्लुयर हिमालयन लिमिटेड, अरुण वनस्पति उद्योग, नेपाल बिटुमिन तथा ब्यारेल उद्योग रहेका छन् । सबै कम्पनीहरुले ५ देखि १० वर्षसम्मको शुल्क नबुझाएको नेीसेले जनाएको छ ।
उसका अनुसार सबै तयारी भैसकेको छ । अब नेप्सेको सञ्चालक समितिको निर्णय हुना साथ कम्पनीहरुको दर्ता खारेज हुनेछ । यी ७ कम्पनी खारेज भए पछि नप्सेमा दर्ता खारेज हुने कम्पनीको संख्या ४९ हुनेछ । यस अघि नेप्सेले २०५९ सालमा २५, २०६३ मा १२ र २०६५ सालमा ५ वटा कम्पनीको दर्ता खारेजी गरेको थियो ।
नेप्सेले गरेको व्यवस्था अनुसार चुक्ता पुँजी १० करोड रुपैयाँभन्दा माथि भएका कम्पनीले दर्ता शुल्क १ लाख रुपैयाँ तथा वार्षिक शुल्क ५० हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ भने चुक्ता पुँजी ५ करोडदेखि १० करोड रुपैयाँसम्म भएका कम्पनीले दर्ता शुल्क ७५ हजार र वार्षिक शुल्क ३५ हजार रुपैयाँ बुझाउनुपर्छ । १ करोडदेखि ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले दर्ता शुल्क ४५ हजार र वार्षिक शुल्क २५ हजार रुपैयाँ तथा १ करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले दर्ता शुल्क र वार्षिक शुल्क १५/१५ हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।
कुन् कुन् कम्पनी थपिए ओटिसि मार्केटमा ?
नेप्सेको सूचीबाट हटेका, निलम्बनमा परेका तथा सुचिकृत नभएका पब्लिक कम्पनीहरुको शेयर कारोबार हुने बजार ओटिसि अर्थात ओभर द काउण्टरमा १५ कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले पब्लिक कम्पनीलाई यस्तो बजारमा आउन अनिवार्य गरे पछि ओटिसिमा कम्पनीहरु दर्ता हुन थालेका हुन् ।
दर्ता भएका मध्ये ७ कम्पनीको शेष्र कारोबार भैसकेको छ भने अरु ८ कम्पनीको शेयर कारोबार सुरु भएको छैन । नेप्सेका अनुसार शेयर कारोबार गराईसकेका कम्पनीहरुमा ग्रोमोर मर्चेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, युनाइटेड मोदी, हुलास वायर, मारुती सिमेन्ट, सियान सिट सर्भिस सेन्टर र काठमाडौं फरेस्टी कलेज रहेका छन् ।
बजारमा दर्ता भएका अरु कम्पनीहरुमा हाथवे इन्भेस्टमेन्ट नेपाल, आईएमई लिमिटेड, रेशुङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्लोबल आईएमई क्यापिटल, सीबीआईएल क्यापिटल, हुलास स्टिल इन्डस्टिज, राधी जलविद्युत् कम्पनी र हुलास मेटल क्राफ्ट रहेका छन् ।
Via Merolagani.com