शब्दास्त्र

  • Home
  • शब्दास्त्र

शब्दास्त्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शब्दास्त्र, News & Media Website, .

06/01/2025

कविताःभकारी
कविः निरज दहाल

गाउँमा प्रौढ शिक्षा पुगेको वर्ष
बाआमाले धान र भकारी लेख्न सिके
पढेका छोराबुहारीहरूले सिके
बनाउन जमिनका तिलस्मी नक्साहरू।
घाम बोलाउलान् निधारमा
र जून बोलाउलान् छातीमा भनिरहेको बेला
आफ्नै छोराहरूले अमिन र समाज
बोलाएपछि एकदिन
बाले करेसाबारीबाट
छोराहरूलाई हेर्दै भने–
‘ठीकै छ, कुरा विश्वासको छ।’
कुरुवंशको राज्यको नक्साजस्तै देखिने
बादल लागेको धूमिल दिन
भागबण्डामा प¥यो
बाले पसिना सिँचेर बचाएको
गौरवको लिखत
आमाले आँसु सिँचेर बचाएको
पुस्तैनी अस्मिता।
बेंसी खेत जेठाले लग्यो
कुलो लाग्ने पाखो माइलाले
बाआमा भएको घरबारी
कान्छाले राख्यो।
आमाले सोचिन्–
‘एउटै कलेजोको सिरानी पनि बाँडियो !’
वर्ष दिनपछि जेठो छोरो आएर भन्यो–
‘बा ! तपाईंको नाति भोकले मर्ने भयो।’
बाले बिनाप्रतिप्रश्न
भकारीको एक अंश थमाइदिए।
केही दिनपछि
माइलो आयो र भन्यो–
‘बा ! तपाईंकी नातिनी रोगले मर्ने भई।’
आमाले निःशब्द लगाइन्
भकारीको अर्को अंश
र भनिन्– ‘लैजा, बेचेर उपचार गर।’
खिइरहँदा घरभित्रको ढुकुटी
आँखामा सन्तोष उमारेर हाँसिरहे बूढा बा
निधारभरि उमेरका रेखाहरूले
लेखिरहिन् आमाले प्रेमको कखरा
‘नपुगे फेरि आउनू।’
कान्छो छोराले त्यसै भकारीबाट
अलिकति धान झिक्यो र ब्याड बनायो
लहलह हरियाली हुर्कायो खेतभरि
र समयसँगै फुलायो सुन गह्रागह्रामा
अर्को वर्ष भण्डारको कोठामा
थपियो अर्को भकारी।

दुई भकारी देखेपछि
बाले कान्छो छोराको शिरमा
हात राखेर भने– ‘कान्छा ! माटो कमधेनू हो
सधैं माया गर्नू,
तेरा हात अक्षयपात्री हुनेछन्।’
आमाले भान्साकोठाबाट भनिन्–
‘खोसेको कुरा त म भन्न सक्दिनँ,
मागेर लगेको कुरा
मान्छेले अवश्य फिर्ता गर्छ
श्वास भए उसैले नभए भगवान्ले।

27/12/2024

कविताःमध्य
कविःनवीन अभिलाषी

कहाँ आइपुगेँ म
लासहरु निदाईरहेको धमिलो घाटजस्तो
दासहरु घस्रिरहेको यो पटकानीजस्तो
साँच्चै,
यो कहाँ आइपुगेँ म - यसरी अचानक …

भञ्ज्याङ्गमै छोडेर देवताहरु
उर्लिँदो भेलसँगै हिँडेको ढुङ्गा थिएँ म,
म बुद्धको गणराज्यमा विस्टाएर उडेको परेवा थिएँ,
म त तरबार थिएँ
सिकन्दरको चिहानबाट ब्यूझिएर हिँडेको ।

तर, यो तानाशाहको तबेलाजस्तो
लगाम र काँठी ठोकिएका को हुन् यिनीहरु ?
हिन्हिनाउन समेत नसक्ने….

तिब्बतको पठारजस्तो ओठ
र सेतीको खोँचजस्ता आँखाहरु लिएर
वन्दना गाइरहने
कविहरुको कर्कस सुनिरहेछु यतिबेला ।

वैराग्यग्रस्त महाराजको फिर्ती सवारीमा
प्रतीक्षारत क्रान्तिकारीहरु भेटिरहेछु चौकचौकमा ।

तप्प तप्प चुहिरहेछ रगत
भोका कागहरुले भिरेको कलमको निबबाट ।
खुलेयाम बाँडिरहेछ पुजारीले
पिपले मुछिएको पापहरुको प्रसाद ।

भनिदेउ, कस्लाई थाहा छ
कहाँ पुग्ने हो - यति लामो लाचारहरुको लस्कर ?

हत्केलाहरु गेँडिएको चित्रकारले
सोँचिरहेछ अझै - ति वेपत्ता हातहरुमा कैद भाग्यरेखाहरु ।
मुर्कुट्टा शालिकहरुको पनि
देखिदैनन् इतिहासमा कुनै स्पष्ट अनुहार ।

हाटमा राखेर जोडा स्तन
सुत्केरीले भर्ना गरेकी छ नवजात शिशुलाई क्लिनीकमा ।

फूटपाथमा फाटेका जुत्ता सिउने त्यो बुढो मानिसलाई
थाहा छैन - त्यहि बाटोको लम्बाई
उसको पैतालामा आइपुगेको छैन - सुदूर पुग्ने बाटो ।

कहाँ आइपुगेँ म
जहाँ चर्किएको ऐनामा युवतीहरुले अनुहार हेर्छन्,
पुरुषहरु वीर पुर्खाको पेन्सनले धर्मग्रन्थ किन्छन् ।
साँच्चै,
यो कहाँ आइपुगेँ म - यसरी अचानक …

सुन्दर असुरहरुको बीच सहरमा
म भर्खर आत्मदाहका लागि सल्किएको छु
चिच्याइरहेछु - यी निभेका मान्छेहरुको बीचमा
उफ्रिरहेछु म - यी शान्त रमितेहरुको भिडभित्र ।

मेरो चिच्याहटले
सायद, कहिल्यै फुट्ने छैन
यी मानिसभित्र सदियौदेखि जमेको से-फोक्सुण्डो ।

कालरात्रीको यो मध्य प्रहरबाट
उड्न खोजिरहेछु - एक आकाश आकाङ्क्षा लिएर
एक पैताला पाताल उचालेर - दोडिन खोजिरहेछु ।
किनकी,
कसरी फेर्न सकिन्छ श्वास
चुर्लुम्म डुबेर सेफ्टी ट्याङ्कीभित्र

र कसरी गाउन सकिन्छ
गद्धारका लागि गुलामीको गीत - त्यो पनि कवितामा ?

22/12/2024

कविताःरमिता
कविः मदन दुलाल

समय:
..९० को भदौ मसान्त

सरकार बिचित्रको उर्दि लिएर बेंशी झर्यो

बेंशीमा
- माझघरे साईंलो पसिना रोप्दै थिए - देशको भोकको लय मिलाउन
- डांडाघरे दमाई ठुल्दाई कपडा खुट्दै थिए — देशको नग्नता छोप्न

देख्नु हुन्न
- देश्को भोको पेट

देख्नु हुन्न
- देशको नग्नता

देखेमा दश दुनियां हांस्छन
खिसिट्युरी गर्छन भनेर देश चिन्तन गर्ने साल्दाई र ठुल्दाईलाई

भदौ मसान्तको एक दिन

सरकारले
- हग भन्यो
- मुत भन्यो

खान पाए पो हग्थे सांल्दाईले- हगेनन्
पिउन पाए पो मुत्थे ठुल्दाईले - मुतेनन्

सरकारले,
नहगेको - हग्न स्विकार नगरेको
नमुतेको - मुत्न स्विकार नगरेको
निउ बनायो



माझघरे सांल्दाई र डांडाघरे दमाई ठुल्दाईको
प्रथमत: जिब्रो खोसे [ भाषा ]

सरकारलाई
भोको पेट र प्यासी गलाबाट डर थियो बिद्रोहको

शनै:शनै
- हात खोस्यो [ कलम ]
- खुट्टा खोस्यो [ धरा ]
- आंखा खोस्यो [ दृष्टि]

हात/खुट्टा/आंखा र जिब्रो खोसिसकेपछी

कन्चटमा बन्दुक दाग्यो र हांस भन्यो

एकप्रति अटोग्राफ लियो

डरले डढेको अनुहार लाएर ङिच्च हांसेको त्यै तस्बिर देखाएर
विश्व रंगमन्चमा सरकार परेड खेलिरहेछ

विश्व पत्याईरहेछ
हो मा हो मिलाई रहेछ

तर
तिनै माझघरे सांल्दाई र डांडाघरे दमाई ठुल्दाईका सन्तान हामी

रमिता हेरिरहेछौं रमिता

20/12/2024

कविताःएक्लै एकान्तमा
कविःमौन आवाज

कसैसँग विवाद गर्नु थिएन
बहस गर्नु थिएन
तर्क वितर्क गर्नु थिएन
झगडा गर्नु थिएन ।

कसैसँग प्रेम गर्नु थिएन
घृणा गर्नु थिएन
लिनु थिएन
दिनु थिएन ।

एकबारको जिन्दगीमा
नहुनुपर्ने सबै भएपछि
हुनुपर्ने केही नभएपछि
आफैलाई पनि केही भन्नू थिएन ।

कसैलाई केही गुनासो गर्नु थिएन !

केवल हेर्नु थियो -

कस्तो देखिंदो हो
निस्सार निस्सार निस्सारता
कस्तो हुँदो हो
शुन्य शुन्य शुन्यता ?

हेर्नू थियो पूर्णतः आफैलाई अपूर्ण
हेर्नू थियो आफैलाई रित्तो !

कस्तो हुँदो हो
सत्यको शाश्वत नग्नता ?

- हेर्नू थियो एक्लै एकान्तमा !

20/12/2024

कविता : कण्डमनगर ।
कविः विरेन मगर

सर्वप्रथम
तपाईँलाई यो बताऊँ कि
यो जो कुनै बहादुर सैनिकको छातीमा वीर-पदक जस्तो गरी
झुण्ड्याइएको छ प्रवेशद्वारको छातीमा कण्डमको बाकस
मात्र यो सङ्केत दिन कि
यहाँ मान्छेको होइन कण्डमको राज चल्छ ।

त्यस्तो पनि होइन कि
जुका झैँ जीवनभर
मैथुनिक क्रिडामा लिन हुन्छन् यहाँका मानिसहरू
तर, यो भ्रम पर्न सक्छ कसैलाई पनि
चोकदेखि चोकसम्म
चौतारादेखि चौतारासम्म
स्कुल, अस्पताल, कार्यालय आदि जहाँसुकै
जब पच्छ्याइरहेको हुन्छ यहाँ
कण्डमका बाकसहरूले ।

भोको पेटलाई नुन चाहिन्छ कि कण्डम ?
तर, बुझ्नेले यहाँको मुटु कुरा बुझ्दैन
देख्नेले यहाँको मुटु कुरा देख्दैन ।

भान्सामा खानलाई नुन समेत हुँदैन
नजिकै कुनै रुख वा छिमेकी छाप्रोको भित्तामा हाँसिरहेको हुन्छ कण्डमको बाकसहरू ।
मुफ्तमा झिक्न मिल्ने ती कण्डमहरुले
अललिरहेका छाप्रावासीलाई
अलिनो सेक्सको निम्ति उकासिरहेको देख्दा
लुङ्गी उचालेर देखाइदिन झोक चल्छ तामाङ्नी दिदीलाई ।

बरु
ठाउँठाउँमा झुण्ड्याएको भए यसरी
न्यायको निम्ति लड्न प्रेरित गर्ने सैद्धान्तिक पुस्तकहरू
लेखिएको भए राजनैतिक नाराहरू यहाँ भित्ताहरूमा
छर्नु थियो सङ्घर्षका तात्कालिक योजना भएका पर्चाहरू
भने
आफ्नो बीस वर्षे छोराले
हस्तमैथुन गरेर समय खेर फाल्ने थिएन पक्कै
घले दाजुलाई घरीघरी यस्तो लागिरहन्छ ।

अब त
छाप्रोवासीले ‘भोक लाग्यो’ भन्नुको कुनै अर्थ छैन
देख्नेले पेटको भोक शान्त पार्नुभन्दा
सेक्सको भोक बढाउने मनोवैज्ञानिक युद्ध
ज्यादा जरुरी देखेको छ यहाँ ।

‘कण्डम परिवार नियोजनको अस्थायी साधन हो’
‘कण्डमले यौन रोगको सङ्क्रमण हुनबाट रोक्छ’
कसले भन्यो कण्डमले यस्तै मात्र काम गर्छ भनेर ?
यही नगरबासी गुरुङ काकाको बुझाई छ-
यो त एक्काइसौँ शताब्दीको अचुक हतियार हो
यसले त जोगाउँछ
मान्छेलाई नयाँ विचार सङ्क्रमण हुनबाट पनि ।

काकाको प्रश्न छ-
नत्र कसरी बाँचिरहेछन् चिन्तनशील मानिसहरू
यतिका वर्षसम्म विचारहीन भएर पनि ?

कण्डम
‘यूज एण्ड थ्रो’ हुनुमा गर्व गर्दो हो
यो नगरमा
एक हुल मान्छे सधैँ
कण्डम हुनुमा गर्व गर्छन्,
किन कि
कण्डम प्रतीक हो यहाँ व्याप्त विचारको
कण्डम बिम्ब हो राजनीतिको
मानिसहरूले माने पनि नमाने पनि
बनाउनेले कण्डमलाई आइडल बनाएर
झुण्ड्याइदिएको हो यहाँ वर्षौँ अघि ।

19/12/2024

कविताःअराजक छोरीहरु
कविःआरती आचार्य

हुर्काइको खोइ कतिअाैँ बर्षमा हो
कुनै हिँस्रक जन्तुको पञ्जाको छाप
परेको थियो उसको संवेदनशीलतामा

सोध्नु,
छातीमा कुनै जङ्गली जनावरको पञ्जाको
छाप बोकेर हिँडिरहेका छोरीहरुलाई
तिमीलाई सबैभन्दा डर के कुराको लाग्छ?

सोध्नु,
योनीमा समाजका 'मर्दहरुको' मर्दाङ्गीको
बोझ बोकेर हिँडिरहेका छोरीहरुलाई
तिमीलाई सबैभन्दा आक्रोस कतिबेला पैदा हुन्छ?

सोध्नु सार्वजनिक बसको
अन्तिम सिटमा संवेदनशील
अङ्गमा 'छोइएका' छोरीहरुलाई
यो समाज तिमीलाई ठीकठाक किन लाग्दैन ?

दृष्य एक: ती सबै छोरीहरुको प्रतिनिधि उत्तर

हृदयभरि डरको, आक्रोशको, भयको
एन्जाइटी बोकेर हुर्किएकी ऊ
अचेल निर्भीक बनेकी छे ।
अचेल आवाज बनेकी छे ।
अचेल आगो बनेकी छे।

केही दिनअघिमात्र उसले
खुलेआम चुम्बन गरिदिएकी छे
कथित 'अछुत ' उसैले
रोजेको प्रेमीलाई।

उसले सार्वजनिक घोषणा गरिदिएकी छे कि
" योगको साधना जस्तो संभोगद्वारा
म जन्माउन चाहन्छु यो युगको उत्तराधिकारी
म राख्न चाहन्छु आफ्नो पाठेघर आफ्नै स्वामित्वमा
म हुर्काउन चाहन्छु आफ्नै प्रेमीको विर्य
र म निरन्तरता दिन चाहन्छु आफ्नै वंशलाई"

दृष्य दुई: बिद्रोहसँग डराइरहेको समाज

युद्ध हारेर फर्किएको सम्राटको जस्तो अनुहारमा
बदला जस्तो ,इर्श्या जस्तो , क्रोध र बेचैनी जस्तो अनाैठो संगम बोकेर
रातका ताराका फूलहरु झर्न नपाउँदै
जुनले आफ्नो उकुसमुकुस
संवेदनाको थोपामा संगाल्न नपाउँदै
समाजको ठेकेदारले उर्दी जारी गरिदिएको छ,

"पाठेघरमा आफ्नै स्वामित्व खोज्नेहरु अराजक हुन्।"
"खुलेआम चुम्बन गर्नेहरु चरित्रहीन हुन्।"
" यसरी हिँड्नेहरु कतै बिक्दैनन्"
"यसरी बोल्नेहरु कुलघरानमा भित्रँदैनन्"

जवाफमा भनिदिएकी छे उसले पनि कि
"तिम्रो दासत्वको भुङ्ग्रोभित्र पोलिइरहनुभन्दा
म आफ्नो इच्छाले जन्माइरहन सकूँ अराजक छोरीहरु
म आफ्नै इच्छाले बनिरहन सकूँ चरित्रहीन आइमाई
म आफ्नै इच्छाले बनिरहन सकूँ चरित्रहीन आइमाई ।"

19/12/2024

कविताःअस्तित्व
कविःसम्पदा

साँझ बिहान म हिँड्ने बाटो,
तिम्रा पाइतालाले पनि छोएकै थिए कहिलेकाहीँ
धुलाम्मे चोकको चिया पसलका कपहरुमा
तिम्रो छाया पनि थियो कतै।

औँठाछाप मात्र पनि वनाएको होइन म आफैंले।

हजारौं हत्केलाको छापले
एकैछिनमा गुमनाम बनाउथे चिया कपका स्पर्शहरूलाई
लाखौं पाइतालाले कुल्चिँदा
गुमनाम भए होलान् त्यही बाटोमा हाम्रा पदचापहरू पनि

म बाटोलाई सोध्न सक्दिन थिएँ—
"त्यो कुन पदचाप ठ्याक्कै तिम्रो थियो?"

त्यही हावामा
अलिकति त मिसिएकै थियो तिम्रो बास्ना
म आफ्ना स्नायुहरुलाई सोध्न सक्दिनँ थिएँ
आफैंले फेरिरहेको स्वासमा
"ठ्याक्कै कुन बास्ना तिम्रो थियो ?"

के चिनारी यति अस्पष्ट हुन सक्छ?

जतिसुकै मसिनो होस,
जतिसुकै धमिलो होस,
एकै बाटोको ऐनामा हाम्रो प्रतिबिम्ब थियो।

बतासमा नामका स्पर्शहरु थिए धेरै पुराना
तर अन्जान थिए।
एकै पदचापका बाटाहरु थिए,
तर मसानझैँ चुपचाप कुनै अनकन्टार यात्रामा थिए।

चिनारी यसैले धुमिल थियो कि
आफैंलाई चिन्न मसँग एक हरक सम्झना समेत स्पष्ट थिएन।

हिउँदको सिरेटाेमा ,
वसन्तका पालुवाहरुको स्पर्शमा ,
बर्खाका बादलहरुका चोक्टामा ,
खडेरीको बाफिलो गन्धमा ,
साटिँदै साटिँदै बनेको त हुँ म पनि ।

अस्तित्व भन्नु,
करोडौं अस्तित्वहरूको बीचमा जेलिएको
एक अन्योल मात्रै रहेछ,
न त यो एक्लै कतै छ,
न त भेटिन्छ दुरुस्तै कतै।

19/12/2024

कविताःएक फ्रस्टेड मानुष
कविः जनक कार्की

म पूर्ण होस हवासमा
मेरो भयंकर दुश्मन
म स्वयंलाई घोषणा गर्दछु ।

म आफैं मेरा सपनालाई
चुरोट जसरी सल्काइरहेछु
पृथ्वी फोहोर गर्न
ठुटाहरूद्वारा योगदान गरिरहेछु ।

मेरा आकांक्षाहरूलाई
गुट्खा खाएर
पिचित्त-पिचित्त थुक्दै
भित्ताहरू कुरुप बनाइरहेछु ।

घाँसको प्रलोभनमामा
हरेक विहान वधशालामा
उभिएको छु ।

म रिसाउँछु हावाहरूसँग
किन फोक्सो चलाउन आइपुग्छ निरन्तर
अनि रिसाउँदै खाना बटुल्न
कारखाना दौडिन्छु ।

रिसाउन थालेको छु
पसिना स्वादिलो मानेर खाने
तर
मजदुरको पसिना सुँघ्दा नाक खुम्चाउने
मालिकका नाकहरूसँग

सबैभन्दा बढी रिस उठ्छ
आफ्ना पेटहरूसँग
जसले मेरो विद्रोहको अवाजलाई
लम्पसार बनाउँछ ।

जिन्दगीको ढाड यस्तो ठाउँमा चिलाइरहेछ
जहाँ कन्याउनलाई हात पुग्दैन ।

01/12/2024

कविताःदैनिकी
कविःसम्पदा

हरेक बिहान उसैगरी जन्मिन्छ,
एक पुनरावृत्तिको श्रृङखला।
चिसो दिनको कोखबाट,
जसै जन्मिन्छु
मस्तिष्क घडीको तालमा झुल्न थाल्छ।

चन्द्रमाको छायाँमुनि गुलामीको गीत गुन्जिन्छ।

कारखानाको छायाँले बाटो ढाक्छ,
लाग्छ, म मेसिनका गल्लीहरुमा हिंडिरहेकि छु।
जस्तो कि प्रत्येक पाइला अनियंत्रित सवारी हो।
कसैले कोरेको नक्सामा गुड्ने मेरो सवारी,
जहाँ दुर्घटनाको भयले सिट भरिएको छ।
हातले काम गर्छन् कसैको लागि,
श्रम त केवल छायाँ हो।

म त केवल कारखानाको प्रतिध्वनी हुँ।

मलाई कहिलेकाहीँ भावनाहरुको असाध्यै न्याश्रो लाग्छ।

सुर्य बलेको त देखिन्छ तर प्रकाश चिसो छ।

खानु / हिँड्नु/काममा पुग्नु
बिहानै ठिहीको यात्रामा सपना भुल्नु
घडीको डोरीमा बाँधिएर कामको चक्रमा घुमिरहनु लगातार।

कहिले बज्छ बाह्र?
र मलाई भोक लागेको थाहा पाउनेछु।

आफ्ना इच्छा यस्सै छाडेर समयको माग पुर्ती गर्नु
साँच्चै !
कुनै कुनै दिन
यन्त्रवत कामले सुर्यको प्रकाश पनि जफत गर्छ।
त्यही दिन,
मलाई हिउँदको घाम, केही केश्रा सुन्तला र मनपर्ने किताबको असाध्यै न्याश्रो लाग्छ।

रातमा अँध्यारोभित्र एउटा चिच्याहट उम्लिन्छ
दुर्घटनाको भयले भरिएको यो गाडी गुडिरहेपनि
राती केही मसिना झिल्का त जगाउँछु हृदयभित्र

कारण -
मलाई थाहा थाहा छ,
समयको परिधिभित्र बाँधिएको घडीको यो क्रूर संगीत
एकदिन भंग हुनेछ,
तिमीले भनेका थियौ,
आत्मासँग दोस्रो अवसरको सपनाको अधिकार सधैं सुरक्षित छ

01/12/2024

Anna Akhmatovaका दुई कविताहरू
अनुवादःसुमन पोख्रेल

एक.
त्यस्ती ठानेछौ तिमीले मलाई

त्यस्ती पो ठानेछौ तिमीले मलाई ।

तिमीले मलाई चटक्कै बिर्सन सक्नेछौ,

म चाहिँ अनुनय गर्दै रूनेछु, र
आफूलाई समाप्त गर्नेछु, भन्ठानेछौ ।

अथवा म
जोखाना देखाउन पुग्नेछु कुनै बूढीबजु कहाँ
माग्नेछु जडिबुटीबाट बनाएको कुनै मोहनीओखती र
मन्त्र फुक्न लगाई पठाउनेछु
मेरो अमूल्य सुगन्धित रूमालको व्याकुल उपहार तिमीलाई,भन्ठानेछौ ।

भुत्रैसिति ।
म तिम्रो अभिशप्त मनलाई
संवेदनाले भिजेको आँशु वा
हेराइको एक झिल्कोसम्मले पनि अनुगृहित गर्ने छैन ।

म वचन दिन्छु तिमीलाई, परीहरूको बगैँचाछेउ उभिएर
म वचन दिन्छु, हुनै नसक्नेलाई पनि सम्भव गराइदिने देवीथानबाट
र हाम्रा रातहरूका ज्वाला र तिनका धूँवाछेउबाट
तिमीलाई भेट्न अब
कहिल्यै आउने छैन म ।

दुई.
थाह छैन , तिमी ज्युँदै छौ कि मरिसक्यौ

थाह छैन मलाई, तिमी ज्यूँदै छौ कि मरिसक्यौ ।
के तिमीलाई अझै खोज्न सकिन्छ यस धर्तीमा,
वा साँझमा घाम अस्ताएर मलीन हुँदै गर्दा
मनभरि सम्झिएर तिमीलाई
चुपचाप विदीर्ण हुन मात्र सकिन्छ ?

प्रत्येक दिनको प्रार्थना,
रातका अनिदा छटपटाइ
मेरा कविता र तिनको कञ्चन उडान
मेरा आँखा, र तिनका नीला ज्वाला
सबै तिम्रा लागि हुन् ।

तिमीभन्दा बढि प्यारो कोही पनि थिएन मेरा लागि,
तिमीले भन्दा ज्यादा यातना कसैले दिएन मलाई,
यातना दिनकै लागि मलाई धोका दिनेले समेत
त्यति यातना दिएन,
न त त्यसले नै दियो,
जसले मलाई प्रेमले सुम्सुम्यायो
र बिर्सिदियो ।

नोटः
अन्ना आख्मातोभाका यि कबिताहरू Suman Pokhrel द्धारा अनुवाद-कृत 'मनपरेका केही कविता'बाट लिईएका हुन ।

22/11/2024

कविताःआमाको ईश्वर
कविःरमेश क्षितिज

ताछ्दै ताछ्दै आली
मिचिसकेको छ संधियारले
कयौ पुस्ताको पसिनाले भिजेको सुनको टुक्राजस्तो खेत
र पनि मौन हुनुहुन्छ आमा

आफूले टिकट काटेको सिटमा
गजधम्म बसेर माडिरहेछ खैनी कसैले
चुपचाप हुनुहुन्छ आमा

संकटको बेला लगेको सापटी फर्काउनु त कता कता
धम्क्याएको छ उसले नै
“के छ कागज प्रमाण ? “
अहँ केही बोल्नुहुन्न आमा

समथर ठाँउको जग्गा देखाएर
भीरको कित्ताको लागि गराएको छ
बयानको कागज कसैले
बिनाकसुर लगाएको छ आरोप कसैले
तैपनि चूपचाप र शान्त आमा, केही भन्नुहुन्न

बरू सयौ प्रश्नको एउटै उत्तर दिनुहुन्छ सधैंजसो
“ईश्वर छन् उनैले हेर्छन् “

हो, ईश्वर हेर्छन् चुपचाप र बोल्छन् मौन भाषामा !

[प्रसिद्ध कवि/गीतकार रमेश क्षितिजको "घर फर्किरहेको मानिस" कविता संग्रहबाट ।]

22/11/2024

कविताःइन्द्रेणी
कविःसम्पदा

रंगहरु आमाले चिन्दिनथिन।

कंचनजंघाको निधार चुमेर
दलिनमा ठोक्किन आइपुगेको
घामको पहिलो रङ,
आमाको एक उमेरभरिको उत्साह थियो।

सिलौटो खोज्न तमोरको किनार पुग्दा,
जामा भरी भरी सबैभन्दा सुकिला दर्शन ढुङ्गाहरु बटुलेकि थिइन।

आमालाई त्यसबेला से........तो रंगसँग रत्तिभर डर थिएन।

त्यही पल्लो भन्ज्याङबाट उँभो हात तन्काउँदा
भेटिएलाजस्तो लाग्ने आकाशको
गा……ढा निलो रङ आमालाई कहिल्यै अप्राप्य लागेन।

रंगहरु नचिन्दै स्कुलमा खुसुक्क छिरेथ्यो
बहुदल,
पहिलोपटक कसैले नदेख्ने गरि रातो फेटामा आफ्ना
सपनाहरु कस्सेर बाँधेकी थिइन निधारमा।

आफ्नी आमाले ओढ्ने रातो मजेत्रो पनि सँधै न्यानो नै लागेथ्यो उनलाई।

स्कुले फ्रकको फेर उचालेर
सारा फूलहरु पोको पारेर
जब गुराँसे डाँडामा चिसो बताससँग
सुसुल्दै हिँड्थिन,
आमालाई लाग्थ्यो,
संसारभरिका सारा रंगहरु उनका पनि हुनेछन।

अचानक एकदिन
आमा प्रतिबन्धित भैन संसारका सारा रंगहरुबाट,शिवाय रातो ।

प्रतिबन्धित रंगहरुको न्याश्रो थाहा नपाउँदै शोकमा घन्टौ रोएकी थिइन उनी त्यस दिन।

अचेल आमालाई रंगहरुसँग डर लाग्छ।
रहरहरुसँग संकोच लाग्छ।

जिन्दगीभर रातोमै खुम्च्याए आमाहरुले आफुलाई,
कहिलेकाहीँको फैलावट पनि गुलाबी र कलेजीसम्मको साँघुरो।
तर आमाहरुलाई इन्द्रेणी मन पर्छ,
उनिहरुलाई रातो मात्र मन पर्दैन।

22/11/2024

कविताःजेजति थियो
कविःप्रकाश रम्घाली

चरा थिएँ
उड्ने मेरो आकाश थियो
फर्कन गुँड र पर्खने कोही थियो ।

गीतजस्तै शब्दहरूको
दृष्यजस्तै सिनेमाहरूको ।

रोप्दा निधारमा
उम्रिएका चुम्बनहरू
बिसाउँदा हृदयमा
हुर्किएका प्रेमका बिरूवाहरू ।

—के थिएन ?

परैसम्म नियाल्ने आँखीझ्यालहरू थिए ।

अग्ला-अग्ला पहाड
र, शीरबाट ओर्लने घाम
लजालु आकाश
र, जिस्काईरहने बादल ।

—सबथोक थियो !

एकान्त थियो
त्यसैले त, सम्झेर रूँन सुविधा थियो ।

20/10/2024

कविताःअछुत’को प्रेमगीत
कविःअभय श्रेष्ठ

म छु वारि भीरमाथि,
डाँडाको बतासजस्तै पारि छ मेरो मुटु ।

जसरी पुरानो भित्तामा चल्छ
खिया लागेको पुरानो घडी
ठिक त्यसरी नै चल्छ
नयाँ संविधानमा सत्ताको रथ
त्यसरी नै तिम्रो नजरमा
म अझै
पिँढीभन्दा तल
करजोरी गरिरहने उही पुरानै अछुत हुन्छु ।

हार्नेहरूको वीरताझैँ मेटिन्छ
त्यहाँ मेरो आँसु, पसिना र रगतको इतिहास ।

म मान्दिनँ–
प्रेमको संसारमा वर्णको कुनै भित्ता हुन्छ
एक बारको अमूल्य जुनीकै जोखिममा
रोजेको हँु मैले एक ‘सवर्ण’ युवतीको प्यार
तर, हरेक पटक प्रेमको आलिङ्गनमा
मेरो कलेजाको मध्य भागमा रोपिन्छ जातको खन्जर ।

मान्छेको निर्दोष रगत र अक्षत प्रेमलाई
जिउँदै जल्न नदिन
अब त मसँगै छन्
वर्णको प्रदूषित हावा र प्रेमको निषेधमा
निःसासिएका सहस्र मानिस
प्रेमको पवित्र सौन्दर्यशास्त्रले पनि
भन्न सक्दैन मेरो पवित्र प्रेमलाई अपवित्र
यो देशको सर्वोच्च विधान
रगतले सिँचेको यो भूमि,
पसिनाका बुँद,
यो घाम, यी जूनतारा
बतास र रूखपातले पनि
युगमाथि तर्जनी औँला ठड्याइसके ।

तर, भोरको मन्द हावाझैँ मेरो हृदयमा नित्य ठोकिएको
प्रेमको जवाफमा
किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ?

म प्रेमको अतुल गहिराइमा
बोल्छु मौन भाषा
त्यसलाई तिमी तरबारले थुन्छौ
जवाफमा वाचाल छ मेरो मौन
जलाएर धर्मशास्त्रका पाना र उद्धरणहरू
छाड्नु छ मैले यहाँ पवित्र प्रेमको डोब
दिनु छ युगलाई प्रेमको भाषामा
एउटा बाफिलो जबाफ
यो देश साझा फूलबारी हो भने
मत्स्यवेदको प्रवेशद्वारमा तोड्नु छ मैले निषेधाज्ञा ।

म पनि त चाहन्छु
यो दुःखी दुनियाँमा नचलोस् आँधीहुरी
मेरो पवित्र प्यारको आकाङ्क्षामा
नखलबलियोस् कुनै रूखको जरा
नलागोस् कुनै वनमा डँडेलो
तर, दुनियाँमा कैयन् यस्ता कुरा छन्
जसलाई नजलाए
यहाँ धेरैले जिउँदै जल्नुपर्छ ।

म छु वारि भीरमाथि
पिँजराको बुलबुलझैँ पारि छ मेरो माया ।

16/10/2024

कविताःएउटा मुर्तिको आत्मासंस्मरण
कविःरमेश क्षितिज

कुनै सीमान्तकृत नागरिकजस्तो भएर
ढुड़गा थिएँ म ढुड़गा-- जीवनको किनारतिर कतै
बगरमा पल्टिरहेको
घामको झरी सहिरहेको
बेला-बेलामा चल्ने असिनाको हुरी भोगिरहेको,

स्थिर थिएँ, जड र अप्रगतिशील थिएँ
मौन थिएँ, लाटो र अवाक् थिएँ
झरी पथ्यो-- पिरो बनाएर जान्थ्यो नाक
हुरी चल्थ्यो-- आँखामा खसालेर जान्थ्यो बालुवा
बाढी खस्थ्यो-- तड्पाएर जान्थ्यो मेरो आत्मा

त्यो लोक गायक नदी हुन सकिनँ
जससँग थिए हृदय छुने गीतहरु
त्यो आदिकवि सुर्य सकिनँ
जस्ले लेख्थ्यो घामका उज्याला पड़त्तिहरु
त्यो कलाकार चरा हुन सकिनँ
जस्ले बनाउँथ्यो कलात्मक गुडँ
टाढा हिँडेको माझीजस्तो बाटो
वा कोमल हृदयजस्तो पग्लिरहेको मेघ-- त्यस्तो केही हुन सकिनँ,

बरु म एक दिन ईश्वर भएँ म ईश्वर !

जब लग्यो कुनै कलाकारले मलाई
हिर्कायो शरीरका एक एक बिन्दुमा/ताछ्यो पत्रपत्र छाला

उता माल्सिरीको मीठो स्वरलहरी गुञ्जिँदा
म चिच्च्याउँथेँ कर्कश आर्तनादले यहाँ,
बिहान हुन्थ्यो र पक्षीहरु उड्थे उन्मुक्त आकाशमा
साँझ हुन्थ्यो र रातोरातो हुन्थ्यो सुदूर क्षितिज
म खस्दथेँ-- क्षण-प्रतिक्षण टुक्रदै आफैबाट यहाँ,

म खप्दथेँ-- छिनो/ हथौडा /मार्तौल
म सहन्थेँ-- प्रहार/ चोट/ दु:ख

अनि एउटा शुभ बिहान प्रतिष्ठापित भएँ म मन्दिरमा,
बेलपत्र/अक्षता/सुन्दूर,घाम/शीत छेक्ने छानो
बस्नलाई आसन/सुँघ्नलाई बास्ना/हेर्नलाई रड़ग
र, सुन्नलाई लयात्मक श्लोकहरु-- के छैन मसँग ?

एउटा साधारण ढुड़गाले ईश्वर बन्नु किमार्थ एउटै थियो
तर रहस्य
कि मैले पीडाको लामो यात्रा हिँडेको थिएँ !

24/08/2024

कविताःझरी पर्दा
कविःनदिश नदिश

झरी पर्दा बाछिटाहरुले
हिर्काइरहन्छन्
ढोका अघिल्तिरको बार्दलीको रेलिङ्

बिस्तारै सङ्लिन्छन् बाछिटाहरु
रेलिङ्मुनि उदाउँछ पानीको खुर्पे जून

तुर्लुङ्ग झुण्डिएको त्यो खुर्पे जून दायाँ सर्दै सर्दै जान्छ
र बढ्दै बढ्दै जान्छ त्यसको आकार
पानीका कणहरु सङ्लिएर रेलिङ्मुनि फेरि नयाँ जून उदाउँछ
र पुरानो जूनलाई पच्छ्याउन थाल्छ

सर्दै सर्दै, बढ्दै बढ्दै ती पानीका थोपाहरु
एक एक गर्दै
पूर्णेजून बनेर खस्छन् रेलिङ्बाट तऽऽल

औँसीदेखि पूर्णिमासम्मका सबै सङ्ला रातहरुलाई
एउटै भित्तमा टाँगिदिएजस्तै
मेरो बार्दलिको रेलिङ्गभरि जूनहरुको लस्कर लाग्छ

मेरो बार्दलिको रेलिङ्गभरि जून
जिवनको सुन्दर यात्रा गर्छन्

हत्केलामा थापेर पिइदिनु त एक थोपा जून
कस्तरी उज्यालो बल्छ मनभरिको आँगन!

यसरी पानीका अनगीन्ती कणहरु सङ्लिएर
बनेको यौटै थोपाभित्र
कुन कुन ठाउँबाट उठेको वाफ होला?
कहाँ कहाँको स्वाद मिसिएको होला?

यौटै थोपाले पनि संसारका कत्ति कथा भन्ला
यौटै थोपामा पनि संसारको कत्ति भूगोल अट्ला
यौटै थोपाभित्र बस्ला कति थरी माटोको सुस्केरा

टोलाउनु झरी पर्दा
झ्यालमा बसेर झरीको सङ्गीत सुन्दै टोलाउनु
या रुझ्नु निस्केर बाहिर
खेल्नु, कुद्नु, उफ्रनु बेफिकर
फर्काउनु आकाशतिर अनुहार
पानीको स्वाद लिनु, माटोको बास्ना
या हेर्नु बरण्डाबाट नुहाइरहेका रुखहरुको नखरा
निथ्रुक्क भिजेका फूलहरुको लाज हेर्नु
तर नबस्नु
बन्द गरेर घरको झ्यालढोका
टम्म थुनेर हृदयको आँखा
आलमारीका किताबसरी
मृत अक्षर टाँसेर मानसभरी
भित्र नबस्नु ।

24/08/2024

कविताःआनन्दको सवार
कविः प्रकाश रम्घाली ( अधिकारी)

हुरीको तरबारले नछिनाएको आनन्दको डालीमा
कुनै घुमन्ते चराहरू झैं कसरी कसरी भेटियौ हामी ।

प्रेम नै त हो, धर्तीको सबैभन्दा पुरानो बाटो…..!

पहाडको शीरमा बतासले ठुङ हानेझै
अहो ! यो आनन्दको घोडामा सवार
म आफैलाई पनि, भेट्न सक्दिनँ होला अब त ।

बडो सावधानीपूर्वक हजामले चलाएको छुराजस्तो
तिम्रा निश्वासहरू छामी फर्कदा होस्
वा साँझपख नियालो घारीमा बास बसेको घामजस्तो
रातभर तिमीलाई सुनी फर्कदा होस्

आनन्दको फूल रोपेर मेरो हृदयमा
छाडिदिएकी….जो छौ तिमीले…..!

23/08/2024

कविताःअब कविताहरु नदीमा बगाइदिनेछु
कविः केशव गजुरेल

म चाहन्न अब कविताहरु मानिसहरूले पढुन्
मानिसले पढ्दैमा कविताले सार्थकता पाउने होइन
मानिसले नपढ्दैमा कविता असान्दर्भिक हुने पनि होइन
कविताको वास्तविक लय नलेखिनुमा छ, नपढिनुमा छ

(मेरा हृदयका सम्पुर्ण प्रिय कविताहरु,
तिमीहरूलाई अब म बगाइदिनेछु नदीमा ।)

बग्दैबग्दै समुन्द्रमा पुग्नेछन्
या अल्झिनेछन् यतैकतै ढुंगाका कापहरुमा
बगेछन् भने- जानेछन् तिम्रो शहरलाई पनि नाघेर
यधपी, समुन्द्रमा पुग्नु मात्रै स्थिर हुनु होइन
बीचतिरै अल्झिनु भनेको बाटो बिराउनु होइन
बगेर जाओस् या अल्झियोस् ढुंगाका कापहरुमा
जीवनका सबै रंगहरु हेरेर उड्ने चराहरुले
हेर्नेछन् हावामा तैरिएका कविताका तरलताहरुलाई
र, उड्दै जानेछन् बाफहरु शून्यताको क्षितिजसम्म
जीवनका आधा रंग मात्रै देखेको बकुल्लाले
ध्यानको नयाँ आयाम सिक्नेछ बरु - माछा कुर्न

मान्छेले पढ्नैपर्छ भन्ने छैन
मान्छेलाई पढाउनैपर्छ भन्ने छैन
मान्छेद्वारा कविता पढिनु भनेको
मान्छेको हृदयमा कविता हराउनु हो
यहाँ हराउने ठाउँहरु धेरै छन्
मान्छेका प्रश्न / उत्तरको माध्यम किन बनोस् कविता?
आफ्नो अस्तित्व गुमाउन
किन पसोस् मान्छेका हृदयमा कविता?

नदी किनारको अमुर्त नृत्यमा विलाओस् बरु
- जहाँ गोधुली बिहानीसँग मिल्छ
- जहाँ मृत्युको छायाँमा पनि जीवनको मीठो फूल फुल्छ
- जहाँ लचिलोपनको अनुस्मारकले पलहरुलाई अंगाल्छ
- जहाँ कविताहरु हृदयहरुसँग डराउनु पर्दैन
- जहाँ प्रेमको अनुग्रहमा प्रेमीहरुको बिम्ब बनेर स्वाभिमान गुमाउनुपर्दैन

(मेरा हृदयका सम्पुर्ण प्रिय कविताहरु,
तिमीहरूलाई अब म बगाइदिनेछु नदीमा ।)

Address


Website

Alerts

Be the first to know and let us send you an email when शब्दास्त्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share