07/01/2024
पुरै पढ्न केही समय लाग्ला ।
मनन गर्नै पर्ने बुँदाहरु रहेछन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताले ध्यानदिनुपर्ने कुरा ।
१. तपाईंको मनोविज्ञान वा मनोवृत्ति कस्तो छ ? त्यो तपाईंको सामाजिक सञ्जालबाट थाहा पाउन सकिन्छ । सकेसम्म सामाजिक सञ्जाललाई सकारात्मक र सूचनामूलक बनाउने प्रयास गर्नुहोस् ।
२. हामी कति सभ्य छौं ? कति सु-संस्कृत छौं ? शान्त र शालिन छौं भन्ने कुराको मापन हामीले चलाइरहेको सामाजिक सञ्जाल पनि एक हो । यसर्थ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हरेक पोस्टमा गम्भीर हुन जरुरी छ । आफूले पोस्ट गरेको कुराले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफन्त, साथीभाइ र समाजको कुनै पनि क्षेत्रमा असर पर्छ /पर्दैन, गर्छ/ गर्दैन ! त्यो राम्रोसँग ख्याल गर्न जरुरी छ ।
३. सामाजिक सञ्जाल आफ्नो आवेग, आक्रोश, रिस-राग र द्वैष पोख्ने ठाउँ हैन । यो कुरामा हमेसा ख्याल पुर्याउन आवश्यक छ । यो सामाजिक सञ्जाल भएकोले तपाईं हाम्रो नितान्त व्यक्तिगत आक्रोशले पनि समाजको सौन्दर्यमा नकारात्मक असर पुर्याउँछ भन्ने हेक्का राख्नुपर्छ ।
४. हामी सूचना दिन निक्कै हतारो गर्छौं । कुनै पनि सूचना हतारमा होइन, सत्य-तथ्यमूलक हुनुपर्छ । सूचना दिने नाउँमा (कसैको अत्यन्त संवेदनशील कुरा जस्तै, मृत्यु, व्यक्तिगत गोपनियता, जातिगत संस्कृति, सामाजिक सभ्यता लगायतका कुरामा ) गम्भीर चोट पुग्ने/ पुर्याउने कुरामा भुलेर पनि हतारो नगरौं । सत्य-तथ्यमा ख्याल पुर्याऔं ।
५. सामाजिक सञ्जाल सबै उमेर समुहको साझा थलो भएकोले कहिल्यै पनि बालबालिका, बृद्ध-बृद्धाकाे मनोविज्ञानमा चोट पर्ने वा लैंङ्गिक हिंसा हुने कुरामा सतर्कता अपनाउनुपर्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता कोही पनि सामाजिक तथा मानसिक हिंसामा पर्नु राम्रो होइन ।
६. सामाजिक सञ्जालमा कुनै पनि जात विशेषलाई होच्याउने / हेय भाव दर्साउने वा उनीहरूको मन दुखाउने कुनै पनि उखान-टुक्का प्रयोग वा कसैको शारीरिक कमजोरीलाई प्रत्यक्ष / अप्रत्यक्ष असर पर्ने कुरामा सतर्क रहनुपर्छ ।
७. सामाजिक सञ्जालमा सकेसम्म लैंगिक विवेधजन्य शब्दहरूमा ख्याल गर्ने । त्यस्ता शब्दहरूमा वैकल्पिक शब्दहरूको प्रयोग गर्ने । अर्काको आस्था र भावनामा चोट पुग्ने गरी कुनैपनि कुरा पोस्ट नगर्ने ।
८. हामीले परम्परागत रूपमा चलाई आएको कतिपय उखानहरूमा जातीय द्वैष, स्त्रीद्वैष, फरक क्षमताका व्यक्तिप्रति गम्भीर चोट पुग्ने खालको पाइन्छ । त्यस्तो कुनैपनि कुरा पोस्ट गर्नुअघि ख्याल राख्ने ।
९. अहिले हामी सामाजिक सञ्जालमा मात्रै निर्भर छौं । सूचनाको स्रोत यो मात्रै होइन । सामाजिक सञ्जाल हेरेर मात्रै आफ्नो धारणा बनाउने नगर्नुहोस् । सामाजिक सञ्जालमा धेरैकुराको अनधिकृत सूचनाहरू राख्ने गरेको पाइन्छ । हरेक कुराहरूको स्रोत खोज्ने प्रयास गर्नुहोस् । आफूसँग कुनै प्रमाण, स्रोत र आधार नभएका सामाग्रीहरू पोस्ट/ शेयर कहिल्यै नगर्नुहोस् ।
१०. सामाजिक सञ्जाल सबै उमेरका प्रयोग-कर्ताहरूमा गम्भीर नशा / लतको रूपमा बिकास भएको छ । सकेसम्म यसको प्रयोगलाई सिर्जनशील र चेतनामूलक बनाउन जोड दिनुहोस् । सामाजिक सञ्जालले तपाईंको महत्त्वपूर्ण समय मात्रै नष्ट गर्दैन । मानसिक रूपमा समेत गम्भीर समस्या उत्पन्न गराउँदै लैजान्छ ख्याल पुर्याउनुहोस् ।
११. विश्वका कतिपय देशमा सामाजिक सञ्जालकाे प्रयोग पूर्णरूपमा निशेध गरिएको छ । हामीकहाँ पनि सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोगको मात्रा बढी रहेको छ । 'साइवर क्राइम'को तथ्यांक दिनानुदिन बढ्नु पक्कै पनि राम्रो होइन । यसर्थ सामाजिक सञ्जालको प्रयोग हरदम सदुपयोग र सतर्कता पूर्वक गर्नेतिर लाग्नुहोस् ।
१२. धेरै सन्जाल प्रयोगकर्ताहरू आफन्त, नातागोता र शुभ-चिन्तकहरूको मृत्युमा हत्तपत्त 'मृत-शरीर'को तस्वीर पोस्ट गरिरहनु भएको हुन्छ । मृत-शरीरसँग शेल्फी खिचिरहेको देखिन्छ । यो पटक्कै राम्रो होइन । मृत-शरीरको तस्वीर कहिँ कतै आवश्यक नै छैन । जीवन छँदैको तस्वीर राख्दा नै सभ्य देखिन्छ । हामीले त्यतातिर पनि गम्भीर भएर ध्यान पुर्याउन जरुरी छ ।
१३. सामाजिक सञ्जालमा कुनै पनि पोस्ट गर्दा मन शान्त भएको समय छान्नुहोस् । मनमा अत्यधिक तनाव र मस्तिष्कमा कुनै अप्रिय कुराले गाँजेको बेला गरिएका पोस्टले तपाईंकाे जीवन मात्रै बर्वाद गर्दैन । समाजको सभ्यतामा समेत गम्भीर असर पार्छ । तसर्थ कुनै पनि कुरा पोस्ट गर्दा तपाईं पूर्ण रूपमा शान्त हुन जरुरी छ ।
१४. सामाजिक सञ्जाल हामीले सूचना, ज्ञान र मनोरञ्जनका लागि प्रयोग गर्ने हो नकि यो हाम्रो जीवनमा नकारात्मक परिणति निम्त्याउने साधन नबनोस् ।
[ तपाईंलाई यी बुँदा चित्त बुझे, अरुलाई पनि साझा गर्नुहोस् ]
साभार : श्री बाबु सर।