24/01/2023
नेपालको बैंकिङ अवस्था
Major Banking Terms (बैंकिङ शत प्रश्नोत्तरी)
१. वित्तीय साक्षरता भनेको के हो ?
वित्तीय साक्षरतालाई सामान्यतया व्यक्तिहरूले वित्तीय स्रोतसाधनलाई आफ्नो भलाइको लागि प्रभावकारी रूपमा प्रयोग गर्न हासिल गर्ने ज्ञान तथा शिपको रूपमा परिभाषित गरेको पाइन्छ । यसले वित्तीय सेवा उपलब्ध गराउनेहरूलाई समेत उनीहरूको सेवा वा उत्पादनहरूको (प्रोडक्ट) बारेमा राम्ररी बुझ्न, उक्त उत्पादनसँग जोडिएको जोखिमको घनत्व एवम् गहिराइको पहिचान गर्न र त्यसलाई व्यवस्थापन गर्न तथा उनीहरूका ग्राहक (उपभोक्ता) को वास्तविक आवश्यकतालाई पहिचान गरी आफ्ना उत्पादनहरूलाई परिमार्जन गर्न सहयोग पुर्याउँछ । वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्दछ र सहभागितामा वृद्धि गर्न मद्दत गर्दछ ।
२. अनलाईन बोलकबोल प्रणाली (Online Bidding System) के हो ?
बोलकबोल प्रक्रियाबाट निष्काशन हुने सरकारी ऋणपत्र (ट्रेजरी बिल तथा विकास ऋणपत्र) तथा मौद्रिक व्यवस्थापनका उपकरणहरू (रिपो, रिभर्स रिपो, सोझै बिक्री, सोझै खरिद, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्र) को बोलकबोल हुने इलेक्ट्रोनिक माध्यम नै अनलाइन बोलकबोल प्रणाली हो ।
३. तरलता प्रवाह र प्रशोचन गर्न कुन कुन उपकरणहरू छन् ?
तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ ।
४. नेपाल राष्ट्र बैंकले गर्ने रिभर्स रिपो भन्नाले के बुझिन्छ ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन (Mop up) गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो ।
५. नेपाल राष्ट्र बैंकले गर्ने रिपो भन्नाले के बुझिन्छ ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।
६. तरलता प्रवाह र प्रशोचन गर्न कुन कुन उपकरणहरू छन् ?
तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ ।
७. मुद्रा बजार -Money Market_ भनेको के हो ?
सामान्यतः एक वर्षभत्र परिपक्व हुने उपकरणहरू खरिद बिक्री हुने बजारलाई मुद्रा बजार ?Money Market_ भनिन्छ । मुद्रा बजारले छोटो अवधिको लगानीको अवसर प्रदान गर्दछ । मुद्रा बजारका उपकरणहरू अल्पकालीन तरलता प्राप्त गर्न प्रयोग गरिन्छ ।
८. बैकदर भनेको के हो ?
सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।
९. नेपालमा खुला बजार कारोबार कसले र कुन आधारमा सञ्चालन गर्दछ ?
नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभाग अन्तर्गत रहेको “खुला बजार कारोबार सञ्चालन समिति” ले मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न नियमित, आकस्मिक एवम् संरचनात्मक प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले तयार गर्ने तरलता अनुगमन तथा प्रक्षेपण संरचना सम्बन्धी प्रतिवेदन तथा निक्षेप एवम् कर्जाको विस्तार, अन्तर बैंक ब्याजदर, विदेशी विनिमयको प्रवाह लगायतका वित्तीय सूचकका आधारमा आवश्यकता अनुसार खुला बजार कारोबार सञ्चालन गर्दछ ।
१०. खुला बजार कारोबार भनेको के हो ?
बजारमा तरलता व्यवस्थापन गर्ने र व्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले छोटो अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ । खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरीद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकोले बजारमा मुद्राको आपूर्ति बढ्दछ र ब्याजदर कम हुन जान्छ । त्यस्तै, खुला बजारमा ऋणपत्र विक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरतला प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र व्याजदर बढ्दछ ।
११. नेपाल सरकारको ऋणपत्रहरूको दोस्रो बजार कारोबार कसरी गरिन्छ ?
नेपाल सरकारको ऋणपत्रहरूको दोस्रो बजार कारोबार निम्नानुसार गरिन्छ ।
(क) ट्रेजरी बिलः प्रमिसरी नोट सरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक-आपसमा दरपीठ गरी खरिद बिक्री गरी दोस्रो बजार कारोबार गरिन्छ । तर, त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनु पर्दछ ।
(ख) विकास ऋणपत्रः विकास ऋणपत्रको दोस्रोबजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (NEPSE) मार्फत मात्र हुने व्यवस्था रहेको छ ।
(ग) नागरिक बचतपत्रः नागरिक बचतपत्रको दोस्रो बजार कारोबार देशभरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरू मार्फत गर्न सकिन्छ ।
(घ) वैदेशिक रोजगार बचतपत्र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय वा बजार निर्माताका कार्यालयहरू मार्फत दोस्रो बजार कारोबार गर्न अर्थात् आफूसँग रहेको बचतपत्र बिक्री गर्न सकिन्छ ।
१२. सरकारी ऋणपत्र धारण गर्दा कस्ता जोखिम हुन्छन् ?
सरकारी ऋणपत्रलाई जोखिममुक्त ऋणपत्र मानिन्छ ।सार्वभौमसत्ता सम्पन्न सरकारले नै यसको सावाँ र ब्याज निर्धारित गरेको मितिमा तिर्ने प्रत्याभूति दिएको हुनाले यसलाई जोखिम रहित मानिएको हो ।
सरकारी ऋणपत्रहरूमा लगानी गर्दा के फाइदा हुन्छ ?
सरकारी ऋणपत्रहरू सार्वभौम सरकारको तर्फबाट जारी हुने हुँदा लगानी डुब्ने डर नहुने, निश्चित समयमा ब्याज प्राप्त हुने, तत्काल नगद आवश्यकता परेमा दोस्रो बजारमा सजिलैसँग बिक्री गर्न सकिने, जमानतको रुपमा प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट सजिलै कर्जा प्राप्त हुने र तुलनात्मक रुपमा अन्य उपकरणहरूको तुलनामा ब्याज आम्दानी बढी हुने हुनाले ब्यक्ति वा संस्थाले सरकारी ऋणपत्रहरूमा लगानी गर्दछन् ।
१३. सरकारी ऋणपत्रहरू कसरी जारी गरिन्छ ?
सरकारी ऋणपत्रहरू नेपाल राष्ट्र बैंकद्वारा संचालित बोलकबोल प्रक्रिया मार्फत जारी गरिन्छ । बोलकबोल अनलाईन बोलकबोल प्रणाली मार्फत सञ्चालन गरिन्छ । विभिन्न ऋणपत्रको निष्काशन र बोलकबोलमा प्रयोग गरिने विधि निम्नानुसार रहेको छ ।
(क) ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ । बोलकबोलमा बहु-बोलमूल्य विधि (American Auction System) प्रयोग गरिन्छ ।
(ख) विकास ऋणपत्र बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ भने बोलकबोलमा एकल ब्याजदर विधि (Dutch Auction System) प्रयोग गरिन्छ ।
(ग) नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्काशन “खुला बजार सञ्चालन समिति” ले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा यस बैंकको वेबसाइटमा प्रकाशित गरिन्छ । यी ऋणपत्रहरूको अवधि र यसमा पाइने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ ।
१४. वैदेशिक रोजगार बचतपत्र भनेको के हो ?
मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्रको अवधि ५ वर्षको छ ।
१५. नागरिक बचतपत्र भनेको के हो ?
नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्षअवधिको रहेको छ ।
१६. विकास ऋणपत्र भनेको के हो?
विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।
१७. ट्रेजरी बिल भनेको के हो ?
ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
१८. नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू कति प्रकारका छन् ? ती के के हुन् ?
नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू मुख्यतया ४ प्रकारका छन् । ती ऋणपत्रहरूः ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र हुन् ।
१९. सरकारी ऋणपत्र भनेको के हो ?
सरकारी ऋणपत्र बजारयोग्य उपकरण हो जसमा लगानीकर्ताले ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित ब्याज प्राप्त हुने गरी लगानी गर्दछन् । देश विकासका लागिसरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमको ऋणपत्रहरु जारी गर्ने गर्दछ ।
२०. ऋणपत्र भनेको के हो ?
ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।
२१. तलब तथा ज्यालादर सूचकाङ्क भनेको के हो ?
तलब तथा ज्यालादर सूचकाङ्कले तलब तथा ज्यालादरको सामान्य मूल्य स्तरलाई मापन गर्दछ । यस बैंकले २०६१/६२ लाई आधार वर्ष मानी तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गर्दै आएको छ । छ क्षेत्रका सरकारी तथा निजी संस्थामा कार्यरत अधिकृत र गैर-अधिकृत कर्मचारीहरूको तलब विवरणका आधारमा तलव उप-सूचकाङ्क र तीन क्षेत्रबाट लिङ्ग र सीपका आधारमा ज्यालादर विवरण संकलन गरी ज्यालादर उप-सूचकाङ्क तयार गरिन्छ । यी उप-सूचकाङ्कहरूको भार क्रमशः २६.९७ प्रतिशत र ७३.०३ प्रतिशत रहेको छ ।
२२. थोक मूल्य सूचकाङ्क भनेको के हो ?
थोक मूल्य सूचकाङ्कले वस्तुहरूको थोक मूल्यस्तरलाई मापन गर्दछ । हाल नेपालले आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्षमानी २६२ वस्तुहरूको पाक्षिक, मासिक र त्रैमासिकरुपमा मूल्य संकलन गरी यी वस्तुहरूको थोक मूल्य गणना गर्ने गरेको छ । यी वस्तुहरूमध्ये प्राथमिक समूह अर्न्तर्गत २ उपसमूह, इन्धन तथा ऊर्जा समूह अन्तर्गत २ उपसमूह र उत्पादन समूह अन्तर्गत १३ उपसमूह रहेका छन् । यी समूहहरूको भाराङ्क क्रमशः ३३.५९ प्रतिशत, ८.७६ प्रतिशत र ५७.६५ प्रतिशत रहेको छ ।
२३. नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्क (मूल्यवृद्धि दर) र आम जनताले महसुस गरेको मूल्यवृद्धि बीच किन समानता पाइन्न ?
नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने मूल्य सूची तोकिएका वस्तु डालोमा संलग्न वस्तुहरूको भारित मूल्य सूचकाङ्कमा आधारित हुन्छ । यस्ता वस्तुहरूलाई विभिन्न समूहमा विभाजन गरेर भार प्रदान गरिन्छ । कुनै वस्तुको मूल्य धेरैले वृद्धि भएतापनि अर्को वस्तुको मूल्य धेरैले कम हुन जाँदा औसत भारित मूल्यमा सामान्य मात्र परिवर्तन भएको हुन सक्छ । तर आम जनताले वस्तु खरीदगर्न जाँदा आफूले खरीद गर्ने वस्तुको मात्र धेरैले मूल्य वृद्घि भएको वा घटेको महसुस गर्ने हुनाले नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्क (मूल्यवृद्धि दर) र आम जनताले महसुस गरेको मूल्यवृद्धि (दर) बीच समानता नहुन सक्दछ ।
२४. उपभोक्ता मूल्य सूचकाङ्क भनेको के हो ?
उपभोक्ता मूल्य सूचकाङ्कले उपभोग्य वस्तु तथा सेवाहरूको खुद्रा मूल्यस्तरलाई मापन गर्दछ । उपभोक्ता मुद्रास्फीति मापन गर्न हाल उपभोक्ता डालोमा ४९६ वस्तु तथा सेवाहरू समावेश गरिएका छन् । ६० बजार केन्द्रहरूबाट यी वस्तु तथा सेवाहरूको साप्ताहिक, मासिक र त्रैमासिकरुपमा मूल्य संकलन गरी उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्ने गरिन्छ । आर्थिक वर्ष २०७१/७२ को आधार मूल्यको आधारमा यी वस्तुहरूको मुद्रास्फीति मापन गरिन्छ । यी वस्तुहरूमध्ये खाद्य तथा पेय पदार्थ समूह अर्न्तर्गत १३ उपसमूह र गैर?खाद्य तथा सेवा समूह अर्न्तर्गत ९ उपसमूह रहेका छन् । उक्त समूहहरूको भाराङ्क क्रमशः ४३.९१ प्रतिशत र ५६.०९ प्रतिशत रहेको छ ।
२५. निर्यात र आयात मूल्य सूचकाङ्क भन्नाले के बुझिन्छ ?
निश्चित समयावधिमा निर्यात र आयात गरिएका वस्तुहरूको इकाई मूल्यलाई निर्यात र आयात मूल्य सूचकाङ्कले मापन गर्दछ । निर्यात-आयात मूल्य सूचकाङ्क अनुपातलाई व्यापारको शर्त (Terms of Trade) पनि भनिन्छ । निर्यात-आयात मूल्य सूचकाङ्क अनुपात बढेमा निर्यात गर्ने मुलुकका लागि अन्तराष्ट्रिय व्यापारको शर्त अनुकूल भएको मानिन्छ । नेपाल राष्ट्र बैंकले निर्यात आयात मूल्य सूचकाङ्क मासिक रुपमा प्रकाशन गर्दै आएको छ ।
२६. शोधनान्तर स्थिति भन्नाले के बुझिन्छ ?
निश्चित समयावधिभित्र आवासीय र गैर-आवासीय व्यक्ति/संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाहृय क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ । नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थिति सम्बन्धी विवरण मासिक रुपमा प्रकाशन गर्ने गरेको छ ।
२७. चालु खाता सन्तुलन भन्नाले के बुझिन्छ ?
निश्चित समयावधिभित्र आवासीय र गैर-आवासीय व्यक्ति/संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाता घाटा वा बचतमा रहन सक्दछ । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।
२८. पुँजी खाता परिवर्त्यता भन्नाले के बुझिन्छ ?
शोधनान्तर खाता अर्न्तगत पुँजी तथा वित्तीय खातामा कारोबार गर्न पाउने सुविधालाई पुँजी खाता परिवर्त्यता भनिन्छ । नेपालले पुँजी खाता अर्न्तर्गतका कारोबारहरूलाई पूर्ण रुपमा परिवर्त्य गरेको छैन । अधिकांश क्षेत्रहरूमा प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गरिएको छ भने वैदेशिक ऋण आप्रवाहलाई नियमन गरिएको छ । अर्कोतर्फ, छोटो समयका पुँजीगत आप्रवाह, रियल स्टेट लगानी, सरकारी ऋणपत्र तथा पुँजी बजारमा पोर्टफोलियो लगानी खुला गरिएको छैन ।
२९. चालु खाता परिवर्त्यता भन्नाले के बुझिन्छ ?
वस्तु तथा सेवाको अन्तराष्ट्रिय कारोबार, आय तथा चालु ट्रान्सफर लगायतका चालु प्रकृतिका कारोबारको भुक्तानीका लागि स्वदेशी मुद्रालाई विदेशी मुद्रामा र विदेशी मुद्रालाई स्वदेशी मुद्रामा परिवर्तन गर्न सकिने सुविधालाई चालु खाता परिवर्त्यता भनिन्छ ।
३०. वैधानिक तरलता अनुपात भनेको के हो ?
बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको केही प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात -Statutory Liquidity Ratio_ हो । हाल अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।
३१. अनिवार्य नगद अनुपात भनेको के हो ?
अनिवार्य नगद अनुपात -Cash Reserve Ratio_ भनेको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको केही प्रतिशत नेपाल राष्ट्र बैंकमा अनिवार्य मौज्दात बापत राख्नु पर्ने रकम हो । हाल बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा आफ्नो कुल निक्षेप दायित्वको ३ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।
३२. निक्षेप संकलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न माध्यमहरूमध्ये निक्षेप संकलन बोलकबोल पनि एक माध्यम हो । यस अन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ ।
३३. स्थायी तरलता सुविधा भनेको के हो ?
बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।
३४. खुलाबजार कारोबारका उपकरणहरू के के रहेका छन् ?
खुलाबजार कारोबारका उपकरणहरू अर्न्तर्गत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोल कबोल, निक्षेप संकलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र रहेका छन् ।
३५. खुला बजार कारोबार भनेको के हो र यसले कसरी काम गर्दछ ?
बजारमा तरलता व्यवस्थापन गर्ने र व्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले विशेषगरी अल्पकालीन अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ । मुद्रास्फीति र अर्थतन्त्रका अन्य परिसूचकहरुको अवस्था हेरी केन्द्रीय बैंकले खुला बजारमा ऋणपत्रहरू खरिद बिक्री गर्ने गर्दछ । खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरीद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्दछ र ब्याजदर कम हुन जान्छ । त्यस्तै, खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र बिक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरतला प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र व्याजदर बढ्दछ ।
३६. तरलता अनुगमन तथा प्रक्षेपण संरचना (Liquidity Monitoring and Forecasting Framework-LMFF) भनेको के हो ?
सरकारी वित्त स्थिति, विदेशी विनिमय कारोबार, खुला बजार कारोबार लगायतका विवरणहरूको आधारमा नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता अनुगमन तथा प्रक्षेपणका लागि प्रयोग गर्ने संरचना नै तरलता अनुगमन तथा प्रक्षेपण संरचना हो ।
३७. ब्याजदर करिडोर भनेको के हो ?
दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउनका लागि अल्पकालीन ब्याजदर अर्थात् अन्तर?बैंक ब्याजदरलाई निश्चित सीमा भित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर हो । यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गति गर्ने गर्दछ ।
३८. आधार मुद्रा (Base Money) भनेको के हो ?
बैंक तथा वित्तीय संस्थाहरूभन्दा बाहिर रहेको मुद्रा, बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको मुद्रा, बैंक तथा वित्तीय संस्थाहरूको केन्द्रीय बैंकमा रहेको मौज्दात र केन्द्रीय बैंकमा रहेको अन्य निक्षेपको योग नै आधार मुद्रा हो ।
३९. संकुचित मुद्राप्रदाय (M1) भनेको के हो?
संकुचित मुद्राप्रदाय भनेको चलनचल्तीमा रहेको मुद्रा तथा चल्ती निक्षेपको योग हो ।
४०. विस्तृत मुद्राप्रदाय भनेको के हो ?
विस्तृत मुद्राप्रदाय (M2) भनेका संकुचित मुद्राप्रदाय (M1), बचत निक्षेप, कल निक्षेप, मुद्दती निक्षेप र मार्जिन निक्षेपको योगफल हो ।
४१. नेपालको मौद्रिक नीतिका अन्तरिम र सञ्चालन लक्ष्य के के हुन ?
नेपालको मौद्रिक नीतिको अन्तरिम लक्ष्य विस्तृत मुद्राप्रदाय (M2) र सञ्चालन लक्ष्य अन्तर बैंक ब्याजदर (Interbank Rate) रहेको छ ।
४२. नेपालको मौद्रिक नीतिका मुख्य उद्देश्यहरू के के हुन ?
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नु मौद्रिक नीतिका मुख्य उद्देश्यहरु हुन ।
४३. वित्त नीति र मौद्रिक नीतिमा के फरक हुन्छ ?
सरकारको राजस्व, खर्च र ऋणसँग सम्बन्धित नीतिलाई वित्त नीति भनिन्छ । वित्त नीति सरकारको बजेटको रुपमा र्सार्वजनिक गर्ने गरिन्छ । मौद्रिक नीतिको मुख्य जोड आर्थिक स्थायित्व हुने गर्दछ र यसले मुद्रा प्रदाय र व्याजदरको व्यवस्थापन गर्ने काम गर्दछ ।
४४. मौद्रिक नीति भनेको के हो?
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।
४५. विदेशबाट SWIFT मार्फत नेपालमा कुनै बैंक वा वित्तीय संस्थामा रहेको खातामा पैसा पठाउँदा नेपाल राष्ट्र बैकको कुन खातामा पठाउनुपर्छ ?
नेपाल राष्ट्र बैंकमा सरकारी निकायहरूको खाता मात्र खोल्न सकिने भएकोले कुनै व्यक्तिको खातामा रकम जम्मा गर्न यस बैंकमा रहेको खातामा पठाउन मिल्दैन । जुन व्यक्तिको नाममा रकम जम्मा गर्नुपर्ने हो, सो व्यक्तिको खाता रहेको बैंक वा वित्तीय संस्थाको SWIFT कोडमा उक्त व्यक्तिको खातामा जम्मा हुने गरी रकम पठाउन सकिन्छ ।
४६. नेपालमा सरकारी कारोबारका लागि के कस्तो व्यवस्था मिलाइएको छ ?
हाल नेपालमा सरकारी कारोबारको जिम्मा बाणिज्य बैंकहरूलाई दिइएको छ । बाणिज्य बैंकमार्फत सरकारी राजश्व संकलन हुने र खर्च हुने तथा सोको अन्तिम हिसाब मिलान यस बैंकको बैंकिङ विभाग तथा प्रदेशस्तरका कार्यालयबाट हुन्छ ।
४७. नेपाल सरकारको खातामा धरौटी वा अन्य रकम जम्मा गर्न के गर्नुपर्छ ?
नेपाल सरकारको खातामा धरौटी वा अन्य रकम जम्मा गर्न र्सवप्रथम कुन खातामा के प्रयोजनका लागि कुन कार्यालयको नाममा त्यस्तो रकम जम्मा गर्नुपर्ने हो उक्त कार्यालयको कार्यालय कोड समेत यकिन गरी तोकिएको भौचरमा उल्लेखित सम्पूर्ण विवरणहरू भरी रकम जम्मा गर्न सकिन्छ ।
चेक क्लियरिङमार्फ् धरौटी जम्मा गर्दा माथि उल्लेखित विवरणका अतिरिक्त रकम जम्मा गर्न पठाउने कार्यालयको नाम उल्लेख गर्नुपर्ने तथा खाता सञ्चालन गर्ने कार्यालयले चेकको पछाडि छाप लगाई दरपीठ समेत गरेको हुनुपर्नेछ ।
४८. बैंकिङ विभागबाट विदेशी मुद्रा सटही गर्न सकिन्छ ?
नेपाल सरकारका विभिन्न निकायका कर्मचारीहरूका लागि पासपोर्ट सुविधा वापत अमेरिकी डलर १५०० बराबरको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकको बैंकिङ विभागबाट सटही गर्न सकिन्छ । अत्यावश्यक अवस्थामा यस्तो सुविधा अन्य नेपाली नागरिकहरूलाई पनि प्रदान गर्न सकिन्छ । साथै, आफूसँग भएको विदेशी मुद्रा यस बैंकको बैंकिङ विभागबाट अमेरिकी डलर ३००० को सीमामा रही यस बैंकलाई समेत बिक्री गर्न सकिन्छ ।
४९. नोटको सुरक्षा कसरी गर्न सकिन्छ ?
नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ । नोटमा जथाभावी लेख्नु हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्ने जस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नुहुँदैन ।
५०. नोट कोष भनेको के हो ?
“नोटकोष” भन्नाले नेपाल राष्ट्र बैंकले नेपालभर नेपाली रुपैयाँको सहज आपुर्तिको लागि खडा गरेको कोषलाई सम्झनु पर्छ । हाल नेपाल अधिराज्यभर नेपाल राष्ट्र बैंकको ८, राष्ट्रिय वाणिज्य बैंकको ४५, र नेपाल बैंक लिमिटेडको २६ गरी जम्मा ७९ नोट कोषहरू रहेका छन् । यस्तो नोटकोष सामान्यतयाः जिल्ला सदरमुकाममा अवस्थित सरकारी कारोबार गर्ने बैंकमा रहेको हुन्छ ।
५१. जाली नोटको पहिचान कसरी गर्न सकिन्छ ?
नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । जस्तैः सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रुपमा देखिंदैन । सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा ल्च्द्य लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन् सक्दछ । सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।
५२. RTGS प्रणाली भनेको के हो?
Real Time Gross Settlement (RTGS) प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।