FWRFD dhangadhi ,kailai

FWRFD dhangadhi ,kailai Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FWRFD dhangadhi ,kailai, Dhangadhi.

विजयसाल संरक्षणको लागि प्रदर्शनी स्थल  (Demonstration/Demo Plot): एक सहभागितामूलक द्रुत अध्ययन===========‍==============...
07/09/2024

विजयसाल संरक्षणको लागि प्रदर्शनी स्थल (Demonstration/Demo Plot): एक सहभागितामूलक द्रुत अध्ययन
===========‍================================
१. परिचय एवं पृष्ठभूमी :

विगत दशकहरुबाटै नेपालको वन क्षेत्रमा प्रदर्शनी स्थलहरु निर्माण गर्ने अभ्यास हुँदै आएको भएता पनि हाल आएर यस्तो अभ्यासमा कमी आएको देखिन्छ । यसरी स्थापना गरिएका प्रदर्शनी स्थलहरु पनि आशातीत रुपले प्रभावकारी हुन नसकेको भन्ने आवाज उठिरहेको सन्दर्भमा यो विजयसाल संरक्षण प्रदर्शनी स्थलको सहभागितामूलक द्रुत अध्ययन (Participatory Rapid Assessment) गरिएको हो । अध्ययन गरिएको क्षेत्र सुदूरपश्चिम प्रदेशको कंचनपुर जिल्ला, पुनर्वास नगरपालिका वडा नं.१० स्थित श्री भिम सामुदायिक वनमा स्थापना गरिएका विजय सालको १.७८ हेक्टर क्षेत्रफल रहेको प्रदर्शनी स्थल हो । सम्वन्धित वन उपभोक्ता समूह, कुण्डा सव-डिभिजन वन कार्यालय तथा लालझाडी मोहना वन संरक्षण क्षेत्रद्वारा आ.व.२०७७/७८ मा डिभिजन वन कार्यालय कंचनपुरको जिल्ला नर्सरीमा उत्पादन गरिएका विजयसालका विरुवाहरु ल्याई तारबार सहितको वृक्षारोपण गरी प्रदर्शनी स्थल स्थापना गरिएको थियो । मिति २०८१।०५।२२ गते स्थानीय वन उपभोक्ता समुहका पदाधिकारीहरु, डिभिजन वन कार्यालय कंचनपुर तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गेटा (कैलाली)को वहुसरोकारवाला संयुक्त टोलिले स्थलगत निरिक्षण एवं प्रत्यक्ष अवलोकन तथा छलफल विधि अवलम्बन गरि यो सहभागितामूलक द्रुत अध्ययन गरिएको थियो । यस प्रदर्शनी स्थलमा वृक्षारोपण गरिएको दोस्रो सालमा विरुवाहरु मरेका स्थानमा पुन:रोपण (Casualty replacement) गर्ने कार्यमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गेटा (कैलाली) ले समेत सहयोग गरेको थियो । अध्ययन टोलिमा कंचनपुर जिल्लाका डिभिजनल वन अधिकृत श्री भिम प्रसाद कँडेल, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका निर्देशक केशव पराजुली, कुण्डा सवडिभिजन वन कार्यालयका वन अधिकृत दिनेश यादव, भिम सामुदायिक वनका अध्यक्ष प्रेम वहादुर थापा तथा समितिका अन्य पदाधिकारीहरु, वन हेरालु उजेली खाती तथा वन कार्यालयका अन्य कर्मचारीहरुको संलग्नता रहेको थियो ।

२. अध्ययनको उद्देश्य:
रोपण गरीएका विरुवाहरुको सफलता एवं वृद्धिको अवस्था थाहा पाउने र प्रदर्शनी स्थलमा देखिएका समस्या एवं चुनौतीहरु पत्ता लगाई भविष्यमा प्रभावकारी व्यवस्थापनका लागि गर्नुपर्ने कामहरु पहिचान गर्नु नै अध्ययनको मुख्य उद्देश्य रहेको थियो ।

३. विजयसाल: एक परिचय
- वैज्ञानिक नाम: Pterocarpus marsupium Roxb., Pl. Corom.2(1): 9.t.116 (1799). Pterocarpus = एक पखेटा भएको फल, र marsupium = पकेट (Duthie 1915)।
- समानार्थी शब्द: Pterocarpus bilobus G. Don; Lingoum marsupium (Roxb.) Kuntze;
- सामान्य/स्थानीय नामहरू: थारु: बिजैया, बिजयसाल। नेपाली: बिजयसाल । हिन्दी, उर्दू: बिजा, बिजासल, बिजासार । संस्कृत: पितासला, आसन, सरफाका । श्रीलंका: गामालु । स्विडिश: मालाबार किनो; अंग्रेजी: Indian Malabar Kino, Indian Kino, Gummy Kino, Indian Kino Tree, Malabar Kino Tree (Troup 1921; Gairola et al. 2010; Chawla et al. 2013; Roskov et al. 2019)।
- यो प्रजातिको संख्या नेपाल तथा अन्य देशहरुमा समेत अत्यन्त कम मात्रामा रहेको छ (DoF 2018) ।
- यो प्रजाति पश्चिम नेपालको १०० देखि ६५० मिटरको उचाईका कञ्चनपुर, कैलाली, वर्दिया, बाँके, कपिलबस्तु, रुपन्देही तथा नवलपरासी लगायतका जिल्लाहरुका उष्णप्रदेशीय पतझड वनमा पाईन्छ (Pyakurel & Oli 2014).
- विश्वव्यापी संरक्षणको अवस्था: NT (Near Threatened)-IUCN Red list. - नेपाल सरकाले प्रतिवन्धित रुख प्रजातिको सूचिमा समावेश गरेको ।
- यो मध्यम देखि ठूलो आकारको उष्ण प्रदेशमा पाईने एक ढिलो बढ्ने पतझड प्रजाति हो, जसको उचाई ३५ मिटर सम्म अग्लो भएको पाईएको छ (Troup 1921, Barstow 2017).
- यसको विउको न्यून अंकुरण क्षमता तथा अवधि (Seed viability) भएको कारणले प्राकृतिक पुनरोत्पादनमा समस्या देखिएको छ (Kalimuthu & Lakshmanan 1995 and Pyakurel 2014) । यस्ता कारणहरुले गर्दा समेत यो प्रजाति चाँडैनै लोप भएर जाने खतरामा परेको देखिन्छ (Anis et al. 2005) ।

- भौगोलिक वितरण:
डुथी १९१५ का अनुसार यसको भौगोलिक वितरण धेरै सिमित क्षेत्रमा (Narrow distribution range) मा मात्र छ । यो १०० देखि १२०० मिटरको उचाई सम्म पाईन्छ । बार्सटो २०१७ का अनुसार यो प्रजाती भारत नेपाल वंगलादेश ताईवान र श्रीलंकामा रैथानै प्रजातीको रुपमा रहेका छन् । यो प्रजाति मुख्यगरी नेपालको पश्चिम तराई र भावर प्रदेशमा मात्र पाईन्छ ।

- वन सम्वर्धनका गुणहरु
यो तीब्र प्रकाशार्थी (Strong light demander) प्रजाति हो जसले मलिलो र पानीको राम्रो निकास भएको (Fertile and well-drained) माटो मन पराउँछ ।यस प्रजातिलाई तुषारोले निकै असर पुर्याउँछ ।यसको काठ वलियो हुन्छ ।काठको चुर सुनौलो खैरो रंगमा काला धर्का वा छिर्काहरु हुन्छन् भने पलाँसको भाग हल्का खैरो-सेतो रंगको हुने भएकोले यसकव चुर र पलाँस सजिलै छुट्याउन सकिन्छ (कायस्थ २००२) ।

- उपयोग तथा आर्थिक महत्व:
उपयोग: यसको काठ झ्याल ढोका वनाउनका साथै पिलर र विमको रुपमा समेत प्रयोग गर्न सकिन्छ । यसको काठ कृषि ‌औजार तथा गाडा निर्माणको कार्यमा पनि प्रयोऊ गर्न सकिन्छ ।पछिल्ला दिनहरुमा यसको औषधीय गुणको कारणबाट समेत विजयसालबाट वनेका भाँडाकुँडाहरुको माग वढ्दै गएको छ । यसको काठबाट वनेको भाँडामा राखेको पानी पिउँदा मधुमेहमा फाईदा षुर्याउँछ (कायस्थ २००२) । यसैगरी यसको अन्य औषधीय गुणहरुको कारण परम्परागत औषधी (जस्तै छालाको रोग डायविटिज मलेरिया ज्वरो मानसिक समस्या तथा जिउदुखेकोमा) को रुपमा समेत प्रयोग हुने गरेको छ (Kunwar et al., 2023) ।
- पुनरोत्पादन:
यस प्रजातिको पुनरोत्पादन ३ किसिमबाट (बीउबाट: Natural regeneration from seed, Direct sowing of collected seed/broadcasting, and from seedling and stump planting raised in nursery) गर्न सकिन्छ (कायस्थ २००२) ।

४. स्थलगत अध्ययनबाट प्राप्त तथ्यहरु:

- प्रदर्शनी स्थलको क्षेत्रफल: १.७८ हेक्टर ।
- भौगोलिक अवस्थिति 44+ 451979, 3173678, Altitude = 149 meter msl.
- वृक्षारोपण गरिएको साल: आ.व. २०७७/७८ ।
- यान्त्रिक विधिबाट विरुवा रोप्ने खाल्डाहरु खनिएको ।
- संरक्षणको विधी: वन हेरालु तथा तारबार (barbed wire fencing—non-cattle proof type)
- पुन:रोपण (Casualty Replacement) गरिएको साल: २०७८/७९
- सुरुमा रोपण गरिएका कूल विरुवा संख्या: ३०७ गोटा ।
- हाल बाँचेका विरुवा: करिव ५५% ।
- रोपण भएका विरुवाहरु सफलतापूर्वक नै हुर्किएका देखिन्छन् । यद्यपी रोपण गरिएका मध्ये ४५ प्रतिशत विरुवाहरु मरेको पाईयो ।
- विरुवाहरु मर्नुको मुख्य कारणमा क्याटल तथा डियर-प्रुफ फेन्सिङ्ग (बार) नभएको हुँदा चित्तल, निलगाई, वँदेल तथा हात्ती प्रदर्शनी स्थलभित्र पसेर विरुवाका मुन्टा तथा पातहरु खाएर तथा भाँचेर अधिकांश विरुवाहरु (४५% मध्ये) नष्ट गरिदिएको वा मारिदिएको स्पष्ट देखिन्छ ।
- यस्ता वन्यजन्तुहरुले अन्य प्रजातिका रुख विरुवा भन्दा विजयसालका विरुवाहरु अत्यधिक मन पराएर खाने गरेको देखिन्छ । तसर्थ हरिण तथा निलगाईको लागि विजयसाल एक Preferred forage species भएको देखियो ।
- संरक्षणको लागि प्रदर्शनी स्थलको समेत रेखदेख गर्न समूहले एकजना हेरालु (महिला) राखेको छ । निज हेरालुले कतिपय हुर्केर ५/७ फिट भईसकेका विरुवाहरुलाई वन्यजन्तुले नखाओस भनेर वाहिरबाट गोवर दलिदिएको र बाँस तथा हाँगाविँगाबाट सामान्य ट्रिगार्ड जस्तै वनाएर संरक्षण गर्ने प्रयास गरेको देखिएता पनि निजको उक्त प्रयास त्यति प्रभावकारी हुन सकेको देखिदैन ।
- प्रदर्शनी स्थल प्राकृतिक वन क्षेत्रसँगै रहेकोले सुख्खा मौसममा वन डढेलोको उच्च जोखिममा रहेको देखिन्छ ।यसका साथै नजिकै गाउँ वस्ति भएको हुँदा यदाकदा हुनसक्ने अवाञ्छित मानवीय गतिविधहरुबाट समेत यस क्षेत्रको संरक्षण गर्नु पर्ने देखिन्छ ।
- प्रदर्शनी स्थलमा वन सम्वर्धन तथा वन वर्धनका कार्यहरु (Tending and cultural operation) समय समयमा गरिरहनु पर्ने र यस्ता कार्यहरुको प्रभावकारी अभिलेखिकरण गर्नु पर्ने देखियो ।

५. सुझावहरु:

- विरुवाहरु मरेको स्थानमा पुन रोपण (Re-planting and/or Casualty replacement) गर्नुपर्ने ।
- जनावर तथा हरिण प्रतिरोधी (Cattle and deer proof) धेराबारा वनाउनु पर्ने । यसको लागि बार्बेड वायर फेन्सिङ्ग भन्दा मेस वायर फेन्सिङ्ग गर्न जोड दिनुपर्ने ।
- समुदायले प्रदर्शनी स्थलको संरक्षणम जोड दिनु पर्ने । र यस क्षेत्रलाई वन डढेलोबाट बचाउन प्रदर्शनी स्थल वरिपरी फायर लाईन बनाउनु पर्ने ।
- रोपण गरिएको स्थानमा गोडमेल (Cleaning, climber cutting, multiple shoot cutting etc.) गर्ने कार्यलाई जोड दिनु पर्ने ।
- प्रदर्शनी स्थलमा हुर्कँदै गरेका विरुवाहरुको नियमित अनुगमन तथा नापजाँच गरी तथ्याङ्क व्यवस्थापन तथा समय समयमा प्रकाशन पनि गर्नु पर्ने । यसको लाग समुदाय तथा सवडिभिजन वन कार्यालयले संयुक्त रुपमा पहल गर्नु पर्ने ।
- प्रदर्शनी स्थलको प्रचारप्रसार गरि अन्य क्षेत्रका वन उपभोक्ताहरुलाई पनि अध्ययन अवलोकनको लागि प्रोत्साहीत गर्ने र यस्तै प्रकारले अन्य उपयुक्त क्षेत्रहरुमा पनि विजयसालको प्रसार गरी वन वनाउन पहल गर्ने गराउने ।
- प्रदर्शनी स्थलको संरक्षण तथा व्यवस्थापनको लाग वन उपभोक्ता समूह तथा वन कार्यालयले संयुक्त रुपमा योजनावद्द तवरले कार्य अगाडि बढाउनु पर्ने ।

[नोट: आजको सहभागितामूलक अध्ययनबाट आएका कुराहरु वा सुझावहरुलाई वन उपभोक्ता समूहका सदस्यहरुसँग वसेर पुन: त्रिपक्षीय छलफल गरी कार्यान्वयनमा लैजाने सहमति भएको ।]

References:
Kayastha, B.P.(2002). A Handbook of Trees of Nepal, Laligurans Printing Press, Babarmahal, Kathmandu.

Khanal, S. and Bhattarai, S. (2020). Status and Ethnobotanical Uses of Pterocarpus marsupium Roxb. in Hariyali Community Forest, Kapilvastu, International Journal of Ecology and Environmental Sciences 46 (2): 167-171, 2020 ISSN: 0377-015X (Print); 2320-5199 (Online) © National Institute of Ecology, New Delhi.

Kunwar, R.; Joshi, N.; Pandey, N., Kutel, D.; Thapa, G. and AR Bhandari (2023). Pterocarpus marsupium (Kino tree) in Nepal: Population, Distribution, Use and Conservation, Paper presented in the Joint Conference of the Society for Economic Botany and Society of Ethnobiology Emory University Atlanta, Georgia, USA June 1-9, 2023.

निजामती सेवा दिवस- भाद्र २२, २०८१ को हार्दिक शुभकामना !!
07/09/2024

निजामती सेवा दिवस- भाद्र २२, २०८१ को हार्दिक शुभकामना !!

23/06/2018

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when FWRFD dhangadhi ,kailai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share