
22/09/2023
#संयुक्त_व्यवसायी_प्यानलका_वसन्त_जोशी_संगको_कुराकानी
दाङ जिल्ला उद्योग वाणिज्य संघ यही असोज १३ गते अधिवेशनको तयारीमा जुटेको छ । विभिन्न प्रयासका बावजुद पनि सहमति कायम हुन सकेको छैन । परिणामतः व्यवसायीका नेता चुन्नका लागि दुई पक्षीय चुनावी प्यानल निर्वाचनको मैदानमा उत्रिएका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा वैद्य समूह लगायतको संयुक्त व्यवसायी प्यानल बनेको छ । जसको नेतृत्व गरेका छन् बसन्त जोशीले ।
चुनावी सरगर्मीले व्यवसायीहरु तातेका छन् । व्यवसायीमा चुनावी चटारो देखिएको छ । यसैबिच संयुक्त व्यवसायी प्यानलका नेतृत्वलाई चुनावी विषयमा केन्द्रित रहेर केही कुराकानी गरिएको छ। प्रस्तुत छ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका जोशीसॅंग गरिएको कुराकानीको सारसंक्षेप॥
१) तपाईंको उम्मेदवारी किन ?
व्यवसायीहरुको हकहित र अधिकार सुनिश्चित र संरक्षण गर्दै व्यवसायलाई समाजसँग जोड्न मेरो उम्मेदवारी हो । दाङ जिल्ला उद्योग वाणिज्य संघ २०२७ सालमा स्थापना भएर व्यसायीको हकहितका लागि सङ्घर्ष गर्दै आएको संस्था हो । संघको यहाँसम्मको इतिहासको आफ्नै गरिमा छ, संघले यहाँसम्म आइपुग्दा थुप्रै आरोह अवरोह छिचोल्दै व्यवसायी तथा उद्योग, व्यवसायको उन्नयनमा निकै महत्वपूर्ण काम गर्दै आएकमो छ । मेरो उम्मेदवारी संघको गरिमालाई संरक्षण गर्न, अझ उँचो बनाउन त हो नै त्यसका अतिरिक्त उद्योग, व्यवसायको उन्नयन तथा व्यवसायीसँगै रहेर दाङलाई औद्यागिक हव बनाउनका लागि पनि हो । धेरै काम भएको छ नै त्यसमा अझै केही नवीन काम र योजना थपी रचनात्मक, सिर्जनात्मक तथा उत्पादनमूलक कार्यका लागि मेरो उम्मेदवारी हो ।
२) तपाईंले नेतृत्व लिइरहँदा संस्थाको उन्न्यनका लागि तपाईले तर्जुमा गरेका योजना के हुन् ?
समस्या अहिलेसम्म हामीले व्यवसायीको मात्र हो भन्ने गरी व्याख्या गरिएको छ । तर, संस्थाको उन्नतिका लागि सामाजिक र अन्य बहुआयामिक वस्तुहरुको पनि भरोसा बनाउन सकियो भने संस्था गतिशील हुन्छ । दाङमा केही उद्योग छन् त्यसका अतिरिक्त अन्य व्यवसाय पनि सञ्चालन हुँदै आएका छन् । दाङमा हामीले आयात गरेर जसरी व्यापार चलाई रहेका छौँ, त्यसरी नै अब दिगो विकासका लागि निर्यातलाई बढाउन सक्नुपर्छ । दाङमा कृषि, पशुपालन, मत्स्यपालन, फलफुल खेतीलगायत साना घरेलु उद्योग तथा ठुला उद्योगको सम्भावना निकै छ । यिनै क्षेत्रमा चलिरहेका व्यापार, खेतीपाती तथा उद्योगलाई विस्तार गरेर दाङलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तीनवटै तहका सरकारसँग समन्वय तथा सहकार्य अबको आवश्यकता हो । यसलाई मैले अपरिहार्य ठानेको छु । दाङको उत्पादनलाई ब्रान्ड बनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारीकरणको व्यवस्थापनका योजना अबको आवश्यकता हो । अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? अब यो इच्छाशक्तिलाई ज्ञानशक्तिका माध्यमबाट क्रियाशक्तिमा बदल्न सक्नुपर्छ ।
३) आर्थिक मन्दीले थलिएका व्यवसायीका हकमा कस्ता योजना बनाउनुभएको छ ?
हेर्नुहोस्, अहिले व्यावसायिक कारोबार बढाउनेभन्दा गम्भीर कुरा आर्थिक सङ्कट गुज्रिरहँदा बैंकको ऋण होस् या व्यक्तिको ऋणबाट दिन प्रतिदिन व्यवसायबाट पलायन हुने क्रम जारी छ । यसबाट रोक्न र व्यवसायीलाई बचाउन संस्था नै अगाडि लागेर कानुनी र व्यवहारिक उपाय खोज्ने काम हुन्छ । आर्थिक मन्दीले थलिएका व्यवसायीका पक्षमा सहज वातावरण कायम गर्न लाग्नुपर्छ भन्ने मान्यताका साथ योजना बनाएको छु ।
४) नेतृत्वमा तपाईंलाई नै भोट किन ?
म घोराहीको पुरानो बासिन्दा हुँ । उद्योग वाणिज्य संघमा जब पहिलो पटक पहिलो पटक सदस्य र दोस्रो पटक उपाध्यक्ष आम मतदाताले बनाउनुभएको हो । त्यो बेला मैले विधिभित्र रहेर आम व्यवसायीको हकहितका लागि गरेका काम होस् या जिम्मेवारीमा हुँदा वा नहुँदा निरन्तर व्यवसायीसँगै बसेर मैले काम गरेको छु । यो व्यवसायीका सामु घाम जत्तिकै छर्लङ्ग छ । यही आम मतदाताले मलाई विश्वास गर्ने आधार हो ।
५) तपाईको जितका आधार के छन् ?
निरन्तर रुपमा व्यवसायीसँगै रहेर सुख दुःखमा साथ रहँदै आएको छु । म नेतृत्वको लागि तयार भइरहँदाको पहिलो आत्मविश्वास मेरा व्यवसायी मित्रहरु हुनुहुन्छ । म व्यवसायी मित्रको रोजाइ र चाहनामा परेको छु यतिबेला । यो उम्मेदवारी मेरो मात्र होइन आम व्यवसायीहरुको पनि हो ।