Pradip Bhandari

Pradip Bhandari हाम्रो उदेश्य कसैलाइ नि ठेस पुराउन बन? Welcome to Pradip Ashika Officially page.

Today,s Best photo🌺🌺🌺🌺🌺🌺❤❤❤❤❤❤                                                        महाशिब रात्रीको सुभकामना सबैमा
08/03/2024

Today,s Best photo
🌺🌺🌺🌺🌺🌺
❤❤❤❤❤❤





























महाशिब रात्रीको सुभकामना सबैमा

Today,s Best photo🌺🌺🌺🌺🌺🌺❤❤❤❤❤❤                                                          help me to reach 100k🙏🏻🙏🏻
01/03/2024

Today,s Best photo
🌺🌺🌺🌺🌺🌺
❤❤❤❤❤❤






























help me to reach 100k🙏🏻🙏🏻

एकत्रिंंशोऽध्यायश्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !चन्द्र...
25/02/2024

एकत्रिंंशोऽध्याय
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
चन्द्रावतीले आफ्ना पति नवराज पिताका खोजीमा गएपछि आफूसित विदा मागी माइत गएदेखि आजसम्म भेट नभएकी बुहारीको मुख देख्न पाएकी र चन्द्रावतीका जीवनमा घटेका कुराहरु सुनी राजमाता गोमाले श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झिई रानी चन्द्रावती सित भनिन् — “हे पुत्रवधू ! त्यस्ता–त्यस्ता खपिनसक्नु कठोर दुःखमा परिकन पनि ईश्वरीको भक्ति, पूजा, आराधना गर्न पाउने अप्सराहरुबाट सौभाग्य प्राप्त भएछ र आज सम्पूर्ण पाप र तापबाट मुक्त भई हाम्रो पुनर्मिलन हुन गयो ।” यति भनी गोमाले आफूमाथि आइपरेका दुःख, कष्ट, आफ्ना कुटियामा सप्तर्षिको आगमनमा र श्री स्वस्थानी परमेश्वरीको व्रतोपदेश र पूजा–विधि सातवटा सुनका कौडी प्राप्त भएको, श्री स्वस्थानी परमेश्वरीको एक महिनासम्म नियमासाथ पूजा, कथा श्रवण गरेको, समाप्तीका दिन जाग्राम बसिरहेका बखतमा श्री स्वस्थानी परमेश्वरीलाई साङ्ग्यको अध्र्य अर्पण गर्दै गर्दा पुत्र नवराज आइपुगेको, पिताको अघिनै स्वर्गारोहण भईसकेको र पुत्रले अन्त्येष्टी कर्म गरी कुनै राजाको सेवासमेत गरी घर आएको, भगवान हरिहर प्रसन्न हुनु भई नवराजलाई राजा हुने वरदान दिनुभएको र आफू पनि राजमाताका रुपमा यो लावण्य देशमा आई बसेको कुरा पनि चन्द्रावतीलाई एक–एक गरी सुनाईन् र भनिन् —“आज हामी उनै ईश्वरीका कृपाले यत्रो राज्य र ऐश्वर्य पाई सुखी भयौं । अब पनि हाम्रो जिउ रहुञ्जेलसम्म हामीले उनको सेवा गर्नुपर्छ ।

श्री स्वस्थानी परमेश्वरी हामी सबैका हृदयमा बास गरुन् । श्री स्वस्थानी परमेश्वरीका कृपाले गरिकन यो लोकमा सम्पूर्ण सुःख प्राप्त गरी अन्त्यमा मोक्ष मिल्ला । हे पुत्र वधुद्वय ! हे चन्द्रावती ! हे लावण्यवती ! दिनमा सूर्य र रातमा चन्द्रमा नभए सारा अँध्यारो भए जस्तै असल स्वभाव नभएकी स्त्रीका पतिको भाग्य पनि सधैं अन्धकारमय हुन्छ । असल गुणले युक्त भएकी पत्नी छैन भने त्यस्ता पुरुषको घर हुन गाह्रो छ । मेरो अवस्था बृद्ध हुँदै गयो । तिमीहरु दुवैजना मिली आफ्ना पति अर्थात मेरा पुत्रको सेवा गरिरहु ।” आफ्नी सासुका अर्ति सुनेर राजमहिषीले — “हे माता ! हजूरका तपस्याले हाम्रा स्वामी राजा हुनुभयो, हामी धन्य भयौं । ” भनी गोमाका पाउमा ढोगी आशीर्वाद प्राप्त गरे र आफ्ना जीवन भरी श्री स्वस्थानी परमेश्वरीका भक्तिमा आफूलाई समर्पित गरी आनन्दले रहँदा भएँ ।

हे अगस्त्य मुनि ! मत्र्यलोकमा छिटै सिद्धि प्राप्त गर्न सकिने साधन सुकर्म नै हो, सुकर्म भनेको राम्रा कर्म, पुण्य कर्म आदि हुन् ती मध्ये मैले तिमीलाई वर्णन गरेर सुनाइएका “अगम्य, अपूर्व, महान् महिमा लिएकी श्री स्वस्थानी परमेश्वरीका कथा र व्रतका विधि हुन् । जुन नर–नारीहरु एकचित्त भएर श्री स्वस्थानी परमेश्वरीको व्रत गर्लान्, कथा सुन्लान् अथवा सुनाउलान् र उनका महिमाले युक्त श्री स्वस्थानी परमेश्वरीको पुस्तक घरमा राख्लान् तिनलाई दरिद्रताले कहिल्यै छुनै छैन । आदित्यादि नवग्रह सधैं प्रशन्न र शान्त रहनेछन् , अकाल मृत्यु टर्नेछ । भुत, प्रेत , पिशाच, डाकिनी, शाकिनी, त्रिदोष, आदि रोगको भय हट्ने छ । ब्रम्ह हत्यादि पाप नाश हुन गएर यो लोकमा सुख–सम्पत्तिको भोग गरी परलोकमा कैलाशवास होला । जसको चित्त, काम, क्रोध लोभ, मद, मात्यर्य जस्ता विकरालले रहित छ, त्यसले मात्र पूर्ण फल प्राप्त गर्ने छ ।”

हे अगस्त्य मुनि ! लोकले सुमार्गपट्टि लागेमा तिनको कल्याण होला । सुमार्ग भनेको आफ्ना पूर्वजहरुले बनाएका राम्रा–राम्रा नियमहरु हन् । ती पूर्व पुरुषले खनिदिएका असल बाटालाई छोडेर आफ्ना मनमानीले अगल–बगल लाग्नाले कहिल्यै हित हुदैन् । व्यासजीले रचना गर्नुभएका अठारह पुरायाम्ध्ये स्कन्दपरसाणको केदार खण्डका माघ माहात्म्य को मात्र महत्ता र श्री स्वस्थानी परमेश्वरीको भक्ति र उनका कृपा प्रसादको वर्णन मैले तिमीलाई सुनाएँ । सम्पूर्ण पुराणहरुमा धर्म, अर्थ, कर्म, मोक्षका साधन र उपदेश मात्र छन् । यिनै पुराणहरु हाम्रा अमूल्य रत्न हुन् । यिनका उपदेश पाएर सम्पूर्ण लोकको कल्याण होस्” भनी गंगा, पार्वती, षट्कृतिकाका पुत्र श्री कुमारजी सेनापति स्कन्दले लोपामेद्राका पति अगस्त्य मुनिलाई सुनाउनु भयो । सोही कथा, नैमिषारण्य क्षेत्रमा शौनकादि अठासी हजार ऋषिहरुलाई पौराणिक यो कथा श्री सूतजीले सुनाउनु भयो र त्यही पुण्य कथालाई यहाँ रहेका व्रती भक्तजन श्रोतहरुमा पनि आफूद्वारा सुनाइयो ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्रीस्वस्थानी व्रत माहात्म्य नामं एकत्रिंशोऽध्याय : ।। ३१ ।।

त्रिंंशोऽध्यायश्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !हर्ष बढा...
24/02/2024

त्रिंंशोऽध्याय
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
हर्ष बढाई र मंगल यात्राका साथ दरबारभित्र चन्द्रावती भित्रिएपछि उनले राजमाता गोमा र राजा नवराजलाई पाउमा शाष्टाङ्ग दण्डवत् गरिन् । राजा नवराजले चन्द्रावतीसित प्रेमपूर्वक सोधे —“हे प्रिय ! मैले पाँच वर्ष अघिदेखि तिम्रो मुख देख्न पाएको थिइँन । यहाँ ल्याउन भनी डोले र सिपाहीहरु तिम्रा माइतमा पठाएको थिएँ, ती पनि आजसम्म फिरेका छैनन् । तिमी यहाँ आउन विलम्ब हुनुको के कारण हो ? यो देशको राज्य सिँहासनमा राज्याभिषेक भएको पाइनौ ? मेरो पनि राज्यका कार्यभारले तिम्रो खोजी गर्नमा ध्यान पुग्नसकेन, यो निष्ठूरीलाई क्षमा गर । अनि शाली नदीका तीरमा आएर एक्ली भएर किन बसेकी थियौ ? मलाई खबर गर्नु पर्दैन्थ्यो ? तिमी पहिलेकी जस्ती ता देखिन्नौ ता ? कता हो कता राम्री , तेजस्वी र अनेकौं लक्षणले युक्त झैं देखिन्छ्यौनि त ? कुनै ठूला संकटमा पो पर्याै कि, कुनै सज्जनहरुको साथ पो पायौ कि सबै वृत्तान्त बताऊ ।”

आफ्ना स्वामी नवराजले प्रेमले भरिका कुरा भनिसकेपछि चन्द्रवतीले पनि डोलेहरु लिन गएको र आफ्ना पिता अग्निस्वामीका घरबाट यता आउन भनी हिडेर वरुणपुर छोडेका दिनदेखि भएको सम्पूर्ण वृत्तान्त जो थियो सबै न बिराइकन यथार्थ सुनाईन् । चन्द्रावतीका यी कुरा सुनेर आश्चर्य मान्दै “धन्य ! हाम्रो भेट हुन पायो ” भनेर नवराजले हर्ष प्रकट गरे ।


उता चन्द्रावती भन्दै गइन् —“ हे स्वामी ? श्री स्वस्थानी परमेश्वरीको निन्दा र अपमान गरेका पापले मेरो त्यस्तो दुर्दशा हुन गई त्यो अवस्थामा पुग्न गएँ । फेरि उनै परमेश्वरीको कृपाले आज हजुहरुको दर्शन पाउन सकें । हे माता ! हे पति ! श्री स्वस्थानी परमेश्वरी भन्दा ठूलो देवता अरु कोही रहेनछन् । सम्पूर्ण व्रतका पति व्रत, धर्मका पनि धर्म, कालका पनि काल, देवताका पनि देवता,नाथका पनि नाथ, मालिकका पनि मालिक, ईश्वरका पनि ईश्वर त्यस्ती परमात्मा श्री स्वस्थानी परमेश्वरीलाई कोटी–कोटी नमस्कार छ ।” यत्ति भनी रानी चन्द्रावतीले परमेश्वरीमा चित्त लगाई बार–बार ढोग्दी भईन् ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्री नवराज चन्द्रावतीमिलनवर्णन नामं त्रिंशोऽध्याय ।। ३० ।।
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

एकोनत्रिंंशोऽध्यायश्री गणेशाय नम ; श्री स्वस्थानी परमेश्वर्यै नमो नम :कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !चन्द...
23/02/2024

एकोनत्रिंंशोऽध्याय
श्री गणेशाय नम ; श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
चन्द्रावतीले श्रद्धा भक्तिपूर्वक शाली नदीमा बगाई दिएका तीन आठ रोटी मध्ये चार रोटी कुनै एउटी नागिनीले पाईन् र ” यस्तो अपूर्व र सुगन्धित रोटी कसले कहाँबाट बगाएछन् । मेरा स्वामी घरबाट बाहिर गएको बाह्रवर्ष भैसके, कता जानु भयो कता ? कुनै खबर छैन । वहाँलाई पहिले नखुवाई यस्ता सुन्दर र अपूर्व रोटी म एक्लै कसरी आऊँ ? बरु खोजी गर्न जान्छु । भेट भएमा दुई–दुई रोटी बाँडेर खाउँला ” भन्ने सम्झिएर शाली नदीका किनारै किनार जान लागिन् । ती आठ रोटी मध्ये चार रोटी चाँही उता नागले पनि प्राप्त गरे र “ओ हो ! कति राम्रा र मीठो बास्ना चल्ने रोटी पाएँ, यी रोटी यहाँ कसले बगाएथे र आईपुगे । मैले घर छोडेको पनि बाह्र वर्ष भयो । मेरी पत्नीलाई नखुवाई यी रोटी एक्लै कसरी खाऊँ ! अब झट्टै घर पुग्छु र दुई–दुई वटा बाँडी खाउँला भनी आफू रहेको गण्डकी नदीका किनारै किनार भई नाग पनि घरतिर लागे । यसरी दुवैतिर बाट आउँदा–आउँदै शाली नदी र गण्डकीका संगममा श्री स्वस्थानी परमेश्वरीका कृपाले ती दुवै नाग–नागिनीको भेट भयो ।

अति हर्ष मान्दै नागिनीले — “हे पतिदेव ! यत्तिका वर्षसम्म मलाई घरमा एक्लै छाडी यति साह्रो निष्ठूरी भएर कहाँ गइबक्सिएको थियो ? मेरा भाग्यले आज मात्र हजूरको दर्शन पाउन सकें । कसैले बगाएर पठाएका यी अपूर्व चार रोटी मैलै पाएकी छु । हजुरलाई नखुवाई एक्लै खान मन लागेन र हजूरको खोजी गर्दै घर छोडेर आएँ । दैव संयोगले भेट भयो । लो खाइबक्सियोस् भनी चार रोटीमा दुई रोटी पतिलाई दिँदी भइन् । ती रोटी देखेर नागले पनि – “हे प्रिये ! तिमीले जस्तै मैले पनि चार रोटी पाएको छु, लौ खाऊँ ” भनी आफूले पाएका चार रोटीमा दुई रोटी नागिनीलाई दिए ।

यसरी ती दुवै नाग दम्पत्तिले चार–चार रोटी खाई सकेपछि नागले नागिनीसित भने —“ हे अर्धाङ्गिनी ! बाह्र वर्षसम्म हाम्रो भेट नहुनु र आज यिनै रोटीका कारणले भेट हुनुले हामीले खाएका रोटीमा कुनै ठूलो महिमा लुकेको हुनुपर्छ । जसद्वारा यी आठ रोटी बगाएर पठाइएको हो, भोलिकै दिनमा तिनका सबै इच्छाहरु सिद्धि होउन् । लक्ष्मीले दृष्टि दिउन् अनि रोग, शोक हटेर जाउन् । शरीरभित्र र बाहिर रहेका सबै शत्रु नाश होउन् ” भन्ने धेरै आशीर्वाद पनि दिए । यी कुरा सुनी नागिनीले पनि भनिन् —“हे प्राणनाथ ! म पनि उहाँलाई आशीर्वाद दिन्छु । आदित्यादि नवग्रहले उहाँका सम्पूर्ण पीडा शान्त गरुन । भूत, प्रेत, पिचाश, राक्षस , आदिले पनि कुनै पीडा गर्न नसकुन् । राज्यलक्ष्मी उहाँका वशमा रहुन् । हामी पति–पत्नी झैं विछोड हुन गएका भए चाडै शहाँहरुको पनि भेट होस् । ” यी आशीर्वाद दिएर दुवै नाग –नागिनी आफ्ना घर गए ।

हे अगस्त्य मुनि ! उता लावण्य देशका वासीहरु शाली नदीमा स्नान गर्न दिनहुँ जान्थे । एक दिन त अत्यन्त दिव्यरुपले धप्–धप् बलेझैं देखिने, जिउ डाल मिलेकी, वस्त्र र आभूषणले शोभायमान भएकी एक्लै बसिरहेकी चन्द्रवतीलाई नदी किनारमा देखेर ती स्नानार्थीहरुले सोधे — हे सुन्दरी ! तिमी देवकन्या, नागकन्या, विद्याधर कन्या, किन्नर कन्या मध्येकी को हौ ? कतै तिमी स्वर्गकी अप्सराहरु उर्वशी , रम्भा, तिलोत्तमा मध्येकी एउटी त होइनौ ? यहाँ यसरी एक्लै किन बसीरहेकी छौ ?”

ती स्नानर्थीहरुका कुरा सुनी चन्द्रावतीले भनिन् —“हे लोक हो ! तपाईहरुले सोध्नुभएको मध्ये म कोही पनि होइन । म ता वरुणपुरका अग्नि स्वामी ब्राम्हाणकी पुत्री गोमा ब्राम्हाणीका पुत्र नवराजकी स्त्री हुँ । मेरा नाउँ चन्द्रावती हो । स्वर्गका अप्सराहरु यहाँ आई यी शाली नदीका तीरमा श्री स्वस्थानी परमेश्वरीका पूजा गरेका थिए र मैले पनि उनीहरुकै उपदेशद्वारा उनकै संसर्गमा श्री स्वस्थानी परमेश्वरीको पूजा गरी रातभर जाग्राम बसी अहिले स्नान गर्न निस्किएकी हुँ” । ती अनुपम सुन्दरी स्त्रीका कुरा सुनी लोकले आश्चर्य मानी भने — “ हे देवी ! गोमा पुत्र नवराज ता हाम्रा राज भै बक्सिएको छ ।” अनि “वहाँ गएर छिटो विन्ति गरौं” भन्ने सल्लाह गरी राजासमक्ष पुगी शाली नदीका तीरमा रहेकी दिव्यरुपा नारी र उनले भनेका कुरा जाहेर गर्दा भए ।

तिनीहरुका कुरा सुनी राजा नवराजले चन्द्रावतीलाई सम्झँदै भेटेर आउने प्रजाहरुलाई भने —“ हे पियारी प्रजाहरु हो ! तिमीहरुले साँचो कुरा गर्दैछौं । ती चन्द्रावती नाम गरेकी मेरी पत्नी हुन् । राज्यको काजले गर्दा बाहिर राखेको थिएँ । अब तिमीहरुले गई लिएर आओ ।” यति भनेपछि मन्त्रीलाई डाकेर अह्राए —“ हे मन्त्री ! मेरी धर्मपत्नी चन्द्रावती शाली नदीका तीरमा आई बसेकी रहिछन् । तिमीले नाना वस्त्र अलङ्कार र डोली सहित प्रजाहरुका फौज साथ गरी उनलाई लिन त्यहाँ जाऊ, म पनि केही परसम्म आउँला ।” राजाको हुकूम पाएपछि शहरमा झ्याली पिटाई, बाजा–गाजा र फौज अघि–अघि, प्रजाहरु पछि–पछि लगाई चन्द्रावतीलाई लिन ठूलो लावा लश्करका साथ राज्यमन्त्री शाली नदीका किनारामा पुगे ।

चन्द्रावतीका छेउमा पुगी प्रणाम गरी उनीहरुले ” हे महारानी ! नवराज राजाले हजूरलाई ल्याउन हुकुम बक्सिएकोले हामी आएका हौं । यी वस्त्र र अलंकार पहिरिएर डोलीमा चढिबक्सियोस्” भने चन्द्रावतीले पनि — “हे स्वस्थानी परमेश्वरी ! मेरा स्वामी नवराजसित चाँडै भेट होस् भनी हिजो ब्रत गरेथें, आज प्रत्यक्ष दर्शन पाउने भएँ, भनी गद्गद् मनले श्री स्वस्थानी परमेश्वरीलाई बार–बार प्रणाम गर्दै प्रार्थना पनि गर्न लागिन् — “हे करुणमयी ! हे लोकेश्वरी ! हे परब्रम्हस्वरुपिणी ! हे जगन्माता ! हे श्री स्वस्थानी परमात्मा ! दुःखका सागरमा डुबिरहेकी यो पापिनीलाई उद्धार गरी लावण्य देशकी रानी बनाई दिनुभयो । म अनाथमाथि हजूरको सुदृष्टि पर्न गयो । हे सर्वशक्ति सम्पन्न परमेश्वरी ! मेरो कोटी–कोटी नमस्कार छ,” भनी मनमा ठूलो आनन्द मानी वस्त्र र अलंकार पहिरी डोलीभित्र बसी अघि–अघि फौज र पछि –पछि प्रजाहरु लगाई नानाथरीका बाजा–गाजाका साथ चन्द्रावती लावण्य देशतिर गइन् ।

चन्द्रावती रानीलाई लिन गएको फौज र प्रजाहरुको लाव लश्कर शहरको छेउमा आई पुग्न लागेको खबर सुनी त्यहाँका नर–नारीहरुले हेर्न भनी हतारहतार गरी बाहिर निस्कँदा कसैले पस्किएको खाना नखाई दगुरे, कोही खाँदा–खाँदै न चुठिकन कुदे, कोही छोराछोरी रुवाउँदै छोडेर र कोही छोराछोरी बोकेर दैलाबाट नै हाम फाल्दै दौडे । नवराज राजाले पनि आफ्नी धर्मपत्नी चन्द्रावती आई पुग्नै लागेको खबर सुनी केही वरसम्म आई उनलाई नाना मङ्गल–यात्रा गरी हर्ष बढाइँ गर्दै दरबार भित्र लग्दा भए ।
आगौं कथा अर्को अध्यायमा सुनाउँला ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्री चन्द्रावती स्वगृहप्रवेशोनाम एकोनत्रिंशोऽध्याय : ।। २९ ।।

श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

अष्टाविंंशोऽध्याय श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !तहाँ...
22/02/2024

अष्टाविंंशोऽध्याय
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
तहाँ उप्रान्त कपिल ब्राम्हाणहरुले त्यो भोज्य पदार्थ लिई लडिरहेकी चन्द्रावती भएका ठाउँमा पुगेर — “हे पापिनी ! तँ साँच्चिनै पापिनी रहिछस् । तैंले गर्दा हामीलाई भारी शर्मिन्दा हुनुपर्याे” भनी राजभण्डार नै रित्तिन गएको समेत कुरा बताई त्यो खाने कुरा चन्द्रावतीका सामु राखिदिए । चन्द्रावती पनि भोकले अत्तालिई रहेको हुनाले त्यो खाने कुरा पाउनासाथ खानलाई ठीक परिन् । यो देखी ती ब्राम्हाणहरुले — “हे पापिनी ! यस्ता भारी विपद्मा पुगिसक्ता पनि धर्मको अपमान भएको तँलाई थाहा रहेनछ, मुख धोएर त खा ! तेरो यस्तो गति देखेर तँमाथि हाम्रो करुणा उठ्यो । अब तँलाई केही उपदेश दिएर जाने भयौ, ध्यान दिएर सुन् । निरञ्जन, निराकार श्री स्वस्थानी परमेश्वरीको निष्ठापूर्वक व्रत, उपासना र पूजा गरेमा सो व्रतका प्रभावले तेरो उद्धार हुनसक्ला, जुन व्रत गर्नाले ब्रम्हहत्या जस्ता घोर पाप पनि नाश हुन्छन्”। यति उपदेश गरी ती ब्राम्हाणहरु त्यहाँबाट हिडे ।

त्यसपछि चन्द्रावती पनि बडो कष्टले घस्रँदै मुख धुन भनी शाली नदीमा पुगिन् तर उनी पुग्दा नपुग्दै नदीको पानी सबै सुक्यो । यो देखेर नाना तरहका विलाप गर्दै र रुँदै अघिकै ठाउँमा फर्किएर आईन् र त्यो खाने कुरा हातमा लिई खान खोज्दा खरानी भयो । खरानी नै भए पनि खाउँ भन्दा ठूलो हावा चली उडाई लग्यो । त्यसपछि ती चन्द्रावती रुख ढलेझैं भूइँमा पछारिई मूर्छा परिन् । उनी मूर्छापरिसकेपछि नदीमा फेरि पानी भरियो र फे्ि उनी नदी किनारमा पछारिइन् अनि शाली नदी पहिले झैं बग्न थालिन् । चन्द्रावती भने मूर्छा अवस्थामा नै पाँच वर्षसम्म नदीका किनारामा लडिरहिन् । एक दिन उनलाई अकस्मात् चेष्टा हुन गयो र ‘अहो ! मबाट कति ठूलो अपराध हुन गएछ’ भनी मनमा नाना विषाद गरी पश्चात्तापपूर्वक रुन लागिन् । दुःख र कष्टले अनेक यातना सहन गरेकी चन्द्रावतीका पाप काटिँदै गएका थिए ।

उनका भाग्यले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न भनी स्वर्गबाट अप्सराहरु त्यहाँ आए । त्यो दिन पौषशुक्ल चर्तुशी थियो र ती अप्सराहरुले आफ्ना हात गोडाका नङ काटी शुद्ध भए । भोलिपल्ट पूर्णिमाको दिन शाली नदीका जलमा स्नान गरी, सुर्यलाई अध्र्य दिई, बालुवाको शिवलिङ्ग बनाएर श्री महादेवको पूजा गर्न लागे । यो देखी अप्सराहरुका सामु गएर चन्द्रावतीले सोधिन् —“तपाईहरु देवता वा मनुष्य को हुनुहन्छ ? यहाँ के का निम्ति आउनु भएको हो ? मेरो यो अवस्थाले गर्दा आफ्नो पाप भोगीरहेकी छु , मेरो उद्धार गरिदिनुहोस् । अप्सराहरुले यी कुरा सुनी “आफूहरु इन्द्रका अप्सरा भएका र पवित्र पर्व पौषशुक्ल पूर्णिमादेखि श्री स्वस्थानी परमेश्वरीको व्रतको महिमा र श्री महादेवको पूजा गर्न शाली नदीमा आएर स्नान, सूर्यलाई अध्र्य गरी व्रतको आरम्भ गरेको यथार्थ कुरा बताए ।”

तिम्रो अवस्था बुझेर हामीमा करुणा भयो, तिमी पनि यो व्रत गर जसबाट तिम्रो उद्धार होला ” भन्ने उपदेश र दयाले भरिएका अप्सराहरुका वचन सुनेर चन्द्रावतीका मनमा आफूद्वारा गरिएको श्री स्वस्थानी परमेश्वरीको अनादरलाई सम्झना भयो । डोलेहरुले श्रद्धापूर्वक ल्याएर दिएको प्रसादलाई गोडाले कुल्चिएर अपमान गरेका पापले नै आज आफूले असह्य कष्ट भोग्दै गरेको कुरा चन्द्रावतीलाई छर्लङ्ग भयो । कपिल ब्राम्हाण र यी अप्सराहरुले समेत दिएका उपदेश नै मेरो उद्धारका कारण रहेछन् । श्री स्वस्थानी परमेश्वरीको महिमा ठूलो रहेछ, म आफ्ना अहंकारले नाशिन लागेकी रहिछु , तर अब म पनि यो व्रत अवश्य गर्नेछु ,” भन्ने निश्चय गरी चन्द्रावतीले अप्सराहरुसित सोधिन्—हे अप्सराहरु हो ! श्री स्वस्थानी परमेश्वरीको सम्पूर्ण व्रत विधि बताइदिए मेरो कल्याण हुने थियो ।” त्यसपछि अप्सराहरुले पनि व्रतका सम्पूर्ण विधि उपचार बताए अनि भने —“ हेर, यिनै परमेश्वरीको व्रतको प्रभावले तिम्रा समस्त पाप नाश होलान् , इच्छासिद्धी होला ” । यति उपदेश गरी नित्य स्नान र पूजामा आउने अप्सराहरु पहिलो दिनको पूजा सकी स्वर्गमा गए ।

चन्द्रावतीले पनि त्यसै वेलामा शालीनदीमा गएर स्नान गरिन् र अप्सराहरुका वचन अनुसार एकचित्त र एकभक्त रही, बालुवाको शिवलिङ्ग स्थापना गरी मानसिक उपचारद्वारा पूजा प्रारम्भ गरिन् । सधैं नै मध्यान्हकालमा श्री महादेवको पूजा र श्री स्वस्थानी परमेश्वरीको ध्यानले चन्द्रावतीका कुष्ठ रोग हट्दै गएर दिव्य देह हुन लाग्यो । जब माघशुक्ल पूर्णिमाको दिन आईपुग्यो, व्रत थालेको पनि एक महिना पूरा भएकोले सम्पूर्ण सामाग्रीका साथ अप्सराहरु पनि श्री स्वस्थानी परमेश्वरकिो पूजा उद्यापन शाङ्गेका निम्ति फेरि त्यहीँ शाली नदीका तीरमा आउँदा भए । तिनलाई चन्द्रावतीले देखी अप्सराहरुका छेउमा गई भन्न लागिन् —“ हे दयाका खानी अप्सराहरु हो ! तपाईहरुका उपदेश अनुसार मैले पनि पौषशुक्ल पूर्णिमाका दिनदेखि नित्य स्नान गरेर एक भक्त रही मध्यान्हकालमा श्री महादेवको मानसिक पूजा गर्ने गरें । आज एक महिना पूर्ण भयो, अब श्री स्वस्थानी परमेश्वरीको व्रत उद्यापन शाङ्गेका निम्ति मेरा साथमा कुनै पनि सामग्री छैन, मैले कसो गरे राम्रो होला, उपदेश पाउँ” ।

चन्द्रावतीका यी भक्ति र प्रेमले भरिएका वाणी सुनेर अप्सराहरुले भने —“हे पापिनी ! नदीबाट बालुवा ल्याऊ र त्यसैको सामग्री तयार पार र भक्तीपूर्वक हामीहरुका साथमा बसी पूजा गर ।” यी कुरा सुनी चन्द्रावतीले अप्सराहरुका उपदेश अनुसार बालुवा को सामग्री तयार पारिन् । श्री स्वस्थानी परमेश्वरीका कृपाले ती बालुवाका सम्पूर्ण सामग्री सिद्ध भए । यस्तो देखेर चन्द्रावतीले मनमा ठूलो आनन्द मानी “धन्य हौ श्री स्वस्थानी परमेश्वरी !” भनी मन–मनले ढोगिन् र अप्सराहरुलाई भए भरको वृत्तान्त सुनाइन् । यी कुरा सुनेका अप्सराहरुले चन्द्रावतीको देह पनि अति दिव्य भएको देख्न पाउँदा हर्षित हुँदै — “हे सुन्दरी ! हामीले तिमीलाई कतिपल्ट पापिनी भनेर बोलायौं, क्षमा गर । अबदेखि तिमीलाई हामी पुण्यवती भन्ने छौं । आऊ, अब हामीसँगमा बसी श्री स्वस्थानी परमेश्वरीको पूजा गरौं ” भनी चन्द्रावतीलाई पनि साथैमा राखी अप्सराहरुले पूजा गराए ।

पूजा गरिसकेपछि चन्द्रावतीले हातमा अध्र्यपात्र लिई प्रार्थनासंगै अध्र्य दिन लागिन् —“हे ईश्वरी ! हजुरका महिमालाई बुझ्न नसकी अघि मैले अहङ्कारपूर्वक हजूरको निन्दा गरेंछु , त्यो अपराधलाई क्षमा होस् । हे लोकेश्वरी ! सम्पूर्ण प्राणीका हृदयमा बसी पाप–पुण्यका साक्षी भएर रहनु भएकी हजुरमा कोटी–कोटी नमस्कार ! हे परमेश्वरी ! सृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु र संहारकर्ता रुद्र, तीन मूर्तिले एकै मूर्तिमा रहनु भएकी परमात्मा स्वरुपिणी हजूरमा कोटी–कोटी नमस्कार ! हे भगवती ! पृथ्वी, जल, तेज, वायु र आकाशमा व्याप्त पञ्चतत्व, गुणादि तत्व, आदि मध्य रअन्त्य देवादिदेव यस्ती त्रैलाक्य मातामा कोटी–कोटी नमस्कार ! हे परमेश्वरी ! हजूरका महिमाको वर्णन गर्न हजार जिभ्रा भएका शेषनागले र चर्तुमुखी ब्रम्हाले पनि नसकेको म अनाथले कसरी सकुँली ? मैले जानी नजानी गरेका पूजाबाट सन्तुष्ट भई दु्ःखका भुँवरीबाट पार लगाई बक्सियोस् ” ।

यसरी अध्र्य सँगसँगै चन्द्रावतीले प्रार्थना पनि गर्नसकिन् । त्यसपछि अप्सराहरुले आफूले चढाउका प्रसाद झिकी —“हे पुण्यवती ! अब हामी जान्छौ” भनी चन्द्रावतीसित विदा भई स्वर्गमा गए । अप्सराहरु गएपछि चन्द्रावतीले पनि शाली नदीका तीरमा एउटा खरको सानो छाप्राभित्र श्री स्वस्थानी परमेश्वरीलाई हृदयमा राखी रातभरी जागा भै रहिन् । अर्का दिन उज्यालो भएपछि शाली नदीमा गएर स्नान गरिन् र ईश्वरीलाई चढाएका अष्टोत्तर शय मध्ये सबै थोक आठ–आठ वटा हातमा लिइन् र —“हे परमेश्वरी ! मेरा यहाँ कोही पनि छैनन्, मेरा स्वामी नवराजसित चाँडै भेट गराई दिइबक्सियोस् ”भनी दुवै हातले श्रद्धापूर्वक शाली नदीमा बगाई अरु प्रसाद चन्द्रावती आफैले ग्रहण गरिन् ।

हे अगस्त्य मुनि ! श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले चन्द्रावतीका समस्त विकार, पाप आदि नास भई अघिभन्दा पनि बढी दिव्य शरीर भयो र परम आनन्दमा प्राप्त भइन् र बारम्बार श्री स्वस्थानी परमेश्वरीलाई सम्झी प्रणाम गर्दी भइन् ।”


इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्री स्वस्थानी व्रत वर्णनं नामं अष्टविंशोऽध्याय : ।। २८ ।।

श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

सप्तविंशोेऽध्यायश्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !तहाँपछ...
21/02/2024

सप्तविंशोेऽध्याय
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
तहाँपछि डोलेहरुले चन्द्रवती रानीलाई भने — “हे महारानी ! स्वर्गबाट अप्सराहरु आएर श्री स्वास्थानी परमेश्वरीको व्रत र पूजा गर्न लागेको देख्यौं र तिनीहरुकै संसर्गमा हामीले पनि पूजा गर्ने भयौं , जसले गर्दा आउनमा केही विलम्ब हुन गयो, क्षमा बक्सियोस् । हजूरका निम्ति पनि पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद ल्याई दिएका छौ, ग्रहण गरिबक्सियोस्” भनी डोलेहरुले प्रसाद दिए ।

डोलेहरुका कुरा सुनि सकेपछि चन्द्रावतीले रिसले राता–राता आँखा पारेर दाह्रा किट्तै ठूलो आवाज निकाली गर्जंदै भन्न लागिन् —“हे पापी डोलेहरु हो ! मलाई यहाँ थन्क्याएर भोक लागेको निहुँ गरी यतिका बेरसम्म कहाँ गएर के को पूजा गर्न लाग्यौ ? सेवकले गर्ने कर्तव्य यिनै हुन ? त्यो पूजाले तिमीहरुलाई के दिन्छ ? स्वस्थानी भनेकी कुन देवता हो जसको नाम आजसम्म मैले सुनेकी पनि थिइँन । त्यसले के गर्न सक्छे र मलाई तिमीहरुले अटेर ग¥यौ ? आज एक्ली छु अनि वनमा छु र मात्र , नत्र म तिमीहरुलाई नमारी छाड्ने थिइँन ।” यति भनी डोलेका हातबाट उनीहरुले आफ्ना निम्ति ल्याएको प्रसाद खोसी थुःथुः गरी गोडाले कुल्ची फाली दिईन् ।

विचरा ती अनाथ डोलेहरुले रानीको त्यस्तोखाले बेहोरा देखी डराउँदै आँखा भरी आँसु पारी, केही पनि भन्न नसकी श्री स्वस्थानी परमेश्वीलाई मनले सम्झी डोली बोकी आफ्नो बाटो लागे । जाँदा–जाँदै लावण्य देशका निकट पुग्न लागे । त्यहाँ छेवैमा शाली नाम गरेको नदी बग्थिन् । डोली बाकेका डोलेहरुले ती नदीको पुल आधा जसो तरिसकेका मात्र थिए , एक्कासी ठूलो चँदुवा टाँगे जस्तो मेघ उठी मूसलधारे पानी पर्न लाग्यो । साथै हुरी बतास पनि आई नदीको पुल भाँचियो चन्द्रावतीका अगुवा–पछुवा र डोलेसमेत शाली नदीमा झरी मर्दा भए ।

श्री स्वस्थानी परमेश्वरीका पूजाका प्रभावले डोलेहरु भने शिवरुप भई कैलाशमा गएर रहँदा भए । जो मनुष्य स्वस्थानीको व्रत गर्ला, त्यसले त्यस्तै उत्तम गति पाउला । चन्द्रावती चाहीँ नदीका जलभित्र जिवीत अवस्थामा नै रही रहिन् । चन्द्रावती शाली नदीमा झरेका दिनदेखि ती नदीको प्रवाह पनि बन्द भयो । यसरी नदीको बग्ने वेग नै अटल भएर रहेको देखी माझीहरु एक अर्कामा भन्न लागे—“ यो के आश्चर्य हुदैछ ? यो नदीमा कुनै विशाल गोही अथवा नाग आएर पानी छेकी दिएको हो कि यो देशमा कुनै उत्पात हुने कुचेष्ट पो भएको हो कि ? यस्ता अनेक तर्कना गर्दै माझीहरु मिली राजा छेउ आई यो कुरा जाहेर गरौ भनी राजदरबार पुगेर विन्ति गरे —“हे महाराज ! शाली नदी बग्न छाडिन् । यस्तो भएको हामीले अघि देखेका पनि थिएनौ, सुनेका पनि थिएनौ, आजै देख्नु परेको हो । प्रजावस्तला ! यो नयाँ कुरा प¥यो, विचार गरिबक्सियोस् ।”

माझीहरुका कुरा सुनी राजा नवराजले मन्त्रीलाई डाकी माझीहरुबाट सुनेको सारा वृत्तान्त कही हुकुम भयो—“मन्त्री ! तिमी आफै नदी किनारामा गई माझीहरुलाई आदेश गर कि जलभित्र कुनै जन्तु छ कि ? जाल हाली खोजी गर”। राजाको हुकूम अनुसार मन्त्रीले आदेश दिए । माझीहरुले जाल हानी तान्दा कति दिन अघिदेखि नदीका जलभित्र डुबेर रहेकी चन्द्रावती जालमा अल्झिएर आइन् । चिन्न पनि नसकिने,शरीरमा कुष्ठ रोग उब्जिएकी र हात–पाउ छिनेकी, होश चेत केही नभएकी, हीलामा पुरै मुछिएको, कुहिएको रुखको मूढो जस्तो, मानिस हो वा अरु कुनै जन्तु हो थाहा नभएर माझीहरुले नदीका एक किनारामा फ्याँकी फेरि आफै जलभित्र पसी डुबुल्की मार्दै खोज्दै गर्नलागे । यसरी धेरैबेर खोजी गर्दा पनि केही पाउन सकेनन् र हार भई राजासमक्ष सबै कुरा विन्ति चढाए ।

नवराज राजाले यी सबै कुरा सुनिसकेपछि शाली नदीका किनारामा पुगी प्रणाम गरेर “हे गङ्गे ! तपाई किन आफ्नो प्रवाह रोकी स्थिर रहनु भयो ? मबाट जानी–नजानी हुन गएका कुनै अपराध भए क्षमा पाऊँ । म देखि प्रशन्न भै दिनुहोस् ।” भनी हातमा अध्र्य लिई नवरत्न पारो र गाईको दूध र दही सहित अध्र्य दिए । यसरी राजाबाट अध्र्य दिनासाथ शाली नदी सललल बग्न थालिन् । त्यो देखी राजा नवराज पनि हर्ष बढाईं गर्दै लावालस्करका साथ दरबारतिर सवारी भए ।

नदीका एकातिर मूढो जस्तो भएर लडी रहेकी चन्द्रावती भने छिनमा चेष्टा र छिनमा मूर्छा हुने, छिनछिनमा भोक तीर्खाले आकुल व्याकुल हुने जस्ता अनेक बाधा र महाकष्टका साथ रहँदी भईन् । तिनलाई एकदिन भोकले अतिनै बाधा गर्याे र खानेकुरा अरु थोक केही नपाउँदा भोक खप्न नसकी माटो खाउँ भनी हातमा लिइन् तर त्यो मोटो, ढुङ्गो हुन गयो । त्यो ढुङ्गो नै खाऊँ भन्दा हड्डी हुन गयो, हाड नै खाउँ भन्दा खरानी भयो, खरानी नै भएपनि खाउँ भन्दा बतास आई उडाई लगिदियो । तब चन्द्रावतीले आफैलाई धिक्कार्दै मूर्छा परेर लडिन् । नाना प्रकारको दुःख सहिरहिन् ।

उता राजाले आफ्ना राज्यमा आयोजना गरेको वृहद् भोजमा निमन्त्रणा गरिएका मध्ये नवपुरवासी कपिल गोत्री दुई ब्राम्हाण पनि सो भोजमा जान भनी त्यही बाटो हुँदै आएको चन्द्रावतीले देखिन् र —“तपाईहरु को हुनुहुन्छ अनि अहिले कहाँ जान लाग्नुभएको हो ?”भनी सोधिन् । ती ब्राम्हाणले पनि आफू कपिल ब्राम्हाणहरु भएको र लावण्य देशका राजाबाट दिइन लागेका ठूलो भोजको निमन्त्रणमा सामेल हुन जाँदै गरेका कुरा बताए । त्यो कुरा सुनी चन्द्रावतीले भनिन् —“हे ब्राम्हाण देवता हो ! मेरो शरीर र अवस्था देखी हाल्नु भयो, त्यसमाथि पनि निकै दिन हुन लागे, मैले केही पनि खान पाएकी छैन । तपाईंहरु राजाको भोजमा जाँदैहुनुहुँदो रहेछ । म पापिनीका निम्ति पनि केही खाने कुरा मागेर ल्याई दिनु भए तपाईहरुलाई धर्म होला । विरुप अवस्थामा मूढो झैं वगरमा लडिरहेकी चन्द्रावतीका कुरा सुनी ब्राम्हाणले भने —“हे पापिनी ! अहिले हामी यसै हो भन्न सक्तैनौं किन भने राजदरबारको कुरा के हुन्छ कसो हुन्छ के विश्वास ? माग्ने मोका मिलेछ र पाइएछ भने ल्याउँला, भरसक हामी उपाय गर्ने छौ, भर परेर आशामा न पर्खिएस् ” । यति भनी ती ब्राम्हाणहरुले आफ्नो बाटो लिए ।

नवराजका राजदरबारका आँगनमा ठूलो भोज लाग्यो । तोकिएका तिथिमा सबै आमण्त्रित वर्ग, ब्राम्हाणहरु, आशामुखीहरुले परिपूर्ण भोज पाए । राजाले मानमर्यादा अनुसार भोजन गराई ब्राम्हाणहरुलाई दक्षिणा पनि दिए । भोजपछि नवराजको गुण गाउँदै, आशीवार्द दिंदै सबैजना आफ्ना–आफ्ना घरतर्फ जान थाले तर नवपुरबाट आएका दुई भाई कपिल ब्राम्हाण भने बगरमा लडेकी स्त्रीका कुरा सम्झिएर टक्क अडिए । “केही नलिई जाऊँ भने त्यो पापिनी आशामा बाँची रहेकी होली, लिएर जाउँ भने कोसित मागेर लगिदिने ? के भनेर कसरी माग्ने ?” यस्तो विचार गरेर कहिले यता कहिले उता कहिले भोजनशाला र कहिले भोजन गरेका ठाउँतिर जाने र आउने गर्न लागे । कहाँ के हुँदैछ, कसो हुदैछ , को भोको छ, कसले खान पायो, कसले पाएन भनी चारैतिर नजर दिंदै गरेकी राजमाता गोमाले अलिक परबाट ती ब्राम्हाणहरुतिर नियालेर हेरिन् र भण्डारे हो ! ती ब्राम्हाणहरुले खान पाएनन् कि, दक्षिणाबाट सन्तुष्ट भएनन् झट्टै सोधम् ” भनिन् ।

भण्डारेले पनि “हे ब्राम्हाण देवता ! दानपानमा कुनै त्रुटी भयोकि के पर्याे ? राजमाताबाट सोधी बक्स्या छ ।” भनी सोधे । यो सुनी ब्राम्हाणहरु भन्दछन् —“ हे भण्डारेजी ! महाराजका कृपाले हामीले इच्छापूर्वक भोजन गरी तृप्त भएर दक्षिणा पनि प्राप्त गरी सन्तुष्ट भयौं । हामी यहाँ पर्खिएको कारण के भने हामीहरु यता आउँदै गर्दा शाली नदीका तीरमा शरीर भरी कुष्ठी उब्जिएकी, हात–पाउ झरेकी एउटी विरुप स्त्रीले हामीलाई देखेर “ब्राम्हण हो ! तिमीहरु भोजनबाट फर्किदा मेरा खातिर पनि केही खाने पदार्थ ल्याई दिनु, म पाँच दिनकी भोकी छु” भनेकी थिई । हामी फिर्ने बाटो हेरेर त्यो आशा गरिरहेकी होली । त्यो कुरा भन्न नसकेर हामी पर्खिएका हौं । ब्राम्हाणहरुका कुरा सुनी भण्डारेले राजमातालाई भने ।

यो कुरा सुनी “ब्राम्हाणहरु ले जति बोक्न सक्छन् । त्यति खाने कुरा दिएर पठाऊ,”भनी राजमाता गोमाबाट भण्डारेलाई आदेश भयो । आज्ञा पाई भण्डारेहरु खाने पदार्थ लिन भण्डारमा पुग्दा त्यहाँ भएका सारा वस्तु रित्तिएरको देखी आश्चर्य हुदै आएर गोमासित —“हे राजमाता ! भण्डारमा ता केही पनि छैन, अब ब्राम्हाणलाई के दिनु ” भनी विन्ति गरे । भण्डारेका कुरा सुनी गोमा दगुरेर भण्डारमा गएर हेर्दा केही नदेखी “आफूलाई भनी राखेको भाग दिई हाल” भनी आज्ञा गरिन् । भण्डारेले पनि राजमाताका निम्ति भनी ठीक पारेको भोजन लगी कपिल ब्राम्हाणहरुसित — “हे ब्राम्हाण हो ! के ले कुन्नि राजाको सम्पूर्ण भण्डार नै रित्तियो र ठूलो आश्चर्य आईलाग्यो । यो राजमातालाई भनी राखेको भाग चाँही बाँकी रहेको रहेछ र त्यै लिई आएँ, यो नै लगेर त्यो स्त्रीलाई दिनुहोला” भनी सुम्पिदिए । ती दुवै ब्राम्हाणहरु अति शर्मका साथ त्यो खाने कुरा लिई दरबारबाट बाहिरिए । ती ब्राम्हाणहरु निस्कना साथ त्यो राजदरबारभित्र अघि जो–जो जहाँ–जहाँ थियो त्यस्तै गरी फेरि भरिपूर्ण भयो ।

हे अगस्त्य मुनि ! “श्री स्वस्थानी परमेश्वरीको निन्दा गर्नेको पापका प्रभावले त्यत्रो राजभण्डार नै रित्तिन गयो । ती निन्दा गर्ने चन्द्रावतीका दुःख कष्टहरु मैले तिमीलाई सुनाएँ । आउने अध्यायमा उनै श्री स्वस्थानी परमेश्वरीका कृपाले चन्द्रावतीको सारा पाप नाश भई संकट मुक्त भएको कथा पनि सुनाउनेछु ।” भनी कुमारजीबाट आज्ञा भयो ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्रीस्वस्थानी व्रत माहात्म्य नामं सप्तविंशोऽध्याय ।। २७ ।।
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

षष्ठविंशोेऽध्यायश्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !राज्या...
20/02/2024

षष्ठविंशोेऽध्याय
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
राज्याभिषेकको केही दिनपछि एक दिन राजाले आफ्नी आमासित भने —“हे माताजी ! ईश्वरीको कृपाद्वारा हामी यसबेला दुःखी छैनाै, सबै थोकले परिपूर्ण छौं । यस्ता अवस्थामा हामीले धर्म र कर्तव्य बिर्सियौं भने ठूलो अकल्याण होला । तसर्थ हे आमा ! मलाई यस्तो लागेको छ कि हामीले आफ्ना राज्यमा भएका सदाचारी, सत्कर्मी र पूर्वजहरुले खनिदिएका बाटामा हिंडेका सबै सज्जन, लाटा–लंगडा, अपाङ्ग र दुःखीहरुलाई बोलाई राम्रा–राम्रा व्यञ्जन–मिष्ठान्न सहितको भोजनले तृप्त गराऊँ । सज्जन ब्राम्हाणहरुलाई दक्षिणा पनि दिऊँ । जसलाई जो कुराले दुःख कष्ट छ त्यो हटाउने उपाय गरौं । आमा ! यो जन्ममा गरेका दान धर्मले अर्को जन्मलाई सहाय हुन्छ ।

पुत्र नवराजका कुरा सुनी माता गोमाले भनिन् —“पुत्र ! यी कुरा कल्याणकारी हुन् । तिम्रो चित्त सधै धर्ममा मात्र लागोस् । निमन्त्रणा गर्दा चन्द्रज्योति नगरमा भएका तिम्रा साथी सँग सनातनी ब्राम्हाण र अरु सज्जन सहित त्यहाँका दुःखी–दरिद्रीलाई पनि बोलाउनु पर्छ । तिम्री पत्नी चन्द्रावती माइतमा छिन्, उनलाई पनि लिन पठाउनुपर्छ । यो महान् भोजमा वेद विद्यामा पारंगत भएका कुनै पनि ब्राम्हाण छोडिनु हँुदैन ।” आमाको कुरा सुनी राजा नवराजले माताको आज्ञा शिरोपर गरी मन्त्रीलाई बोलाई भने —“हे मन्त्री ! हाम्रा राज्यमा जति ब्राम्हाणहरु छन्, ती सबैलाई बोलाएर भोजन गराउनु पर्छ अनि सबै सज्जन, अपाङ्ग र दुःखी समेतलाई खुवाउनु पियाउनु र उनीहरुका कष्ट हटाइदिनुपर्छ । यसकारण, ती सबैलाई निमन्त्रणा गर्न पठाऊर चाहिने सामाग्री तयार गर” भनी गोमा माताले अह्राए अनुसार चन्द्रज्योति नगरका आफ्ना साथी–संगी र त्यहाँका सनातनी ब्राम्हाण,वरुणपुरमा भएका आफ्ना सासू र ससूरा सहित आफ्नी पत्नी चन्द्रावतीलाई समेत निमन्त्रणा सँगै लिन पठाउनु भन्ने हुकुम गरे ।

मन्त्रीले पनि हुकुम बमोजिम सबै काम पूरा गरे । चन्द्रवतीलाई लिन फौजका साथ डोलेहरुलाई समेत पठाए । डोलेहरु वरुणपुरका अग्निस्वामीका घरमा पुगी आफ्नो परिचय दिए अनि नवराज लावण्य देशका राजा भएका र रानी चन्द्रावतीलाई लिन भनी आएका छौं भनी अग्निस्वामीसित भने । चन्द्रावतील पनि यी सबै कुरा सुनिन् र आश्चर्य मान्दै डोलेहरु सित सोधिन—“हे डोले हो ! नवराज कसरी राजा हुन गए ?” त्यो मलाई भन ।

यी कुराहरु सुनी डोलेहरुले नवराजलाई हात्तीले सुवर्ण कलशका जलले अभिषेक गरी जयमाला पहिराई राजा रोजेको सबै विवरण सुनाए र भने —“ती हाम्री महारानी चन्द्रावती कहाँ होइबक्सिन्छ ? तिमीले गएर छिटो यी कुरा भनिदेऊ । नगएमा अनि ढिलो भएमा राजाबाट रिसानी हुनेछ । डोलेहरुका यस्ता कुरा सुनी चन्द्रावती मनले अति हर्ष मान्दै “अग्नि स्वामीकी छोरी नवराजकी पत्नी,चन्द्रावती भन्ने म नै हुँ” भनिन् । डोलेहरुले पनि खुशी मान्दै हतार–हतार प्रणाम गरे अनि भने —“हे महारानी ! छिटै सावरी होस्, सरकारको यस्तै हुकुम छ । अब विलम्ब गर्नु ठीक छैन । वहाँ लावण्य देशमा राजाबाट वृहत भोजको आयोजना गरिबक्सिएको छ । त्यसका निम्ति तपाईका बाबा–महतारीलाई पनि निमन्त्रणा दिनु भन्ने हुकूम छ । वहाँहरु चैं चार दिनपछि यहाँबाट हिड्दा पनि हुन्छ । हामीले वहाँहरुलाई चिनेको नहुँदा हजूरबाट यो खबर आफ्ना माता–पितामा पुर्याई बक्सियोस्” भनी विन्ति गरे ।
त्यसपछि चन्द्रावतीले बाबा–महतारी छेउ पुगी भएभरका वृत्तान्त सुनाइन् र आज्ञा पाए म चाहीँ आज नै जाने थिएँ भनी आज्ञा मागिन् । आफ्नी छोरी चन्द्रावतीबाट यस्तो राम्रो कुरा सुन्न पाएका अग्निस्वामी र उनकी पत्नीलाई अगाध हर्षले छोप्यो । छोरीका शिरमा आफ्ना दुवै हातले सुम्सुम्याउँदै “धन्य हाम्रा ज्वाईं धन्य हाम्री छोरीको भाग्य, धन्य हाम्रो जन्म” भन्दै दुवै जनाले हर्षांश्रू झारे । त्यसपछि छोरीलाई राम्रा–राम्रा वस्त्र अलंकार पहिराई —“हे पुत्री ! ज्वाईंले लिन पठाउनु भएको रहेछ, अब विलम्ब गर्नु हुँदैन । हाम्री छोरी भएर तिमीले आज रानी हुन पाउनु हाम्रो पनि कोख र काख धन्य भयो, अब जाऊ भनी विदा दिए ।

रानी चन्द्रावतीले पनि माता–पितालाई प्रणाम गरी, आफ्ना साथी संगिनी र छिमेकीहरुसित विदा लिई, पालकीमा चढी लावण्य देशको बाटो लागिन् । चन्द्रावतीको विदामा कतिले आँसु झारे तर रिस र डाह गर्नेहरुले भने—“आफ्ना पुरुष परदेश गएको मौका छोपी दुःख पाएकी सासूलाई एक्लै छोडी माइतमा बस्ने अपराधिनी पनि महारानी हुन पुगी” भनी मन–मनमा ईष्र्या लिए ।

उता चन्द्रावतीलाई लिएर गएका रक्षक सहित डोलेहरु एउटा ठूलो वनमा मृग–मृगिणी आदि बनचर, पशहरु, भाले–पोखी जोडी–जोडी भएका मयूर, मूनाल, जूरेली, ढुकुर आदि चरा–चुरुङ्गीहरु, ठूला–ठूला पोखरीमा खेलिरहेका राजहंश, चखेवा,जलेवा, मलेवाहरु र पलाँस, सिरीस, जाई, चूही, शीमल, गुलमेहर आदिका ढकमक्क फूलेका वृक्षहरुले त्यो वनलाई शोभा दिईरहेका अनि नाना वृक्षमा नाना फलहरुले हाँगा लच्किरहेका थिए ।

त्यो ठाउँमा स्वर्गका कुनै अप्सराहरुले श्री स्वस्थानी परमेश्वरीको पूजा गरिरहेको डोलेहरुले देखि चन्द्रवतीसित विन्ति गरे—हे महारानी ! हामीलाई भोक लाग्यो, त्यहाँ पर निकै वटी स्त्री भेला भएर केही गरिरहेका देखिन्छन् । त्यहाँ गएर केही पाएमा खाई आउने छौं । यो सुनी चन्द्रावतीले जाने आज्ञा दिईन् र डोलेहरुले म्यानालाई भुइँमा बिसाई अप्सराहरु भए ठाउँमा पुगी सोधे — “तिमीहरु कौ हो ? कहाँबाट आएर के गर्न लागको हौ ?” यस्ता प्रश्न सुनेर अप्सराहरुले —“हे मनुष्य हो ! यी स्वस्थानी देवी हुन् । यहाँ प्रतिमाभित्र श्री स्वस्थानी परमेश्वरी छिन् र प्राण प्रतिष्ठा गरी उनै ईश्वरीको पूजा गरिरहेका छौ । हामी स्वर्गबाट यहाँ आई पूजा लगाउँदै छौ” भनी बताए ।

अप्सरहरुका कुरा सुनेर डोलेहरुका ह्रदयमा पनि श्री स्वस्थानी परमेश्वरी प्रति श्रद्धा भक्ति उत्पन्न भयो र “हामी पनि तपाईंहरुका साथमा पूजा गर्छौं तर हामीसित कुनै सामग्री भने छैन । जसो गरेर हुन्छ हामीलाई पनि गराउनुहोस्” भनी अप्सरासित आग्रह गरे । अप्सराहरु पनि आफ्नै संसर्गमा पूजा गराउन राजी भए । अनि डोलेहरुले मालिकहरुको सदादिन भारी बोकी, डोली बोकी पाएको ज्याला कमाइको भेटी द्रव्य चढाई पूजा गरे । पुजा सकेर प्रसाद झिकी अप्सराहरुले डोलेहरुलाई दिदै भने—“हे भारवाह ! जुन मनुष्यहरुले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्लान्, कथा सुन्लान्, अथवा तिनका महिमाले युक्त ग्रन्थहरु घरमा राख्लान् तिनका सम्पूर्ण पाप, ताप, दुःख दारिद्र्य, शोक–रोग, नाश हुँदै गएर यो लोकमा सुःख–शान्ति–सन्तति, सम्पत्ति, दिर्घायुष्य प्राप्त गरी अन्त्यकालमा दिव्य रुप लिई कैलाशमा गएर बस्न पाउँलान् । बाटो लागेका बटुवा भएर पनि आज तिमीहरु धन्य रहछौ” भनी ती अप्सरा स्वर्गलोकमा गए । डोलेहरु पनि आफ्ना–आफ्ना हातमा प्रसाद बोकी त्यहाँबाट म्याना बिसाएका ठाउँमा रानी चन्द्रवतीका सामु पुगेर हाजिर भई प्रणाम गरे ।



इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
स्वस्थानी व्रतवर्णनं नाम षष्ठविंशोऽध्याय : ।। २६ ।।

श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Pradip Bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share