01/11/2023
फूलखेतीबाट आत्मनिर्भर बन्दै गुण्डूका महिला (फोटो फिचर)
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डूका किसान महिलाहरू फूलको खेती गरेरै आय आर्जन गर्छन् । व्यावसायिक फूलखेती गरेका कारण उनीहरू आत्मनिर्भर पनि बन्दै आएका छन् । तिहार लगायत विभिन्न चाडपर्व, बिहे, व्रतबन्ध आदि विभिन्न संस्कार तथा मठमन्दिरमा गरिने दैनिक पूजाआजामा खपत हुने फूलको मात्रालाई लक्षित गरी उनीहरू वर्षैभरि फूलको खेती गर्छन् ।
गुण्डूका हरेक घरका किसान महिलाहरू धान, मकै रोपेको खेतको आली होस् कि बारीको कान्ला जहाँसुकै फूल रोप्छन् । बजारको मागलाई त्यतिले धान्न नसक्ने उनीहरूको अनुभव छ । व्यवस्था गर्न सक्नेले टनेलमा समेत फूल रोपेर फूलको व्यापार गर्ने गरेका छन् ।
खेतको आली, बारीको कान्ला र घर वरिपरिको खाली ठाउँमा फूल रोप्नेले पनि चाडपर्वका बेला १५–२० हजार रुपियाँ आम्दानी गरेका हुन्छन् । व्यावसायिक खेती गर्नेहरू वर्षमा एक लाखदेखि सात–आठ लाख रुपियाँसम्म कमाउँदै आएको बताउँछन् । विगत आठ वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएकी रञ्जना बस्नेतको अनुभवमा सबै खर्च कटाएर फूलको बेर्ना र फूल बिक्री गर्दा वार्षिक सात–आठ लाख रुपियाँ आम्दानी हुने गर्छ । उहाँले तिहारका लागि चाहिने मखमली सहित स्थानीय जातका गोदावरी र विभिन्न खालका सयपत्रीका साथै अफ्रिकन जातका सयपत्री लगाएर वर्षभरि नै फूलको उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ ।
परम्परागत फूलखेतीबाट चाडबाडमा सामान्य आम्दानी गर्दै आएका गुण्डूका किसान महिलाहरूले २०७५/७६ सालदेखि व्यावसायिक रूप दिएका हुन् । बजारको मागलाई ध्यानमा राखेर उनीहरूले वर्षभरि नै विभिन्न जातका फूलको खेती गर्दै आएका छन् ।
सामान्यतः फूलको बजार चम्कने भनेको तिहारमै हो । यसका लागि अति प्रसिद्ध मखमली फूललाई आफूहरूले असारदेखि नै टिपेर माला बनाउन थाल्ने गुन्डुका महिलाहरू बताउँछन् । फूल किसान तथा व्यवसायी पार्वती नगरकोटी भन्नुहुन्छ, “खेतीपातीको कामबाट केही फुर्सद भए मखमलीको माला गाँसेर राख्छौँ ।” उहाँका अनुसार, मखमली फूललाई असारदेखि टिप्न थालेर कात्तिकसम्मै उत्पादन लिन सकिन्छ ।
पार्वतीले सात आना जग्गामा मकै मात्र रोप्नुभएको छैन, त्यही मकैबारीमा मखमली र सयपत्री फूलका साथै भटमास लगाएर मिश्रित खेती गर्नुभएको छ । यसबारे उहाँ भन्नुहुन्छ, “तीन वटै बाली राम्रो भएको छ । मकै र भटमासको उत्पादनसँगै फूलको माला र गुच्छा बनाएर बेच्ने गरेको छु ।”
गुण्डूका केही महिलाहरू व्यावसायिक रूपमै फूलखेतीमा लागेका छन् भने केहीले खेतीपाती र घरको कामसँगै फूलको खेती गर्ने गरेका छन् । महिलाहरू आफैँले फूलको बेर्ना तयार गरेर रोप्नेदेखि, स्याहार्ने, टिप्ने, माला गाँस्ने र व्यापारीलाई बेच्ने काम पनि गर्छन् । फूल टिपेपछि उनीहरूले एकै ठाउँमा बसेर रमाइलो गर्दै माला गाँस्ने काम पनि गर्छन् ।
फूल किसान तथा व्यवसायी चुनमाया नगरकोटी भन्नुहुन्छ, “दिनको समयमा स्थानीय रणवम पाटीमा दिदीबहिनी भेला भएर माला गाँस्दै दिन बिताउन निक्कै रमाइलो लाग्छ ।” फूल टिप्न, माला गाँस्न सघाउने घर, परिवारका सदस्य भए त राम्रै भयो, नभए पनि ‘रोइरहनुभन्दा गाइरहनु निको’ भन्ने उनीहरूलाई लाग्छ । यसैले पनि महिलाहरूले सकेसम्म आपसमा रमाइलो गरी काम धान्दै आएको देखिन्छ । चुनमायाको अनुभवमा पनि पाटीमा साथीसङ्गीसँग सुखदुःखको कुराकानी गर्दै काम गर्दा आफूहरूलाई सजिलै लाग्ने गरेको छ ।
फूलको खेती गर्ने अनुभवी किसान महिलाहरू एक रोपनी जमिनमा मखमली फूलको खेती गरे चार–पाँच जनाको परिवारलाई दालभातको जोहो गर्न पुग्ने पनि बताउँछन् । रञ्जना, पार्वती, चुनमायाले जस्तै शर्मिला नगरकोटी, कल्पना केसी र चन्द्रमाया देउबन्जार आदि गरी करिब सात सय महिलाले गुन्डुमा फूलको खेती गरिरहेका छन् ।
गुण्डूमा महिलाहरू मात्रै रहेको साना किसान कृषि सहकारी संस्था सञ्चालनमा छ । स्थानीय सरकारले पनि सो सहकारीमार्फत फूलखेतीमा लागेका महिलाहरूलाई विभिन्न खालको सहयोग गर्दै आएको छ । यसबारे साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अम्बिका भण्डारी भन्नुहुन्छ, “यस क्षेत्रका महिला किसान तथा व्यवसायीलाई फूलखेतीमा लाग्न प्रेरित गर्ने उद्देश्यले विगत तीन वर्षदेखि सयपत्री फूलको बेर्ना उत्पादन तथा वितरणका लागि सहकारीले अनुदान दिँदै आएको छ ।” साथै, चालु आर्थिक वर्षमा छ लाख रुपियाँ अनुदान दिएर अफ्रिकन जातको सयपत्रीको ५५ हजार वटा बेर्ना तयार गरी ३१० जना किसानलाई वितरण गरिएको अध्यक्ष अम्बिकाको भनाइ छ ।
विगत २० वर्षदेखि गुन्डु क्षेत्रमा नगदेबालीका रूपमा फूलको खेती हुँदै आएको छ । पाँच वर्षयता भने यसलाई व्यावसायिक रूप दिने प्रयास पनि गरियो । यसका लागि स्थानीय तहले समेत आर्थिक अनुदान दिएर सहयोग गर्न थाल्यो । त्यसपछि धेरै महिलाहरू फूलको खेतीतिर आकर्षित भएको बताइन्छ । पूर्वमन्त्री महेश बस्नेतका अनुसार, गुन्डु क्षेत्रमा सडक बनाएर यातायातको सुविधा भएपछि स्थानीयको आयआर्जनको माध्यमको रूपमा फूलखेतीको व्यावसायिक प्रवर्द्धन गर्न थालिएको हो । उहाँ गुन्डुकै बासिन्दा हुनुहुन्छ । “राजधानी नजिकै भए पनि सडक सुविधा नहुँदा पहिले पहिले उत्पादित फूल बजारसम्म लैजान र फूल व्यापारीहरू आउन मुस्किल हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “अहिले यातायातको समस्या छैन ।” यसैले पनि स्थानीय महिलाहरू फूल उत्पादन र प्रवर्द्धनमा लागिरहेको उहाँको बुझाइ छ ।
गुण्डूमा उत्पादन हुने फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । हिजोआज राजधानीका फूल व्यापारीहरू फूलका गुच्छा तथा माला खरिद गर्न गुन्डुमै पुग्छन् । कतिपय किसान महिलाले आफैँ बजारसम्म पुगेर पनि व्यवसायीलाई फूल उपलब्ध गराउँदै आएका छन् । गुण्डूमा उत्पादित र निर्मित फूलको माला काठमाडौँ मात्र होइन, केही वर्षयता अस्ट्रेलिया, जापान, क्यानडा आदि देशहरूमा पनि निर्यात हुन थालेको फूल व्यवसायीहरू बताउँछन् ।
गुन्ण्डूका फूल किसान महिलाहरूले आफ्नो केही जग्गा भए मखमली, सयपत्री, गोदावरी लगायतका फूलको खेती गरेर वर्षैभरि आयआर्जन गर्न सकिने सन्देश दिइरहेका छन्। उनीहरूको अनुभवमा फूल उत्पादन जति धेरै गर्न सके पनि बजारको अभाव छैन । आफ्नो मिहिनेत खेर जाँदैन ।
खुला आकाशमुनि जमिनमा फूलको खेती गर्दा भने कहिले बढी वर्षाले र कहिले सुख्खा लाग्ने समस्याले सताउने गर्छ । यसका साथै कहिलेकाहीँ त रोगले पनि सताउने गरेको किसान महिलाहरूको अनुभव छ । यसबाट जोगिन केहीले टनेल बनाएर सबै मौसममा एकनासले फूल लगाउने र बिक्री गर्ने गरेको पाइन्छ ।
(यो सामाग्री हामीले sandhann.com वाट साभार गरेका हौं ।)