09/06/2024
नेपालमा अझै पनि विकास या समृद्धिको सूचक मोटर बाटोलाई ठान्नुपर्ने विडम्बना छ । तर, त्यस मोटर बाटोले पारिरहेको सकारात्मक अथवा नकारात्मक प्रभावबारे हुनुपर्ने बहस भएको अझै छैन । हुनुपर्ने समय भने घर्किसकेजस्तो लाग्छ ।
हरेक गाउँमा, टोलमा मोटर बाटो पुगेको भनेर मेरो जिल्ला अर्घाखाँचीलाई पनि चिनिन्छ । विशेषगरि जनयुद्ध र जनआन्दोलनपछि त्यो एउटा लहर बनेर आयो । आफूलाई विकासप्रेमी नेता भनी चिनाउनेहरूले भाषण गर्दा अनिवार्य यो कुरालाई मुखमा ल्याउनबाट छुटाउँदैनथे । बाहिरबाट मात्रै हेर्दा हुनपनि मोटर बाटो हाम्रो जिल्लाको त्राण नै बनेको थियो, बनेको छ । (हाम्रो गाउँमा भने ट्याक्सी त के फोरह्वीलर पनि चल्न गाह्रो छ । छ सात किलोमिटरको बाटोमा ईन्धनवाला अटोरिक्साले कम्तीमा १५ सय ठटाउँछ । अब यसलाई समृद्धिको सूचक त कसरी मान्नु खै ?)
गाउँगाउँमा मोटरबाटो बनेपछि जिल्लामा सयौँ ट्याक्सी चल्न थाले । रातबिरात जुनसुकै समयमा भए पनि सदरमुकाम सन्धिखर्कमा आइपुगेको जिल्लाबासीले त्यहाँ होटल लिएर बस्नु नपर्ने भयो । त्यसले गाउँमा केही आर्थिक चहलपहल ल्यायो तर सदरमुकामका होटलहरू सुके । यो व्यवसायमा जोडिन आउने अन्य सबै व्यापार व्यवसायमा मन्दी छायो ।
यो त सबैले देखेको जानेको तथ्य भयो । अर्को उल्लेखनीय तथ्य छ, गाउँ गाउँमा पुगेको मोटर बाटो भएर जवानहरू भारत, मलेसिया र खाडीतिर जाने लर्को थामिएकै छैन । गाउँमा पुग्ने मोटरले सहरहुँदै भारतको बन्दाकोबी र लौका बोकेर लैजान्छ, फर्र्कंदा त्यसले बन्दाकोबी र लौका फलाउन श्रम गर्न सक्ने युवाहरूलाई बोकेर फर्कन्छ । अब यही विडम्बनालाई नै विकास र समृद्धिको आधार्य त खै कुन मनले स्वीकार्नु र ?
अझ यी सबैभन्दा अग्लो ठाउँबाट फिल्म निर्देशक नवीन सुब्बाले हेरेका देखेका छन्, गाउँ आएको (मोटर) बाटोलाई । यो फिल्ममा त्यस्ता सयौं आँसु र हाँसोका तथ्य, दुःखपीडा, उपहास, परिहास र विडम्बनायुक्त सत्यलाई उद्घाटन गरिएको छ जसको बारेमा मजस्ता सामान्य मान्छेले देखेकै सोचेकै छैनौँ । गाउँमा बाटो आएकोमा मन खोलेर रमाउनेहरूले पसल खोल्ने, आयातीत रक्सी बेच्ने, बहुराष्ट्रिय कम्पनीका माल गाउँभरि फैलाउनेभन्दा अरु केही गरेका छैनन् । बाटोसित न कुनै नवप्रवत्र्तन जोडिन आयो न त उल्लेखनीय रुपले कुनै रोजगारको सिर्जना नै भयो । त्यसले त उल्टै (आदिवासी) समुदायले हजारौँ वर्षदेखि अँगालेर बचाइराखेको सीपलाई जबर्जस्ती विस्थापित गराइदियो । सीपसँगै जोडिन आउने अर्थ र आम्दानीलाई नराम्रोसँग खुम्च्याइदियो । मोटरबाटो हुँदै सिमाना पारिबाट आएका प्लास्टिकका भाँडा र त्रिपालहरू पहाड उक्लेर सिङ्गै गाउँ कब्जा गरिसके तर राई माइला (हरू)ले पुस्तैनी कौशलले निर्माण गरेका चित्रे र फीफीले तराई देख्न पाएन । तराई त धेरै विस्तृत भइगयो । त्यहीँ भोजपुरमा बनेका बाँसका सामग्री उहीँनिरको धरानमा बिकेन ।
एउटा अत्यन्तै सुन्दर सिर्जना बनेको छ, गाउँ आएको बाटो । तर, सुन्दर सिर्जनाहरू प्रायः हामी चिन्दैनौँ । हलबाट बाहिरिनुअघि सपरिवार बसेर हेर्दा घाटा छैन । यति चाहिँ भन्न सकिन्छ । पछिल्लो समयमा बनेका थुप्रै राम्रा फिल्महरूको लहरमा यो फिल्म साँच्चै राम्रो बनेर आएको छ ।