02/03/2021
नेपालगञ्जमा ६२ जना यात्रु बोकेको विमान दुर्घटना भएपछि...
नेपालगञ्ज ।
नायक एयरको आर ७२ जहाज जीतपुर विमानस्थलबाट हारपुर विमानस्थलका लागि उड्यो। हारपुर विमानस्थलको दक्षिण पूर्व क्षेत्रमा विहान १०:२१ बजे जहाज ‘दुर्घटना’मा पर्यो। चालक दलका चारजनासहित ६२ जना यात्रु रहेको जहाज दुर्घटना हुँदा १४ जना यात्रुको निधन भयो । निधन हुनेमा एकजना एयर होस्टेस पनि परिन्। नौ जनाको अवस्था गम्भीर। विमान दुर्घटना हुने बित्तिकै विमानस्थलको दमकल पुग्यो। लगत्तै नेपालगञ्ज उपमहानगरपालिकाको दमकल पनि पुग्यो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका फायर फाइटरले आगो निभाए। घाइतेहरुको उद्धार गरे। एकैछिनमा एम्बुलेन्सको लाइन लाग्यो। घाइतेहरुको धमाधम अस्पताल लगियाे। शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलमा यस्तो दृश्य देखियो। यो दृश्य वास्तविक थिएन । यो कृत्रिम घटना अभ्यास थियो । विमानस्थलका नाम पनि कृत्रिम थिए। विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले दुर्घटना भइहालेमा कसरी त्यसलाई व्यवस्थापन गर्ने भन्नेबारेमा जानकारी दिनका लागि पनि कृत्रिम घटना अभ्यास गरिएको बताए।