24/12/2023
बुकएन्टको बेस्टसेलर उपन्यास 'दफन'-माथि समालोचक अनिता निरौलाको समीक्षा गान्तोक, सिक्किमबाट प्रकाशित 'हिमाली बेला'-को आजको अङ्कमा
---
मेघनाथ दाहालकृत उपन्यास ‘दफन’-को अध्ययनपछि
- अनिता निरौला
साहित्य समाजको दर्पण हो। दर्पण जसले देखाइएको देखाउँछ। साहित्यले समाजका सङ्गति-असङ्गति, विकृति, संस्कार-कुसंस्कारलाई पस्किदिन्छ र भनिदिन्छ, ‘हेर है तिम्रो समाज यस्तो छ, अब के गर्छौ? तिम्रो पीडा-व्यथा यस्तो छ।’ यसले भन्दैन, ‘तिमीले यसो गर्नुपर्छ। यसो गरे तिमी व्यथामुक्त हुन्छौ, उन्मुक्ति पाउँछौ।’ साहित्य बोल्दैन। त्यसको माध्यमबाट साहित्यकार बोलेको हुन्छ। साहित्यकार जसलाई बौद्धिक समूहका सदस्य मानिन्छ। साहित्यले केवल दर्शाउने हुनाले सबैथोक बुझेर समाज आफैले आवश्यक सुधार ल्याउनुपर्ने हुन्छ। बुझ्ने कोशिस वैचारिक क्रान्तिको शङ्खघोष हो। समाज यस्तो क्रान्ति ल्याउने योग्य छ/छैन अथवा यस्तो अवस्थामा पुगेको छ/छैन बेग्लै विषय हो। साहित्यको भूमिका सीमित रहन्न। परिवर्तित समयसितै यसको भूमिका पनि परिवर्तन हुनुपर्ने हो। भूमिका केवल दर्पणको होइन, पथप्रदर्शकको पनि। पथप्रदर्शक जसले सुधारको मार्ग बताउँछ। ‘दफन’ उपन्यासको अध्ययनपछि यस्तो आवश्यकताबोध भएको छ। यही अनुभूतिले कलमकार मेघनाथ दाहालको कलमबाट ‘दफन’ जन्मिएको हुनुपर्छ। उनी लेख्छन्, हरेक कथाकार, उपन्यासकारले यस्ता अभावग्रस्तका अनेक कथा गढ़े, कविहरूले कविता लेखे, गीत रचे, मीठो सङ्गीत भरे र मनमोहक अन्दाजमा गाए पनि तर गोपालहरू जस्ताको गरिबी जहीँको तहीँ छ। यस अभिव्यक्तिमा साहित्यका सीमित भूमिकाको अपर्याप्तताको सङ्केत पाइन्छ। अब यस भूमिकाको विस्तार हुनुपर्ने समय आएको हो त? यस दिशातिर पाइला चाल्ने प्रयास गर्दै दाहालको पहिलो उपन्यास ‘दफन’-ले दर्पणको सँगसँगै समाधानका मार्गदर्शकको भूमिका पनि खेलेको हुनाले यसलाई क्रान्तिकारी कृति भन्दा अत्युक्ति नहोला।
अर्को दृष्टिकोणबाट पनि ‘दफन’ -लाई क्रान्तिकारी उपन्यास पक्कै भन्न सकिन्छ। यसले यस्तो गहकिलो विषयलाई पक्रेको छ जसभित्र प्रवेशको साहस सबैले गर्न सक्दैनन् र अहिलेसम्म गरेजस्तो लाग्दैन। लोकतन्त्र सत्तासीन राजनैतिक कर्मीहरू को व्यक्तिगत र पार्टीगत सम्पदा भएको वर्तमान समयमा आम जनता, शिक्षित र साक्षारित मात्र होइन बौद्धिक मानिने कलमकार समेत भयभीत र आतङ्कित देखिन्छन्। भारतीय परिप्रेक्ष्यमा लोकतान्त्रिक मूल्यको बलात्कारका साक्षी बनेका यी सबै मूकदर्शक छन्। कायरताले जमिएको बर्फिलो स्याहीधारी निकम्मे खियिएका कलमको भीडबाट सशक्त र निर्भीक कलम जागेर आउनुलाई क्रान्तिकारी पहल नै मान्नुपर्छ। साधुवाद छ कलमकार मेघनाथ दाहाल र उनको निर्भीकतालाई।
यस उपन्यासका पाना पल्टाउनअघि कृतिकार मेघनाथ दाहाललाई प्रगतिवादी, सुधारवादी, स्पष्टवादी र आशावादी सशक्त कलमकारका रूपमा लिएर पठन गर्न आवश्यक हुन्छ। उनी राजनैतिक पार्टीसित सम्बद्ध व्यक्ति हुन्। राजनीतिसित सम्बन्धित वर्गका पाठकहरूले यस उपन्यासलाई राजनैतिक दृष्टिले हेर्नु स्वाभाविक हो। तर अराजनैतिक पाठकका निम्ति यो ओजनदार कृति हो। युवा पिढ़ीँका निम्ति मार्गदर्शक हो। हराएको स्वतन्त्र देश उल्लिखित यो उपन्यास सिक्किममाथि आधारित कृति भएपनि अनि पात्रपात्रा र शोषकवर्ग सिक्किम समाजकै भएजस्तो लागेपनि यसमा कहीँकतै सिक्किम शब्दको प्रयोग छैन। उपन्यासमा दार्जीलिङको दुखाइलाई पनि स्पर्श गरिएको छ। भिलेज स्कूल मास्टरका बुबा र हजुरबा गफ गर्छन् यसरी - फिरङ्गीले छोड़ेर गएको त्यो पारिको देश हेर् कान्छा। त्यहाँ आजकल लुटेरा, हत्यारा र पाकेटमार शासनमा छन्। त्यतातिर पनि मान्छेलाई दुःख छ। असन्तोष छ। औड़ाहा छ। ‘त्यतातिर पनि’ शब्दले लोकतान्त्रिक मूल्यको बलात्कार कुनै निर्दिष्ट क्षेत्रमा नभएर साझा बन्न गएको यथार्थ दर्शाउँछ। यो उपन्यास समग्र देशको प्रदूषित लोकतान्त्रिक व्यवस्था अनि लोकतन्त्रका शासक र लाउकेहरूद्वारा हुने अपराध र शोषणको आवाज बनेको छ। लाउकेहरूका भूमिकाको मीठो व्यङ्ग्यात्मक अभिव्यक्ति पाइन्छ यसरी - ठूलो धर्म भनेको हर हालतमा आफ्ना ख्वामितको प्रत्येक अपराधलाई गोपनीय राख्नु र समाजमा उनका गुणहरूको प्रचार गर्नु हो।
कलमकारले आफ्नो गाउँलाई ‘बुढो’ सम्बोधन गरेका छन्। बुढो अर्थात् पाको। बुढो अनुभव र परिपक्व हो। बुढो तिरस्कृत पनि हो, लाचारी पनि हो। मानसिक र वैचारिक असामयिकता पनि हो। जिद्दी हो, कमजोर र रोगी पनि हो। आखिर बुढो के हो? गाउँ बुढो किन छ? कलमकारले तिरस्कृत भन्न खोजेका हुन् अथवा अविकसित अथवा परिपक्वताको लाचारी? यो नै हो, खुट्याउन पाठकलाई गाह्रै पर्छ।
‘दफन’ -मा भौतिकताको बढ़्दो मनोवृत्तिप्रति लेखकको छटपटाहट स्पष्ट देखिएको छ। यो लेखक दाहालको मात्र होइन सचेत नागरिकको छटपटाहट हो। दाहाल लेख्छन्, समयले खाने र लगाउने कुरामा परिवर्तन ल्याए पनि मानसिकता त्यस्तै छ। समय निर्दोष छ। समयलाई कलुषित बनाउने हामी हौँ। लोकतन्त्रका भक्षकहरूको मायावी पासोका शिकार बनेका छौँ। भौतिक उन्नति र मानसिक अवनतिको मायावी जालमा हामी बेह्रिँदै गइरहेका छौँ। मानसिकता मनसित सम्बन्धित हुन्छ। मन अरूको नभएर आफ्नो हुन्छ। यसलाई कुन स्वरूपमा ढाल्ने हाम्रो वशमा हुन्छ। तर किन यसो गर्न सकिरहेका छैनौँ? दोषी हामी स्वयम् हौँ।
‘दफन’ -लाई राजनैतिक उपन्यास भन्न सकिँदैन। यसमा राजनीति र राजनैतिक द्वन्द्व पाइन्न। बरु भारतेली लोकतान्त्रिक व्यवस्थामाथि तिखो व्यङ्ग्य प्रहार छ। व्यवस्थामाथि व्यङ्ग्य राजनीति होइन। उपन्यासमा सत्ताको मधुशालामा मदमत्तहरूद्वारा गरिने लोकतन्त्रको विकृति छर्लङ्ग पाइन्छ। लोकतन्त्रमा नेता, उनीहरूका लाउके र पूँजीपतिको माफियाराजले गरीब र सर्वहारा भुक्तभोगी हुनुपर्ने बाध्यतालाई प्रकाशमा ल्याइएको छ - गोपीकृष्ण महाजनले आफ्नो महाजनपना जुन द्रुत गतिमा अघि बढाए त्यही गतिमा गोपालको गरिबी किन घटेन सोच्नुपर्ने हो। ...... बढ़ो गजब हुन्छ गरिबी। आपसी समझदारी कस्तो हुनुपर्छ त्यहाँ पढ़्न पाइन्छ। ...... उदेक छ त्यस देशमा जसले जतिबेला पनि सरकारी नियम भङ्ग गर्नसक्छ।
यस उपन्यासमा पढ्न नसकेर मृदुवाल (मन्त्री बनेका प्रतिनिधि) -को भान्से बनेको बिजुवा साइँलो गाउँको स्कूलमा गुरुबाबु बनेको तर दश क्लास पढेर पनि फाटेको हाफपेन्ट लगाएर घुमिहिँड्नु परेको गोपालको बेरोजगार छोरो भुवनको कहानी र मान्छे मरेपछि सबै आफन्त आएपनि मन्त्रीको प्रतीक्षामा एक दिनसम्म लाश राख्नुपर्ने परम्पराजस्ता हाम्रै वरिपरि घटेका घटनाहरूमाथि अनेकौँ व्यङ्ग्य पाइन्छन्। उपन्यासले व्यावहारिकता बोकेको छ।
‘दफन’ नारी उत्पीडनको कहानी हो। नोकरीका निम्ति लोकतन्त्रका शासकहरूबाट कुमारीत्व लुटिएका भाव्या र आराधना अनि रूपमाया, गोपालकी स्वास्नी ठूली, कालिन्दीजस्ता नारीहरूले नारी उत्पीडनको प्रतिनिधित्व गरेका छन्। लेखक लेख्छन् - एउटा बुढ़ो चौकिदार त्यो बङ्ग्लोमा भएका सबै घटनाहरूको गवाही हो, जो आज पनि कुप्रो परेको पिठ्युँ लिएर बङ्ग्लोलाई आफ्नी बूढीआमा ठानेर स्याहार्छ। यस्ता घटनाहरूसित पूर्णतया विज्ञ बलात्कारीकी पत्नी वरप्रदा समेत भावनात्मक उत्पीडनका शिकार हुन्। उनी भन्छिन् - ठूली तिम्रो त सर्वस्व गुमे पनि बाँच्ने र सङ्घर्ष गर्ने हिम्मत टुटेको छैन, मैले त बाँच्ने आकाङ्क्षासमेत त्यागिसकेँ। कलमकार मेघनाथ दाहाल लेख्छन् - त्यो देशमा प्रजातन्त्र आयो। प्रजातन्त्र एक्लै आएन। आफूसित अनेक विसङ्गति पनि लिएर आएको हो। प्रजातन्त्र ल्याएको सबैभन्दा ठूलो विसङ्गति भनेको धूर्त्त, स्वार्थी, चोट्टा र बाहुबलीका निम्ति आफ्नो आफ्नो सिप र शिल्पको भरमग्दुर उपयोग गर्ने अवसर लिएर जसले ज्यादा झूटो बोल्न सक्छ त्यो नै शासनमा पुग्ने अवसर लिएर आयो। शासनमा पुगेपछि जनताको हक, अधिकार र धन लुट्न सक्ने अख्तियार तीजस्ता धूर्त्तलाई दिने अवसर लिएर आयो।
‘दफन’ नारी उत्पीडनको आवाज बनेपनि यसले नकारात्मकता झल्काएर नारीवाद पूर्णतया चोखो नभएको बताउन खोजेको छ यसरी- चियाको चुस्की लिँदै न्यायाधीशले भने, ‘आज आएको एउटा केसमा भने सर्वेशजीलाई निकै अप्ठ्यारो देखेको छु।’ ‘मलाई एउटा गजबको शिरबन्दी लाउने मन छ’, स्वास्नीले भनिन्। दुवै पति-पत्नी गलल हाँसे। नोकरले बुझ्यो, आज न्यायालयभित्र कुनै अभागी गरीब डाँको छोड़ेर रोएको हुनुपर्छ। यस प्रसङ्गको उठानलाई उपन्यासकार दाहालका निर्भीकताको चरम बिन्दु भन्न सकिन्छ।
उपन्यासमा नारी उन्मुक्तिका आशाका किरणहरू पाइन्छन्। यो जिम्मेवारी वहन गर्न नारी शक्ति अघि आउनुपर्ने सङ्केत दिँदै उपन्यासकारले नारी शक्तिलाई नारी उन्मुक्तिका मसालधारक बनाएका छन्। मूल पात्रा गरिबीका शिकार महिला भाव्या छिन्। अर्की नारी हुन् रघुनाथकी आमा। जिउनका निम्ति आफ्नो स्वाभिमानसित सम्झौता नगर्ने रघुनाथमाथि गर्ववान्तित उनकी आमा। भाव्या, प्रसुती, सानिया, शिवाकोटी अन्तरी, आराधना, वरुणी, वरप्रदा जस्ता उत्पीडनका शिकार नारीलाई नै उन्मुक्तिका साधन बनाइएको छ। यो उपन्यास समाजको दर्पण मात्र नभएर समाजको पथप्रदर्शक बनेको छ।
लोकतन्त्रमा गरीब, सर्वहारा, नारी र आम जनताको भोगाइ देखिए पनि वास्तवमा लोकतन्त्र प्रदूषित छैन। यो एउटा पावन व्यवस्था हो। तर यसका रक्षकहरू नै भक्षक भइदिँदा लोकतन्त्र दोषी र बदनाम भएको मात्र हो। गाउँको विकासका निम्ति गाडी हिँड्ने बाटो बनाउन गरीब गोपालले सरकारलाई आफ्नो पुस्तैनी जमिनको चार डेसिमल भूमिदान गर्छ। क्षतिपूर्ति पाउने, परिवारले राम्रो मजदुरी पाउने, सरकारले सबै सहयोग दिनेजस्ता सत्तासीनको आश्वासनसित उसले भूमिदान साटेको थियो। उसको दान सडकमा परिणत हुन्छ तर सरकारी आश्वासन कार्यरूपमा परिणत हुँदैन। लामो सङ्घर्षपछि पनि गोपालले न्याय पाउन सक्दैन। अन्तमा न्यायको भिक्षापात्रसितै उसले प्राणत्याग गरिदिन्छ। पत्नी ठूली भन्छिन् - मेरो बुढ़ोको शरीर म चिहानघारीमा लादिनँ। लानै दिदिनँ। उसलाई घुरेनको सड़कबीचमै दफन गर्छु। मलाई कसैको अनुमति चाहिन्न। सड़कको जमिन गोपालको पुस्तैनी जमीन हो। आफ्नो जमिनमा मरेपछि त्यहीँनेर दफन हुने उसको पूरा हक छ। लोकतन्त्रका शासक सर्वेश र मृदुवाल बोल्न सक्दैन। शिवाकोटी अन्तरी, आराधना, वरप्रदा सबै नारी अघि सर्छन्। सडकबीचमा खाडल खनिन्छ अनि त्यसैमा गोपालको लाश दफन गरिन्छ। लाशसितै देशको भीरु प्रजातन्त्र र अन्धा न्याय पनि गाडिन्छन्। यो लोकतन्त्र र न्यायको हार अनि गरीब, सर्वहारा र भुक्तभोगीको प्रतिनिधित्व गर्ने गोपालको जीत थियो। नारी शक्तिको जीत थियो। यस दृष्टिले ‘दफन’ वियोगान्त देखिए पनि वास्तवमा सुखान्त उपन्यास हो।
उपन्यासकार मेघनाथ दाहाल भन्छन्, एउटा देशको एक आम मान्छेको हार र जीतको कथा हो ‘दफन’।
---
• कृति: दफन
• विधा: उपन्यास
• सर्जक: मेघनाथ दाहाल
• आवरण: पेमा शेर्पा
• पृष्ठ: १९४
• मूल्य: २९९
• ISBN: 9788196365202
--
किताब India -मा उपलब्ध: https://amzn.eu/d/crcYRcM