08/06/2019
घरहरू डढेर खरानी
गाउँको प्राणपखेरु उडेको वर्षदिनपछि-
सामान्यता
फर्केको गाउँमा
भोको गाईवस्तुको घाँस्
आधा धाढ्मा काटिएको अम्लिसो तरेली तरेलि कान्लामा
नयाँ मौलिएको
गोठ् फेरेको दूधालु गाई,बाख्रा को
मसिनो दूधे घास्,धोती सरो, बन्सो, नर्कट्
दोधेलो , काने
आफ्नै मान्छेको लोभको बन्चरो परेको
ठुटे शिरिष दुई हाँगामा झ्याङ्गिएको
आफ्नै अगान् उधिनेर , आफ्नै भाडाल रित्याउने
घरको गोठ्को भाले आफैले रेटेर चुस्ने आँट आएपछि
“सन्ते”को घुरेन् “मिनी नागासाकीमा” पड्केको
हाते बमको रेडियो धर्मी कालो दागमा
रत्नेउलो अनि ठोट्नेको कलिलो अमिलो रस सरीको डाँठ् ठस् ठस् सप्रिएको छ।
प्रकृति न हो
जियालो हुन्छ , बौरिनु जान्दछ
छत् विछत् भएपछि बाउरिनु यिसूको नियति भएझैं
“बालासन्” खोला बगेर नयाँ, बगेको नदेखेर पूरानै भएझैं
मचीस् को सिनका खुर्केर बारूदै बारुद को गन्ध
फ्याटुलो सुतली डोरीले बेरेको डल्लो चिनारीको मानचित्र
“ भुईमा न राख्, भरे त्यस्को घरमा पड्काउनु पर्छ”
आफ्नैहरुको तुहेको विश्वासको कानेखुसी बङ्ग
गाउँको नाकमा पसेको – सडेको सिनो।
विनिर्माणका विध्वंस विभिषिका
रक्त रञ्जित गाउँको दोबाटोहरु
भदौको झयाउरे झरीले पखालेर चोखो पारेपछि
नवनिर्माणका दरिलो पौरखी हातहरु सुस्ताएको नियस्रो मन् लिएर
फेरि डड़ेको मूलघरको घडेरीमा खरको धुरी कैंची मार्न
खरानी को थुप्रोबाट “फोनिक्स” बौराउन ,“कम्लिकेसन ग्याप” को उराठ लाग्दो घरको नमुनाहरू
दैलोमा उभिएर आगनमा हेर्दा
फुटेको गमलामा फूलेको चहकिलो गुलाफहरु
भत्केको दे वाल्” मा लत्रेको अविजाल, नागबेलीहरू
ओइलाऐ धेरै परमा-पैँचो तिर्ने खप्पिस हाथहरु
यही मुनि त थियौं
गाउँको विश्वासको रूख् “ठूलो बगेना”,
सबैले आस्थाको डुङ्गा मसिनो फ्याकी राख्थे बाटो माथि बाटै,
हरिनी बथान् का बथान् रातो हरियो दिउँसोको सुसेली हावामा झुरुप्पै बस्थे पहेंलो रानी चरालाई हेरेर,
राजनीतिको धमिराले भित्रैबाट खोक्रयाएर ढालेपछि
सबैले आफ्नो आफ्नो टुक्रा विश्वासको आङ सेक्न लगे देखि
हरिनीहरू विचकिएर बसाइँ सरे अलग्-अलग्
पानी साँसको पातमा छेल् लागेर रातो- हरियो,
पहेलोलाई मारेर।
“रंगुल” खोलामा
आँखा चिम्लेर बकुलाले धमिलो पानीमा बुदुना छामे झै,
भावनाहरूको तरल प्रवाहमा म विस्मृत घटनाहरू मनमा छाम्दछु
अहिले,
एक्लै,
आज
“यो चै यसको बारी है” सानुमा आमाले दिऐको सानो गराहको डिलमा बसेर।
गाँछ छपकाउँदा उठेको ठेला फुटेर ट्टाइरहेको मुटु
“माथिबाट आएर पल्लो गाउँमा छ्यापछ्याप्ती छ हरे”
को त्रास सुन्न आदि कान लिएर
दुङ सर र रररर दुङ् सर र र रररर
एल एम जी, एस एल अर,खदुवाको गोली रातमा माटोको मानचित्र नाप्न दौडेका आकास मुनि
सेताम्मे सुसुप्त त्रासित लासहरु ,
नपुरि राखेका सिमल तरुल , जरा खनेका आलो खाडलहरुमा ।
माटो जिल्लाएर सल्काएको गन्ध
ईलामेंको धुवाँ बारीमा रुमल्लिएर रातभरि
बाक्लिऐर बिहानी पख् ड्याम्मै चिसो कुइरो ।
मर्नु पर्छ, डढ्नु पर्छ , पल्टिनु पर्छ जड उत्तानो
मलिलो माटोमा,
तब त टसाउँछ जीवन कोमल
आहा विरिरी-
पञ्चमी पछिको पहिलो झरीमा बाउरिएको हरियो एकपाते
मकैको टुसा !
हामी दिनभरि अमराइट खेल्छौ, घेगेरानी,
गर्डेला पक्रिन्छौ खोलामा, घरमै बस्छौ बाँदर रुङन
लिखुरि दिउसोको हावाले तल स्कूलबाट ल्याएको सुन्छौं
मधुरो चहकिलो क- क , ख – ख ग घ ङ ।
अनि राति सुत्न जान्छौ बारीमा
जूनकीरी पहिल्याउँदै धिप्रि बालेर जूनको टह टह मा;
घरमाथिको कुठमेरोको रूखमा फक्रेको पुर्णेको जूनलाई आफ्नु आफ्नो गाउँबाट एक्लै उभिएर हेरेको छौ ?
छ्याङ्गै उज्यालोमा
स्याँ कराएको चिप् चिप्
अन्यासै देउता कराईहल्छ कि भन्ने मात्र डर
घर मुनिको पानी साँस्,
मन्द बतास, कान्ला भरि कुचो फूलेको अम्लिसोमा
चुइया,जुरेली,भँगेराको रातको बास् !
“ बसन्त जंगल को एक त्यान्द्रो आवेगले सायद मान्छेको नैतिक खराबीको अनि असलताको पाठ सन्तहरुले भन्दा बेसी पढाउन सक्छ”।***
यो आकासवाणी खरसाङ हो
अब भवानी शर्माबाट समाचार सुन्न होस्
“ बिगत् बर्ष २७ जुलाई कालेबुङमा सन्धि जलाउँदा पुलिस फायरिङमा शहिद भएका १३ जना.....”
“बाऊ चै के भाको नी , अहिले सब ले देख्छ हौ”। यहाँ सुतेको।
“ फ्याक्देन त्यसको ठाडा लाई”।
अव्यक्त गुम्सिएको भावहरु लादिएर
अमिलो नपसेको गुन्द्रुक मन आमाहरुको
पेट्रोलिङ गएको छोराहरूको याद
“ बिउ छर्” हैन “बिउ कुहियो” गर्दै चराको
बोलीमा जिस्किदाँ जिस्किँदै बारीमै निदाएको नानीहरू मध्ये एउटाले “ नाङ्ग्लो कुचियो” “ नाङ्ग्लो कुचियो
बिहानी पख चिच्याउँदै उठ्दा,
निन्द्रा मै आमाले भनेका थिइन् , “यो त लोदर हो” ।
आईतबारको बिहान, धेरै महिना पछि
गूदाममा रासिन दिने हल्ला
घमाइलो घाम ,
म्याक्सी कुखुराले ओथ्रा काडेको पहिलो छिमलको एक नाङ्ग्लो चल्ला
आमाले आगनमा नानीहरूलाई नाकको पाप्रा उक्याऊन राखिदिदा,
सपना देख्नेले
“देखिस् मेरो भोटे सपना” !
भनेकै दिन,
पानी साँसमा बसेका हरिनिहरु पलायन भए गाउँबाट रातोहरु हरियोहरु भएर
दिउसो घर डढेको धुवाँ पहिल्याउँदै ।
आहा !
कति वर्ष बिते “यो”माछाको कुप हेर्ने तृषणा
रात भरीको वर्षा पछि बिहानी संगलिएको पानीमा टल्किएको घाम
कति रहर लाग्दा थिए ति शान्त पौड “ग्रास्कापॅहरू”,
सेतो वर्की छिरबिरे म्याखला,
हप्ता भारी बिघा हिँडेर,
रातो सेतो रिबन लाएका खिति ति हाँस्ने कुरौटे ति “कापॅ” माछाहरू
माझ
हामी डरपोक चुलबुले अल्लारे
असाला
एक कुर देखि अर्को कुर।
अहिले -
सुकेर पानी
माछाको ढूङ्गाको कूर् माथि
“पानी कमला”
सडेको लेदो गनाउने फोस्के स्याप स्याप कालो डाठ हरुले जोगाएर
दुई झरिलो पातहरु बिच फागुनी हँसिलो पत्रदल फुलाएर
फेरि
झर्रो जिवन मौलाउने नविन
बाचा !
भ्यागुताले निर्वाणा पाऐर भ्याकुरा हुने यो ठाउँ
कसैलाई पानी नदिए मरेपछि चारैतिर रागैतै रगत् देखने चरा उ
काकुलिक त्यो नाउँ
सात् गाईको पाप् बराबर एक मौरी
कति अनरियल वास्तविक लाग्छ!
ए गाउँ !
कुनै साँझ धुवाँसे भान्छाघरमा
ठण्डाको ठिहिमा चुलामा वरिपरि बसेर आगो ताप्दै गर्दा
अगेना टिपेर बेडि झोस्दै ८६ सालको बोजुको चाउरिएको ओँठले
धुवाँको पछिल्तिरबाट मुन्द्री हल्लाएर भनेको सुनेको छु
"माटोले पनि रक्ती खान्छ”।
ए बाँझो बारी !
अब तिम्रो चाम्रो गराहाहरूमा जीवनको काटा फूकुसको मलिन् चोट् पर्ने छैन ,
खोम्ले, गोबर किराहरू ढाकर सँगै बसाइँ सरे मल बोक्न अन्यत्रै
आन्दोलन को आतंकले,
ए गाउँ !
तिम्रो झुप्रोहरुमा स्यालहरु बस्ने छन्,
कुखुराको खोरबाट मालसाँप्रो बास्ने छ, सिकुवामा बाँदर
अनि
तिम्रो रात्रिको जीवनको न्यानो सहबास बँदेलहरुले हच्काउने छ।
किन कि तिमीले आफ्नै छोराहरूको वध मागेको छौ !
भावी पिडिको ऊर्जा नपुसंग वीर्य स्खलित बिछ्यौनामा
तिम्रो कुमारी छोरीहरूको उर्वर गर्भमा अरूलेनै विजारोपण् गर्नेछन्,
किनकि तिम्रै छातीमा खाली खुट्टै कुदेर
क्यातिस् खेल्दै गर्दा हाथमा खदुवा दिएर अल्लारेहरुको
बलि मागेको छौ।
अस्तित्वको गीतको रेकर्ड धेरै अघि “स्क्र्याच्” भैसकेको छ,
संगीत र धुन उडेर शब्दहरुको
खोक्रो खोल
सिँगाने कीराले छाडे झै अर्थहिन लडी रहेछ भुइँमा बिस्तारै मक्किन्दै
“एन्टिक ग्रमोफोनहरु” गाउँछ कुनैं समयको “पपुलर संग” को प्रतिछायाँ हरेक बजारको गितंगे डाँडाबाट
नाच्दै छ लाटाहरू शहीदको लास् बोकेको बाटोभरि
लचक् लचक् लच्किएर
“फामादीहानाको उत्सव” मनाउँदै “मादागास्करको” डाँडा भरि अस्मिताको गाड़ेको लासहरुलाई नयाँ सिँगारेर
चिनारीको घरि घरिको झंकार
पहाड़े घूमाउने झार् !
म जन्मेको यो माटो
म सँगै बड़ेको आरूको बोट,
खस्रे , अम्बक , क्यामुना , किम्बु को
रुख मुनि हुर्केका मेरो अनुभव, स्मरण
स्मृति सबै डढेर भुईमा छताछुल्ल
छिमोलेको टाउको फुटबल् खेलेका रक्तम्बे गम्वूट्हरु!
चान् खेलेको केटाहरूको क्रन्दन गुञ्जेका धूपीहरू !
शिर् नभेटेर छातीमा दागबत्ति थापेका सालिगहरू!
गाँउको बिचमा शताव्दि देखि जरा गाड़ेर ‘क्यासान्द्रा ‘ बर् !
मेरो इष्ट- मित्र, आफन्त-शत्रु, बोक्सि-झाँक्री, डङकिनि,
कुल् मानेर पालेका प्रेतात्माहरु !
म त्यही पोखिएको स्मृति बटुलेर
डोकोमा टिप्न आएको हुँ।
आन्दोलनमा घर छाडेर भाग्दा
आमाले बारीमा गाडेर लुकाएको “काँसको भाँडाहरु”
पल्लो गाउँको “जिम्बा बड़ाको ” घरको सोकेशमा सजिएको देख्न आएको हुँ ।
अहिले मासिनो नानीहरू हाँस्दा यो गाउँ कस्ताे हाँस्छ
त्यो सुन्न आएको हुँ।
फेरि एकपल्ट हेर्न आएको हुँ।
' काँसका भाँडाहरू '
● प्रणय शंकर
रंगबुल गोर्खा बस्ती
हाल:: मिरिक ।