20/12/2024
विद्या ज्योति अंग्रेजी विद्यालय बिजनबारीद्वारा स्थापना दिवस पालन
बिजनबारी: डाक्टर सर्वपल्ली राधाकृष्णन ट्रस्ट पुलबजार-बिजनबारीद्वारा संचालित बिजनबारी भेगको मान्यताप्राप्त एकमात्र सीबीएससी सञ्चालित उच्च माध्यमिक विद्यालय विद्या ज्योति अकादमीले भव्य कार्यक्रमको साथमा स्थापनाको 34 औं बर्षगाँठ भव्यताका साथ पालन गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सम्पुर्ण सदस्यगण, विद्यालयका ट्रस्टी, अविभावक, विद्यार्थी एवम् वरिपरिको विभिन्न शैक्षिक संस्थान तथा संघसंस्थाका प्रतिनिधिहरूसंगै सर्वसाधारणको विषेश उपस्थिति थियोे। विभिन्न तहका विद्यार्थीहरू विविध सांस्कृतिक प्रस्तुतिहरुको साथमा आयोजित कार्यक्रममा सञ्चालन समितिका सदस्यहरू विद्यालयको हालसम्मका प्रगति तथा विद्यालयले गरेको संघर्षबारेमा उपस्थित सबैलाई अवगत गराएका थिए। यसका साथै विद्यालयको मुख्य उदेश्य ग्रामीण भेगका सर्वसाधारणको बालबालिकाहरूलाई उत्कृष्ट तथा उच्चकोटीको शिक्षासंगै विविध विधामा अघि लैजाने विद्यालयको प्रमुख लक्ष्य रहेको विद्यालयका प्राचार्य अरूण चौलागाईंले बताए भने आफूहरूले विद्यालयलाई यहाँसम्म ल्याउन धेरै कसरत गरेको जनाउदै उनले अझ भने हाम्रो विद्यालयलाई जिल्लास्तरमा मात्रै नभएर राज्यस्तरमा पनि अब्बल बनाउने लक्ष्य रहेको छ जसको निम्ति विद्यालय सदैव तल्लीन रहने छ।
अर्कोतिर कार्यक्रममा विद्यालयलाई शुरूदेखि नै सञ्चालन गर्नमा मजबुत आधारको रूपमा सहयोग गरेको भन्दै विद्यालयले सम्पूर्ण ट्रस्टी सदस्यहरूलाई सम्मान गरेको छ। यसैगरी पठनपाठन संगै विभिन्न विधामा बर्षभरमा अब्बल दर्जामा आउने विद्यार्थीहरूलाई विद्यालयले पुरस्कृत गरेको छ।
याद रहोस् विद्या ज्योती अंग्रेजी विद्यालय ट्रस्टद्वारा सञ्चालित विद्यालय हो भने यसले विगत धेरै सालदेखि माध्यमिक तथा उच्च माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउदै क्षेत्रमा नाम रोशन पारेको छ। यसका साथै पठनपाठन संगसंगै यस विद्यालयमा एनसीसी ब्रास ब्याण्ड पाइप ब्याण्ड लगायतको विविध गतिविधिमुलक कक्षाहरू हुने गर्द्छ।