08/11/2025
हाम्रो जमानाका चिसो मौसमका दिनहरु। ढुङ्गा,माटोका घर।चिटिक्क परेको साँनो अगेनो।अगेनोको छेउमा माटोले बनेको गुन्द्री ओछ्याईएको जस्लाई हामी चाँहि मूल ओछ्यान भन्ने गर्थ्यौ।रेडियो त थियो।तर,टिभी निकै पछि आयो।रेडियो पनि सबै नेपालीको पहुँचमा थिएन।त्यतिबेला ग्रामीण भेगका आम नेपालीका परिवार साँझ परेपछि ६-७ बजे भित्र आ-आफ्नो कामबाट घर फर्किसकेका हुन्थे।
जाडो मौसममा चुल्होमा खाना पाक्दै पनि हुन्थ्यो।अगेनामा मज्जाले दाउला बलिरहेको हुन्थ्यो।हिटर र एसी थिएन।एसी त अहिले पनि छैन।अगेनामा घरका सबै सदस्य सँगै बसेर आगो ताप्दै दुःख सुखका कुरा गरिन्थ्यो।घर-व्यवहारका सल्लाह हुन्थे।सबैको मन एकै ठाउँमा हुन्थ्यो।अहिले जस्तो हात-हातमा मोबाइल अनि आ-आफ्नो कोठा-कोठामा व्यस्त भईने थिएन।अहिले जस्तो एउटै घरमा बस्ने एकै परिवारका सदस्यको अनुहार देख्न गार्र्हो पनि पर्ने थिएन।आजभोली त घर-भित्र पनि फोन र एसएमएसको माध्यमबाट कुरा गर्नपर्ने बाध्यता छ।एउटा कोठाबाट अर्को कोठा नै परदेश समान भएको छ।
त्यो बेला हामीबाट आधुनिकता निकै टाढा थियो।विलासी चीजहरु हामीसँग हुने थिएन।रेडियो नेपाल नै सबथोक थियो।कालजयी गीत पनि सुनाउँथ्यो र समाचार पनि भन्थ्यो।देश-विदेशका खबर अनि घटनाहरु थाहा पाईन्थ्यो।
हजुरबा,हजुरआमा देखि नाती-नातिनासम्म अगेना वरिपरि अटाउँने माया र स्नेह महसूश गराउँने त्यो समय हाम्रा लागि बहूतै मूल्यवान समय थियो।
सबैकुरा कति छिट्टै सक्कियो।कति छिटो बा-आमाको स्वर्गबास भयो।हामी पनि अब बुढेशकालतिर जाँदै छौं।पुराना घर छैनन्,पुराना दिन छैनन्,बाआमा छैनन् र हाम्रो जमानाका जस्ता स्नेही मनहरु पनि मुर्दा समान भएका छन्।अब केवल बाँकी सम्झना मात्र…