31/12/2024
पोखरेली गजलप्रेमी समूह, पोखरा
गजल घोषणापत्र–२०८१
सिर्जनधर्मिता र रचनात्मक वादविवाद एवम् संवादले साहित्य समृद्ध बन्छ। केही समययता सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा नेपाली गजलको सहअस्तित्वयुक्त विकासक्रमलाई प्रहार गरी अराजकता सिर्जना गर्ने, अशिष्ट भाषाशैलीमा भिन्न मतका गजलकारहरूलाई होच्याई आफूलाई ‘गजलको आधिकारिक पण्डित हुँ’ भनी ठान्ने र गजल लेखनमा लागेकाहरूलाई भ्रमित पारी निहीत स्वार्थ सिद्ध गर्न खोज्ने थोरै सङ्ख्याका व्यक्तिहरूले गजल शुद्धीकरणका नाममा गालीगलौज गरिरहेको देखिएको हुनाले सबैलाई सचेत र सजग पार्न हामी पोखरेली गजलप्रेमीहरूको समूहले गजलसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरी बुँदागत रूपमा यो गजल घोषणापत्र–२०८१ जारी गरेका छौँ।
१. नेपाली साहित्यको कवितामा लोक छन्द, शास्त्रीय छन्दोबद्ध कविता लेखन परम्परा झैँ नेपाली गजलमा बहरबद्ध गजल लेखन परम्पराको संरक्षण र विकास हुनुपर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
२. तिसको दशकदेखि नेपाली गजल लेखनमा भित्रिएको स्वतन्त्र लयविधानयुक्त गजल लेखनको नवीन परम्परा, जसले सुस्ताएको गजल लेखनलाई पुनरुत्थान गरी यस अवस्थासम्म ल्याइपुर्याउन ठुलो भूमिका खेलेको छ, जुन अहिले नेपाली गजलकारहरूबिच लोकप्रिय रहेको छ, को निरन्तर विकास हुनुपर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
३. नवीन शिल्पशैली, विषय र चिन्तनहरू भित्रिरहनुले साहित्यलाई स्वस्थ र समृद्ध बनाउँछन्। प्राचीन छन्दहरूको लयविधानबाट मुक्त भई विश्वव्यापी रूपमा गद्य कविताको विकास भए झैँ गजलको बहर अर्थात् प्राचीन लयविधानबाट मुक्त भई स्वतन्त्र लयविधानयुक्त गजलको विकास हुनु एक स्वाभाविक विकास प्रक्रिया हो भन्ने कुरामा हामी विश्वस्त छौँ।
४. केही व्यक्तिहरूले नेपाली गजल लेखनमा अनावश्यक विवाद उत्पन्न गरी, अराजकताको सिर्जना गरी गजललाई शुद्ध पार्ने नाममा आफ्नो स्वार्थ सिद्ध गर्दै बहरमा नलेखिएका सबै गजल गजल नभई त्यस्ता गजललाई अनेकौँ ‘हास्यास्पद नाम’ दिई हावादारी सिद्धान्तकार बन्ने र नेपाली गजलको स्वाभाविक विकास प्रक्रियालाई विभाजन गरी विशेष गरी नवोदित गजलकारहरूलाई दिग्भ्रमित पारिहेका छन्। हामी यसको घोर भत्र्सना गर्दछौँ। स्वतन्त्र रूपले गजल रचना गर्ने विश्वभरका नेपाली गजलकारहरूलाई आफूले लेखेको स्वतन्त्र लयविधानका गजललाई गजल नभई ‘अरू नै केही’ रहेछ भनी भ्रममा नपर्न आग्रह गर्दछौँ।
५. छन्दमा नलेखी कविता हुँदैनथ्यो भने छन्दका महासाधक महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले गद्य शैलीमा फुटकर कविता, खण्डकाव्य, महाकाव्य रचना गर्ने थिएनन्। बहर पनि गजल लेखनको प्राचीन छन्द हो त्यसैले स्वतन्त्र रूपले गजल रचना गर्नु गद्य शैलीमा स्वतन्त्र रूपले कविता रचना गर्नु जस्तै एक स्वाभाविक विकास प्रक्रिया हो भन्ने कुरामा हामी विश्वस्त छौँ। प्राचीन शास्त्रीय परम्परा मात्र ठिक र अरू बेठिक भन्ने सोच राखिएको भए विश्व साहित्य र नेपाली साहित्यमा गद्य कविता, आधुनिक नाटक, कथा, उपन्यास, निबन्ध कुनै पनि विधा जन्मने थिएनन् भन्ने यथार्थमा सबै साहित्यकार र विशेष गरी गजलकारहरूको ध्यान आकृष्ट गर्दछौँ।
६. शास्त्रीय बहर र स्वनिर्मित÷स्वतन्त्र लयविधान दुवै शैलीमा लेखिएका गजललाई उत्तिकै सम्मान गर्नुपर्छ र ती दुवै शैलीका गजलका आआफ्ना अस्तित्व र महत्ता छन् भन्ने कुरामा हामी विश्वास गर्दछौँ।
७. यदि गजलका धेरै तत्त्वमध्ये एउटा तत्त्व ‘बहर’ प्रयोग नगरी गजल गजल बन्दैन भन्ने हो भने गजलका रदिफ, काफिया, मतला, मकता, मिसरा, सेर आदि अर्थात् गजलका अधिकांश तत्त्वहरू प्रयोग गरेर लेखिएका रचना कथित ‘नयाँ विधा’ कसरी बन्न सक्छ ? बहर र गैरबहरका नाममा लगाइने आक्षेप, गालीगलौज र आरोपप्रत्यारोपलाई तिलाञ्जली दिँदै नेपाली गजलको समुन्नतिको मार्गमा सहअस्तित्वमूलक ढङ्गले हामी सबै लागौँ र नेपाली गजलको इतिहासलाई कुरूप पार्ने, धमिल्याउने र विभाजित पार्ने तत्त्वहरूदेखि सावधान हुन हामी अपिल गर्दछौँ।
Source : Thahakhabar.com