01/01/2024
धन्यवाद सामुदायिक रेडियो माडी 107.6Mhz
बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पश्चिम चितवन जिल्ला समितिको बैठकको निर्णय सार्वजनिक ।
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पश्चिम चितवन जिल्ला समितिको बैठकको निर्णय सार्वजनिक गरिएको छ। आज जिल्ला इन्चार्ज दिनेश सी र सेक्रेटरी अटल सीले एक वक्तव्य जारी गर्दै निर्णय सार्वजनिक गर्नु भएको हो । सेक्रेटरी अटल सीको अध्यक्षता एवं नेकपाका स्थायी समिति सदस्य अनिल सी, पोलिटब्युरो सदस्य तथा पश्चिम् नारायणी ब्यूरो इन्चार्ज एटम सी, पोलिटब्युरो सदस्य तथा केन्द्रीय उत्पादन शाखा माडिका प्रमुख सन्देश सी, नेकपा पश्चिम् जिल्ला इन्चार्ज दिनेश सी र केन्द्रीय उत्पादन शाखा माडी शाखा सेक्रेटरी क्रान्ती सीको बिशेष उपस्थितिमा सम्पन्न बैठकले नेकपाका महासचिव, प्रवक्ता लगायतका नेतृत्वहरु माथि जारी गरिएको पक्राउ पुर्जीको घोर भ्रत्सना गर्दै उक्त पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेको छ।
एमसीसी लगायतका सबै राष्ट्रघाती सम्झौताहरु खारेजी गर्न ,बैंकको ब्याज न्युनतम १ अंकमा कायम गर्न , लघुवित्तलाई नियमन र मिटरव्याजीलाई कारबाही गर्न जोडदार माग गरेको छ । बैठकले अहिलेको वर्तमान राजनीतिक परिस्थिति र यसको निकासबारे भरतपुर र माडिका सबै वार्डहरुमा मजदुर किसान, सुकुम्बासी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी र सबै राजनीतिक पार्टीहरूसंग अन्तरक्रीया गर्ने , चितवन राष्ट्रिय निकुञ्ज भित्रको माडी -जगतपुर सडकखण्डलाई पक्की बाटो निर्माणको लागि पहल अगाडी बढाउने निर्णय गरेको छ ।
नमुना कार्य अन्तरगत विद्यार्थी तथा बाम आन्दोलनमा अतुलनिय योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै शहिद मित्रमणी आचार्य प्रति उच्च सम्मान प्रकट गर्दै शालिक सहितको सहितको बहुउद्देश्यीय मित्रमणी पार्क निर्माण गर्ने र माडीमा एउटा समाज भवन निर्माण गर्ने निर्णय गरेको छ।
पश्चिम चितवन र माडीमा क्रमशः बढ्दै गयको कृषि उत्पादनलाई मध्यनजर गरि विदेशबाट आयातित अवैध तरकारी तथा खाद्यान्न रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने, सुकुम्बासीलाई लालपुर्जा दिने कार्य र भुमिहिनहरुलाई जमिन उपलब्ध गराउन राज्यसँग जोडदार माग गर्ने र सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरि संघर्षको उठान गर्ने निर्णय भएको आज प्रकाशित वक्तव्यमा जनाइएको छ ।