15/12/2023
https://ekantipur.com/news/2023/12/15/seva-lamsal-was-the-first-female-foreign-secretary-41-35.html
शासन सेवाबाट कर्मचारीतन्त्रको यात्रा थालेको २५ वर्षमा अर्को सफलता
नेपालको असंलग्न परराष्ट्र नीति, छिमेक सम्बन्ध र अन्य मुलुकसँगको सम्बन्धलाई लम्सालले कसरी बढाउलिन्, सबैको नजर रहनेछ
काठमाडौँ — कूटनीतिज्ञ सेवा लम्सालले चाहेको भए उनी अहिले दोस्रो पटक कुनै देशको राजदूत भइसक्थिन् । परराष्ट्र सचिवहरू पदमा बहाल रहेकै अवस्थामा राजदूत हुन हानथाप गरिरहेका बेला सहसचिव लम्साललाई कुनै एक मुलुकको राजदूत भएर जानु ठूलो विषय थिएन ।
सेवा लम्साल पहिलो महिला परराष्ट्र सचिव
तर, पाकिस्तानका लागि नेपाली राजदूत बनेर सन् २०२० मा फर्केपछि उनी मन्त्रालयमै बसिन् । संयुक्त राष्ट्रसंघ हेर्ने महत्त्वपूर्ण महाशाखाको नेतृत्व गरिन् भने मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि लिइन् ।
मंसिर १९ मा पररराष्ट्र सचिव भरतराज पौड्यालले अवकाश पाएपछि मन्त्रालयको कार्यवाहक सचिव बनेकी लम्साललाई मन्त्रिपरिषद्को बिहीबारको बैठकले सचिव बढुवा गर्ने निर्णय गर्यो । योसँगै परराष्ट्र मन्त्रालयको इतिहासमा पहिलो परराष्ट्र महिला सचिव बन्न सफल भइन् । उनी परराष्ट्र मन्त्रालयकी २५ औं सचिव भएकी छन् । नेपालका पहिलो परराष्ट्र सचिवका रूपमा सन् १९४८ मा प्रा. सरदार नरेन्द्रमणि आचार्य दीक्षित भएका थिए । नेपालमा पहिलो महिला सचिव भने चन्द्रकला किरण हुन् । उनीसहित हालसम्म नेपालमा २० महिला सचिव भइसके । लम्सालले भने करिब २५ वर्षे कर्मचारीतन्त्रको यात्रामा परराष्ट्र सचिव बन्दै नयाँ फड्को मारेकी हुन् ।
पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल परराष्ट्र सेवामा महिला सचिव ल्याउनु राम्रो सुरुआत भएको बताउँछिन् । सहाना प्रधान र सुजाता कोइरालापछि तेस्रो महिला परराष्ट्रमन्त्री बनेकी पौड्यालले अन्य सेवामा मात्र नभई परराष्ट्र, रक्षा, अर्थ र गृहजस्ता क्षेत्रमा पनि महिला नेतृत्वको विश्वास बढ्दै गइरहेको बताइन् । ‘उहाँ एकदम सक्षम व्यक्ति हुनुहुन्छ । यो परराष्ट्र क्षेत्रमा क्रमभंगता भएको छ । अब रक्षा, गृह र अर्थमा पनि महिलालाई नेतृत्व दिनुपर्छ,’ उनले भनिन्, ‘परराष्ट्रबाट यो राम्रो सुरुआत भएको छ । यसले अरू महिलालाई पनि प्रेरणा मिल्छ । मुख्य–सचिव अहिलेसम्म महिला भएका छैनन् । त्यो पनि तोडिनुपर्छ ।’ उनले पुरुष र महिला जे भए पनि क्षमता छ भने लैंगिक आधारमा भेदभाव गर्न नहुने बताइन् ।
सन् २०१६ मा राजदूत हुँदा लम्साल परराष्ट्र सेवाबाटै उक्त पदमा पुग्ने तेस्रो महिला थिइन् । २०४४ सालमा परराष्ट्र सेवाबाटै विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदूत (भारतका लागि) भएकी हुन् । त्यसपछि परराष्ट्रकै अर्की कूटनीतिज्ञ अम्बिकादेवी लुइँटेल मानन्धर सन् २०१५ मा फ्रान्सका लागि राजदूत भइन् ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा नै त्यस बेला परराष्ट्र मामिला हेर्नका लागि जैसी कोठा स्थापना गरेका थिए । पछि त्यो मुन्सीखाना हुँदै विदेश विभागमा आइपुग्यो । त्यसपछि परराष्ट्र मन्त्रालयका रूपमा स्थापना भएको थियो । परराष्ट्र मन्त्रालयको लामो इतिहासमा सचिव बनेकी लम्सालले आफ्नो कर्मचारीतन्त्रको यात्रा भने प्रशासन सेवाबाट सुरुआत गरेकी हुन् । भोजपुर दिङ्लाकी लम्साल सन् १९९८ मा शाखा अधिकृत भएकी थिइन् । सन् २०१० मा परराष्ट्र सेवामा उपसचिवमा प्रवेश गरेकी उनी एक वर्षपछि नै सहसचिव भइन् । उनीसँग महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयदेखि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग तथा पाकिस्तानका लागि राजदूत भएर काम गरेको अनुभव छ ।
स्पेनका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले परराष्ट्र मन्त्रालयमा महिला नेतृत्व आवश्यक रहेको बताइन् । ‘अहिले हाम्रो मन्त्रालयमा धेरै युवा कूटनीतिज्ञ छन् । महिला नेतृत्व नै पाउँदा अझ राम्रो भएको छ,’ उनले भनिन्, ‘हामी पारम्परिक समाजबाट अहिलेको समाजमा आएका छौं । पहिले–पहिले जुन हिसाबमा लैंगिक भेदभाव हुन्थ्यो, अब क्षमताको हिसाबमा काम हुन थालेको छ । उहाँ (लम्साल) ले महिलालाई मात्र होइन, सबैलाई मिलाएर नेतृत्व गर्नु हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।’
नेपालमा बढ्दो ठूला शक्तिहरूको चासो र आन्तरिक राजनीतिलाई विदेश सम्बन्धमा जोड्ने राजनीतिक दलहरूको परिपाटीका कारण सचिवको जिम्मेवारी सम्हाल्न लागेकी लम्साललाई आगामी बाटो भने सहज छैन । नेपालको असंलग्न परराष्ट्र नीति, छिमेक सम्बन्ध र अन्य मुलुकसँगको सम्बन्धलाई द्विपक्षीय र बहुपक्षीय कूटनीतिमा दक्खल राख्ने लम्सालले कसरी बढाउलिन्, सबैको नजर रहनेछ ।
कूटनीतिज्ञ सेवा लम्सालले चाहेको भए उनी अहिले दोस्रो पटक कुनै देशको राजदूत भइसक्थिन् । परराष्ट्र सचिवहरू पदमा ब.....