30/05/2023
नेपाली समाजमा आज पनि सहज रुपमा महिलाहरु चुलोचौकोभन्दा बाहिर निस्कन सहज छैन । सुदूरपश्चिममा यो समस्या अझ चर्को छ । तर त्यही भूगोलबाट साइपाल हिमाललाई ऐनाजस्तै हेरेर हुर्केकी २६ वर्षीया युवती संगीता रोकायाले सगरमाथाको चुचुरो चुमेकी छन् । साँझ बिहानको गाँसबासमै रुमल्लिएको समाजमा हिमशिखर चढ्ने कुरा समाजले पत्याएको पनि थिएन। र पनि संगीताले सगरमाथाको चुचुरोमा पुगेर सिंगो मुलुकलाई भनेकी छन्- हामी महिला पुरुषभन्दा कुनै काममा कम छैनौं । साइपाल गाउँपालिका–४, धुली, बझाङकी संगीताले जेठ ३ गते यस धर्तीकै सबैभन्दा अग्लो ठाउँ पुगेर आफ्नो साहसको परिचय मात्र दिएकी छैनन्, समाज र राज्यलाई आफ्नो दृष्टि बदल्न जबरजस्त सन्देश पनि प्रवाह गरेकी छन्।