27/12/2025
पेट्रोल छर्केर चेलीको हत्या प्रकरणः सासु–नन्दमात्र होइन, श्रीमानको भूमिकामाथि पनि गहिरिँदै शंका
(नाम/ठेगाना गोप्य राखिएको)
स्थानीयका अनुसार श्रीमानले सम्बन्ध विच्छेदको दबाब दिँदै आएको खुलासा
• घरायसी तनाव र पारिवारिक विवादले जघन्य अपराधको रूप लिएको आशंका
• निष्पक्ष छानबिनका लागि श्रीमानलाई नेपाल झिकाउनुपर्ने माग
• पीडित परिवार र स्थानीयको न्यायको बुलन्द आवाज
• “सत्य कहिल्यै मर्दैन” भन्दै दोषीमाथि कडा कारबाहीको माग
• मिडिया, नागरिक समाज र राज्य संयन्त्रलाई निष्पक्ष अनुसन्धानको आव्हान
एक चेलीमाथि पेट्रोल छर्केर जिउँदै जलाएर हत्या गरिएको घटनाले देशभर स्तब्ध बनाएको छ। यो अमानवीय घटनामा सासु र नन्दको संलग्नता रहेको आरोप लागिरहेकै बेला, मृतक चेलीका श्रीमानको भूमिकामाथि समेत गम्भीर प्रश्न उठ्न थालेका छन्।
घटना हुँदा मृतकका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका थिए। पत्नीको दर्दनाक मृत्यु भएपछि समेत उनी तत्काल नेपाल नफर्किनु थप शंकाको विषय बनेको स्थानीयवासीहरूको भनाइ छ। पीडित पक्ष र स्थानीयवासीहरूले घटनाको निष्पक्ष छानबिनका लागि श्रीमानलाई नेपाल झिकाएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।
सम्बन्ध विच्छेदको दबाब ?
स्थानीय स्रोतका अनुसार मृतक चेलीमाथि उनका श्रीमानले लामो समयदेखि सम्बन्ध विच्छेद (डिभोर्स) गर्न दबाब दिँदै आएको आरोप छ। तर चेलीले सम्बन्ध तोड्न अस्वीकार गरेपछि घरायसी तनाव चुलिँदै गएको बताइएको छ। यही पारिवारिक विवाद अन्ततः जघन्य हत्यामा परिणत भएको हुन सक्ने आशंका गरिएको छ।
निष्पक्ष छानबिनको माग
घटनामा सासु र नन्दमात्र होइन, अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंकाबीच पीडित परिवारले निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेका छन्। उनीहरूका अनुसार सत्य तथ्य बाहिर ल्याउन सबै सम्भावित कोणबाट छानबिन हुन आवश्यक छ।
न्यायका लागि बुलन्द आवाज
यस जघन्य घटनाप्रति सामाजिक सञ्जाल, नागरिक समाज र मानवअधिकारकर्मीहरूले गम्भीर चासो व्यक्त गरेका छन्। “सत्य कहिल्यै मर्दैन” भन्दै दोषी जोसुकै भए पनि कडा कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।
पीडित परिवारले न्यायका लागि आवाज उठाइदिन मिडियाकर्मी, नागरिक समाज र सरोकारवालाहरूलाई एकजुट हुन आव्हान गरेका छन्। राज्यले निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउने विश्वास दिलाउनुपर्ने उनीहरूको माग छ।