10/06/2023
तुलसीपुर उपमहानगरपालिकामा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुँदै
तुलसीपुर,२७ जेष्ठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुट्टीमा भएको दादुरा रुबेला खोप अभियान सञ्चालन सम्बन्धि पालिका खोप समन्वय समिति तुलसीपुर,संचारकर्मी र सरोकारवालाहरुसँग भएको अभिमुखिकरण कार्यक्रममा खोप अभियान बारे जानकारी गराईएको हो । यहि जेठ ३१ गतेदेखि अषाढ ८ गते सम्म सञ्चालन हुन लागेको उक्त खोप अभियानमा पालिकाका १९ वटै वडाका ६ महिना देखि १५ वर्ष मुनिका बालबालिका हरुलाई खोप लगाउन लागेको जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरलाई उदृत गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउ नगर स्वास्थ्य केन्द्र र प्रतापकाेट नगर स्वास्थ केन्द्रले जानकारी दिएको छ ।
‘खोज र खोप’ भन्ने नाराका साथ तुलसीपुर उपमहानगरपालिका भित्रका ५२ हजार ९ सय २५ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य पालिकाले लिएको छ । त्यसका लागी २ सय २१ वटा खोप केन्द्रबाट दादुरा रुबेला विरुद्धको खोप लगाईने भएको छ भने उक्त खोप अभियान सञ्चालनका लागी ४ सय ३६ जना खोपकर्ता र ४ सय ३६ जना स्वंयसेविका परिचालन हुन लागेको शाखाले जनाएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का वडा अध्यक्ष वीर बहादुर बि.क. (बिजय) ले आफुलाई पायक पर्ने केन्द्रमा लगेर आफ्ना बालबच्चालाई नछुटाएर खोप लगाउन र खोप अभियान सफल बनाउनका लागि सबैले सहयोग गर्न कमेत आग्रह गरेकाथिए ।
अहिले देशका विभिन्न जिल्लाहरुमा, जस्तै दाङ जिल्लामा पनि दादुरा महामारी देखिएको छ। दादुरा रोग निकै छिटो सर्ने सरूवा रोग भएकोले यो रोग अत्यन्त संक्रामक रहेको र विषेश गरि ५ वर्ष मुनिका बालबालिकालाई यो रोग छिटो सर्ने जोखिम भएको र यसले निमोनिया, झाडापखाला, कुपोषण जस्ता कारणले विरामीको ज्यान समेत जान सक्ने भएकोले सो जोखिम न्युनिकरण गर्न खोप कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नु परेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का वडा अध्यक्ष वीर बहादुर बि.क. (बिजय) लेबताएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का वडा अध्यक्ष वीर बहादुर बि.क. (बिजय) काे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा विभिन्न सम्बन्धित सराेकारवाला निकायहरु, स्वास्थ्यकर्मी , सुरक्षा निकाय, पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे । रानागाउ नगर स्वास्थ केन्द्र रानागाउका प्रमुख जीवन खड्काले कार्यक्रमकाे विषय बस्तु माथी प्रकाश पार्नुभएकाे कार्यक्रमकाे सहजीकरण प्रतापकाेट नगर स्वास्थ्य केन्द्र प्रतापकाेटका प्रमुख वसन्त वलीले गरेका थिए ।