23/06/2023
प्रेरणा/अभिप्रेरणा: अत्यन्तै सफल नेपाली महिला उद्यमीहरु:
देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन तापनि पाँचतारे होटेल चलाउनेदेखि लिएर विस्वस्तरिय प्रिमियम ब्रान्ड हाँक्नेसम्मका उद्यममा चम्केका थुप्रै नेपाली महिला छन । उनीहरुमध्ये कतिपय बिभिन्न विकसित देश छाडेर नेपाल फर्कने पनि छन । यसरी चम्कनेमा युवा महिलादेखि वृद्धासम्म छन ।
तीमध्ये एक हुन ज्योत्सना श्रेष्ठ । मेरिगोल्ड सयपत्री ज्वेलर्सकी प्रोपाइटर ज्योत्सना श्रेष्ठ रत्न, आभूषण तथा सुनचाँदी व्यवसायमा आवद्ध छिन् । उनी सञ्चालक रहेको गरगहना शोरुमहरु काठमाडौंको न्यूरोड र दरबारमार्ग जस्ता ठाउँहरुमा छन । रत्न, आभूषण तथा गरगहना उनको पुख्र्यौली व्यवसाय हो र उनी यस्मा आबद्ध भएको करिब तीन दशक भएको छ । ज्योत्सना पर्यटन व्यवसायमा पनि प्रवेश गर्दैछिन र झापामा पाँचतारे होटेल सञ्चालन गर्दैछिन ।
नूरप्रताप राणाले स्थापित गरेको गोल्डस्टारको बिजनेसमा बुहारी विदुषी राणा सक्रिय छिन । ६ वर्षजति कुमारी बैंकको मार्केटिङ म्यानेजर बनेकी उनले पछिल्लो पाँच वर्षदेखि गोल्डस्टारको ब्रान्डिङ र मार्केटिङ हेर्दै आएकी छिन । गोल्डस्टारले सातै महादेशमा आफ्नो ब्यापार बिस्तार गर्ने र हालसम्म कुन कुन देशमा पुगिसकेको बारेमा १७ अक्टोबर, २०२१ मा मेरो यही पेजमा बिस्तारमा लेखिसकेको छु । उनीहरूको युनिभर्सल ग्रुप अफ कम्पनीभित्र कुमारी बैंक, गोल्डस्टार, हात्तीछाप चप्पल, त्रिशूल ग्यास, युनिभर्सल फर्मास्युटिकल्स छन ।
नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्णको कार्यकारी निर्देशक हुन सिर्जना राणा । १३ वर्षदेखि श्रीमान कपिल राणालाई सघाउँदै होटेल व्यवस्थापनमा सक्रिय उन्ले पोखराको फेवाताल किनारमा ‘फिस्टेल लज’ र चितवनमा ‘जगतपुर लज’ समेत सञ्चालन गरिरहेकी छिन । उनी होटेल संघ नेपाल (हान)को वरिष्ठ उपाध्यक्ष पनि हुन ।
उद्यमी वसन्त चौधरीकी एक मात्र छोरी हुन्, मेघा चौधरी । अहिले नर्भिक इन्टरनेसनल हस्पिटल मेघाकै काँधमा छ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिइरहेको नर्भिकमा नेपालका हाइप्रोफाइल बिरामी पुग्छन् । नर्भिकलाई मुलुककै पहिलो नम्बरको हस्पिटल बनाइराख्न मेघा खटिइरहेकी छिन ।
यस किसिमका प्रेरणादायी र उदाहरणिय महिलाहरुको संख्या उल्लेखनिय रुपमा बढीराखेको छ र अझै होस भन्ने शुभकामना!