05/09/2024
पुँजीवादी अर्थव्यवस्था भनेको के हो ? यस व्यवस्थाका प्रमुख विशेषताहरू उल्लेख गर्दै सबल पक्ष र दुर्बल पक्षहरू चर्चा गर्नुहोस् ।
अर्थतन्त्रमा उत्पादनका साधन माथि निजी स्वामित्व र नियन्त्रण रहने अर्थव्यवस्थालाई पुँजीवादी अर्थव्यवस्था भनिन्छ । यस व्यवस्थामा राज्यको हस्तक्षेप न्यून रहन्छ । आर्थिक क्रियाकलाप राज्य निर्देशित नभई बजारद्वारा निर्देशित हुन्छन् । कहाँ लगानी गर्ने, कुन क्षेत्रमा लगानी गर्ने, कहिले लगानी गर्ने, के उत्पादन गर्ने, कहाँ बिक्री गर्ने जस्ता विषयको निर्णयकर्ता स्वयम् उत्पादकहरू नै हुन्छन् । व्यक्तिहरू आफ्नो इच्छाबमोजिमको पेसा व्यवसाय गर्न, नाफा कमाउन र व्यक्तिगत सम्पत्ति जोड जम्मा गर्न स्वतन्त्र रहन्छन् ।
पुँजीवादी अर्थव्यवस्थाका आधारभूत विशेषताहरू :
– निजी सम्पत्तिको कानुनी सुरक्षा,
– व्यक्तिको सम्पत्ति सन्तानमा हस्तान्तरण हुने व्यवस्था,
– नाफा आर्जन गर्ने उद्देश्यले निजी फर्म तथा उद्योगहरूको स्थापना र सञ्चालन,
– फर्महरूबिच तीव्र प्रतिस्पर्धा,
– माग र आपूर्तिका आधारमा बजारमा आर्थिक गतिविधि सञ्चालन,
– उपभोक्तालाई छनोटको स्वतन्त्रता,
– सरकारको सीमित हस्तक्षेप ।
क) सबल पक्षहरू :
– नाफा र प्रतिस्पर्धाका कारण उद्यमशीलता प्रवर्धन हुने,
– उपलब्ध स्रोत साधनको महत्तम परिचालन हुने,
– खुला बजारको प्रतिस्पर्धालाई अनुमान गरी व्यक्तिले आफ्नो क्षमताको उच्च उपयोग गरी बढी उत्पादन गर्ने र बढी श्रम गर्ने क्षमता विकास गर्ने हुँदा उत्पादकत्व वृद्धि हुने,
– बढी श्रम गर्ने बानीको विकास हुने र श्रमको उचित कदर गर्ने परिपाटी स्थापित हुने,
– उद्योग तथा फर्महरू नाफा र प्रतिस्पर्धा केन्द्रित हुँदा नवप्रवर्तनमा प्रोत्साहन मिल्ने,
– व्यक्तिगत उत्पादनलाई खुला बजारमा प्रतिस्पर्धा गर्न दिँदा उपभोक्तालाई कम मूल्यमा बढी गुणस्तरका वस्तु तथा सेवा प्राप्त हुने,
– तीव्र आर्थिक वृद्धि हासिल गरी नागरिकको जीवनस्तर माथि उठाउन सहज हुने,
– नागरिकका लागि रोजगारी र आय सिर्जना हुने,
– सरकारलाई राजस्व प्राप्त हुने जसलाई सार्वजनिक पूर्वाधार निर्माण र सामाजिक न्यायको लागि खर्च गर्न सकिने ।
ख) दुर्बल पक्षहरू :
– आम्दानी र सम्पत्तिमा उच्च असमानताको अवस्था सिर्जना हुने,
– उद्योग तथा निजी फर्महरू अत्यधिक नाफा केन्द्रित हुँदा श्रमिकको श्रम शोषण तथा मानव अधिकारको हनन हुन सक्ने,
– वर्ग सङ्घर्षको स्थिति रहने र बन्द, हडताल, आन्दोलनको रूपमा अभिव्यक्त हुँदा आर्थिक गतिविधि प्रभावित हुने,
– उपभोगवादी संस्कार, व्यक्तिवादी सोच, सम्पत्तिप्रतिको उच्च मोह र महत्वका कारण सामाजिक विकृतिहरू सिर्जना हुने,
– कालोबजारी, एकाधिकार, मिलेमतो जस्ता प्रतिस्पर्धा सीमित गर्ने र उपभोक्तालाई हानि पु¥याउने गैर नैतिक गतिविधिहरू हुने,
– अत्यधिक नाफा केन्द्रित हुँदा वातावरणको उच्च दोहन भई प्रदूषण वृद्धि, वातावरणीय ह्रास र विश्वव्यापी तापमानमा वृद्धि हुने,
– व्यापार चक्रमा आउने उतारचढाव सँगै अर्थतन्त्रमा अस्थिरता देखापर्ने,
– भनिन्छ, पुँजीपतिहरू नै पुँजीवादी अर्थव्यवस्थालाई विकृत बनाउन उद्दत हुन्छन् । पुँजीवादी अर्थव्यवस्थामा तीव्र आर्थिक वृद्धिका द्वारहरू खुला रहेता पनि बजार असफलता, आर्थिक असमानता र श्रम शोषणका सम्भावनाहरू पनि जीवितै रहन्छन् । यस व्यवस्थाका सबल र दुर्बल पक्षहरूलाई सन्तुलनमा राखेर मात्र आर्थिक असमानता न्यूनीकरण गर्दै आर्थिक वृद्धिलाई गति दिन सकिन्छ । यसका लागि सरकारको सीमित एवं विवेकशील हस्तक्षेप वाञ्छनीय रहन्छ ।