23/05/2020
श्री गणेशाय नमः
हाम्रो प्रार्थनाः
याद गरौं– मानव जीवनको प्रयोजन के हो र हामी के गर्दैछौं भन्ने कुरा तर्फ पनि विचार पु-याउने चेष्टा गरौं । अत्यन्त उच्च वस्तु र महान, अविनासी सुख र शान्तिको प्राप्तिका लागि हामीलाई मानव शरिर प्राप्त भएको हो भन्ने धर्मशास्त्रहरूमा बताइएको छ । तर आजका हामी आफूलाई जान्ने–सुन्ने, विद्वान ठान्नेहरू नै यो परम सत्यबाट अनभिज्ञ भएर परम लाभको अवसरलाई गुमाएर ब्यर्थकोे अहंकारमा पतन र विनासको खाडल खनिरहेका छौं ।
विचार गरौंं– जीवन हाम्रो क्षणिक छ,नासवान छ,आजै हो वा भरे भोली हामीले प्यारो गरि मायाँ गरेर पालेको शरिर गल्ने –ढल्ने–मर्ने निश्चित छ ।अमूल्य तर क्षणिक मानव जीवनलाई सफल, सार्थक र फलिभूत बनाउन हामीले शास्त्रसम्मत आचरण र ब्यबहार गरी जीवनको उच्चतम उपलब्धि हाँसिल गर्न सक्छौं । जीवनलाई स्वार्थरहित, अहंकाररहित बनाउँदै, दुर्गुण–दुराचारबाट बच्ने प्रयास गर्दै, मानवोचित सद्गुण–सदाचारको अबलम्बन गर्दै सबै प्राणिप्रति दया, प्रेम, करूणा र समदृष्टिको भावना राखेर जीवनलाई सुखी र सदाचारयुक्त बनाउन सकिन्छ ।
सोचौं–संसारको वास्तविकता र मानव जीवनको सार्थकता केवल शाास्त्रको अध्ययन, योग–ध्यान,सेवा–सत्कर्म, ज्ञान–भक्ति तथा सद्गुण–सदाचारको उपयोगबाट मात्र सम्भब हुन्छ । पढ्ने–लेख्ने,रोजगारीको लागि देश–विदेश जाने, बन्द–ब्यापार–ब्यबसाय, ठेक्का–पट्टा,राजनीति आदि गाँस–बास–कपासका लागि गरिने र गर्नु पर्ने आधारभूत कुराहरु मात्र हुन् । शरिरका लागि,समाजका लागि यी कुराहरू आवश्यक छन् र यसरी नै चलिरहेकै छ संसार । तर यिनै आधारभूत र भौतिक आवश्यकताहरूको पूर्ति मात्र जीवनको ध्येय र लक्ष्य भने होइन भन्ने सत्य र यथार्थको बोध तमाम मानव समुदायलाई हुन नसक्नु चाहिं अत्यन्त दुःखद् बिषय हो ।
सचेत बनौ–हामीले शरिरलाई नै जीवनको सम्पूर्ण र समग्र रूप ठानेका छौं, मानेका छौं, जानेका छौं तर जीवनको सत्य र वास्तविकता शरिरमा मात्र सीमित छैन, हाम्रो जीवन अजर,अमर र अनन्त छ, यो शरीर त केवल केही दिनको लागि मात्र हो, यो त जीवनलाई सफल,सार्थक र मुक्ति–अमरता दिलाउनकालागि प्राप्त साधन हो,औजार हो । हामीले शरिरको पूराकापूरा सदुपयोग गरेर, शरीर गल्नु र ढल्नु अगाडि नै जीवनलाई मुक्ति र अमरता, अविनाशी सुख र शान्तिको अनुभूति गर्न सक्नुपर्छ र नै मानव जीवन पाएको फलिभूत हुन्छ । जीव–आत्मा कहिल्यै मर्दैन,निश्चित समयपछि यस्को रूप परिवर्तन हुने हो । हामी वास्तविक रूपमा जीव हौं, शरीर हामीलाई प्राप्त अस्थायी रूप र साधन मात्र हो भन्ने सनातन शास्त्रको अकाट्य सत्य र यथार्थलाई हामीले आत्मसात् गर्न नसक्नु नै आजको सबै भन्दा ठूलो दुर्भाग्य र अभिशाप हो ।
याद गरौं– जबसम्म हामीमा आन्तरिक चेतनाको दीप बल्दैन, जबसम्म हामी शरीरलाई नै जीवन र सर्वश्व ठान्छौं, आत्मा र परमात्माप्रति जबसम्म हामीमा दृढ विश्वास जागृत हुँदैन तबसम्म हामी जड्,अज्ञानी र मूर्ख ठहरिने छौं