06/04/2023
सधैंजसो खाजा खाइरहने पसलमा छौं साथी उदय र म।उदय चाउमिन खाँदै छन्, म रोटी तरकारी कुर्दै छु।
हातमा २० को एउटा नोट र ५ को ३ वटा नोट लिएर एउटा २५/२६ बर्षजतिको भाई खाजा पसलको काउन्टर अगाडि उभिनुभयो। उहाँ सडकमा सहयोगापेक्षी जीवन जिउनु हुन्छ भन्ने उहाँको हुलियाबाट अड्कल भयो।
मलाई हाफ प्लेट म:म दिनुस् न, हातमा भएको पैसा दिँदै उहाँले काउन्टरमा उभिनुभएकी साउनीलाई भन्नुभयो।
साउनीले उक्त पैसा चार पटक गन्नुभयो। म हेरिरहेको छु।
यतिमा त कहाँ हाफ प्लेट म:म आउँछ तनि, आउँदैन। जाउ, जाउ बाहिर जाउ- साउनी च्याँट्ठिनुभयो।
बफ म:म प्लेटको १५०/- छ क्यारे मेनुमा।
मैले हिजोदेखि केही खाएको छैन, भोक लागेको छ दिनु न साउनी - अलि भकभकिएको लवजमा उहाँले भन्नुभयो।
साउनीले च्याँट्ठिँदै भन्नुभयो - कस्ता कस्ता खातेहरु आउँछन्। ३५ रुपैयाँ लिएर हाफ प्लेट म:म माग्छन्।
मैले उदयसँग भनें - एक प्लेट म:मको पैसा हामी तिरेर खुवाऔं, बोलाउनुस् त भाईलाई।
हाम्रो कुरा सकिएर मैंले भाई यता बस्नुस् आउनुस् भनिरहेको बेला भित्र किचनबाट म:म बनाउने भाइले पसलको साहुनीलाई भन्नुभयो - साउनी मेरो खाताबाट पैसा काट्नु, एक प्लेट म:म दिन्छु दाईलाई म। उहाँको पैसा फिर्ता दिनुस्।
१९/२० बर्षको उमेरको कुक भाईले उहाँलाई सम्बोधन गरेर भन्नुभयो - सर यता बस्नुस् कुर्सी तानेर।
हाफ प्लेट म:म माग्ने भाईलाई देखेर होइन, त्यो २० पनि नकटेको भाईको व्यवहार देखेर मेरो मन हुँडलियो र खुसीको आँसु झरेछ अनायास।
यो अस्ति आइतवारको घटना हो। अस्ति देखि त्यो भाईलाई सम्झेपिच्छे मेरो मनमा उज्यालो वत्ति वलिरहन्छ।
यो समाज तैविसेक भएको यस्तै साना, झिनामसिना मानिसहरुको बलले हो।
मलाई जितेकोमा भाईलाई असिम प्रेम छ।
आज फेरि गएँ खाजा पसलमा। धन्यवाद दिएँ भाईलाई।उहाँले त मलाई याद पनि नगरेको रहेछ त्यो दिन।
मैले सबै कुरा भनें त्यो दिनको।
अनि भाइले रुँदै भन्नुभयो - मैले भोकको आगो खेपेको छु सर।
अनि म मनमनै रोएँ र भने - हामीले हिँडेको बाटो एउटै रहेछ, पाइताला मात्रै फरक परेछ भाई !
स्रोत - सामाजिक सञ्जाल