07/06/2024
क्यान्सरबारे ११ भ्रम र सत्य🫥🫥🫨
हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ ।
कोषिकाहरुको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो । क्यान्सर आफैंमा गम्भीर प्रकारको रोग हो । अहिलेसम्म संसारभरिमा २०० भन्दा बढी क्यान्सर पत्ता लागिसकेको छ ।
क्यान्सर लाग्ने बित्तिकै दिमागमा उपचार खर्च एकदमै धेरै हुन्छ, उपचारका लागि विदेश लैजानुपर्छ भन्ने कुरा आइहाल्छ । साथै क्यान्सरलाई लिएर धेरैजसो मानिसको मनमा यो रोगलाई लिएर डर र धेरै भ्रम पनि छन् ।
भ्रम : क्यान्सरको निदान र उपचार धेरै महँगो छ ।
– नेपालमा क्यान्सर रोगलाई हेर्ने दृष्टिकोण नै अन्य रोग भन्दा फरक छ । यो रोग लागेपछि ‘सम्पत्ति र मान्छे दुवै सकिन्छ’ भन्ने समाजमा धारणा छ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई रोगले भन्दा पनि चिन्ताले धेरै पिरोल्छ ।
धेरै क्यान्सर साधारण क्लिनिकल परीक्षण र आधारभूत परीक्षणद्वारा पत्ता लगाउन सकिन्छ । क्यान्सरको उपचारका लागि सरकारले एक लाख रुपैयाँ बिरामीलाई दिने गर्छ । सरकारले क्यान्सरका बिरामीलाई दिने सहुलियत एक लाख रुपैयाँले धेरै क्यान्सरको उपचार सम्भव छ ।
पहिलो, दोस्रो स्टेजको क्यान्सरमा ७० देखि ८० प्रतिशत खर्च त्यही रकमले धान्छ । सरकारी अस्पतालमा निजीको तुलनामा खर्च पनि कम लाग्छ, त्यसैले बिरामी आत्तिनु भन्दा पनि छिटो उपचार गर्नतिर लाग्नुपर्छ ।
भ्रम : धुम्रपान र मद्यपानबाट क्यान्सर हुन्छ, धुम्रपान, मद्यपान नगर्ने मान्छेलाई हुँदैन ।
– धुम्रपानले कम्तीमा १७ प्रकारको क्यान्सर निम्त्याउन सक्छ, साथै मद्यपानले पनि विभिन्न क्यान्सरको जोखिम बढाउँछ । तर धुम्रपान र मद्यपान मात्र सबै क्यान्सरको कारण होइन । अन्य धेरै कारण जस्तै पारिवारिक इतिहास, आनुवंशिक प्रवृत्ति, केही रसायनको सम्पर्क, प्रदूषण र विकिरणले पनि क्यान्सर निम्त्याउन सक्छ । धुम्रपानले क्यान्सर हुने सम्भावना धेरै गुना बढाउने काम भने गर्छ ।
भ्रम : मोटोपनले मधुमेह र उच्च रक्तचापको जोखिम बढाए पनि क्यान्सर बढाउँदैन ।
मोटोपनले मधुमेह, उच्च रक्तचाप जस्तो समस्या निम्ताउँछ भन्ने कुरा त धेरैलाई थाहा छ, तर यसले क्यान्सरको जोखिम पनि बढाउँछ भन्ने कुरा धेरैलाई थाहा छैन । धुम्रपान, मद्यपानसँगै क्यान्सरको अर्को कारक तत्व मोटोपन पनि हो । मोटोपनको कारण स्तन क्यान्सर, कलेजोको क्यान्सर लगायतको जोखिम बढ्छ ।
भ्रम : क्यान्सरको उपचारमा दिइने किमोथेरापी पीडादायी उपचार हो ।
किमोथेरापीमा नसाबाट औषधि दिइन्छ । यो पीडादायी उपचार पद्धति होइन । किमोथेरापी क्यान्सरको उपचार, नियन्त्रण र केही प्रकारको क्यान्सरको पुनरावृत्ति रोक्नका लागि प्रयोग गरिन्छ । किमोथेरापी विशेषज्ञहरूको निगरानीमा गरिन्छ । यो पूर्णतया सुरक्षित हुन्छ र पीडादायी हुँदैन ।
भ्रम : क्यान्सरको बिरामी पूर्णरुपमा निको हुँदैन ।
– सन् १९९० को दशकदेखि क्यान्सर उपचार प्रोटोकलमा धेरै प्रगति भएको छ । त्यसयता क्यान्सरबाट हुने मृत्युदरमा निरन्तर कमी आएको छ । स्तन, प्रोस्टेट, कोलोन, लिम्फोमा जस्ता क्यान्सरको लागि पाँच वर्षको बाँच्ने दर ९० प्रतिशत नाघेको छ । यदि प्रारम्भिक चरणमा पत्ता लगाएर उपचार गरियो भने क्यान्सर पूर्ण रूपमा निको हुनसक्छ ।
भ्रम : क्यान्सर विना लक्षण देखा पर्छ ।
– केही लक्षण नै थिएन कसरी क्यान्सर भयो भन्ने बिरामी पनि हुन्छन् । तर धेरै प्रकारको क्यान्सर जस्तै मुख, स्तन, कोलोन र अन्य धेरै क्यान्सरमा लक्षण देखा पर्छन् । ६ महिनामा १० प्रतिशत भन्दा बढी तौल घट्नु, बारम्बार ज्वरो आउनु, भित्री र बाहिरी रगत बग्नु, शरीरको कुनै पनि भागमा दुखाइ वा पीडाविहीन गाँठो हुनु, घाउ निको नहुने घाउहरू क्यान्सरका लक्षण हुनसक्छन् ।
भ्रम : ब्लड क्यान्सर कहिल्यै निको हुँदैन ।
– ब्लड क्यान्सर एक समावेशी शब्द हो, जसमा ल्युकेमिया, लिम्फोमा र मल्टिपल माइलोमा समावेश हुन्छ । रक्त क्यान्सरको लागि विभिन्न उपचार नेपालमा उपलब्ध छन् । कतिपय अवस्थामा ब्लड क्यान्सरलाई औषधि सेवनबाट नै नियन्त्रण गर्न सकिन्छ । साथै ब्लड क्यान्सरमा सबैभन्दा धेरै प्रयोगमा आउने उपचार विधि किमोथेरापी हो ।
अर्को उपचार विधि बोनम्यारो प्रत्यारोपण हो । यदि प्रारम्भिक चरणमा यो उपचार विधि अपनाएमा मानिसले स्वास्थ्य लाभ गर्ने सम्भावना धेरै रहन्छ ।
भ्रम : उपचारको केही वर्षपछि क्यान्सर फेरि दोहोरिन्छ ।
– उपचारपछि क्यान्सर दोहोरिन्छ भन्ने निश्चित छैन, तर यो दोहोरिने सम्भावना रहन्छ । क्यान्सर दोहोरिए पनि उपचार सफल हुने सम्भावना धेरै हुन्छ । धेरै प्रकारका क्यान्सरहरूमा, दोहोरिएको क्यान्सरको उपचार पनि सम्भव छ । यस्तो अवस्थामा आत्तिनुपर्ने अवस्था हुँदैन ।
भ्रम : क्यान्सर रोगीले सामान्य जीवन जिउन सक्दैनन् ।
– क्यान्सर रोगीले पनि अरू जस्तै सामान्य जीवन जिउन सक्छन् । तिनीहरूले पनि आफ्नो सबै जिम्मेवारी पूरा गर्न सक्छन् । समयमै निदान र उपचार पाएका क्यान्सर रोगीले कुनै बाधा विना सामान्य जीवन बिताउन सक्छन् । तर क्यान्सरका बिरामीले उपचारको क्रममा र पछि स्वस्थ जीवनशैली अपनाउनुपर्छ, ताकि उनीहरूले रोगका कारण अन्य समस्या सामना गर्न नपरोस् र उनीहरूले आफ्नो नियमित जीवनलाई निरन्तरता दिन सकुन् ।
भ्रम : यदि परिवारमा कसैलाई क्यान्सर छैन भने मलाई पनि लाग्दैन ।
– यसमा पनि कुनै सत्यता छैन । यदि परिवारमा कसैलाई पनि क्यान्सर भएको छैन भने यसको मतलब पूर्णरूपमा जोखिममुक्त हुनुहुन्छ भन्ने होइन । धेरैजसो क्यान्सर अनुवांशिक परिवर्तनहरूका कारण हुन्छन् जुन व्यक्तिको जीवनभरि सुर्तीजन्य धुवाँ र विकिरण जस्ता बुढ्यौली र वातावरणीय कारकहरूको परिणाम स्वरूप हुन सक्छ । साथै खानपानशैली, अव्यवस्थित जीवनशैलीले पनि क्यान्सरको जोखिमलाई बढाउँछ ।
भ्रम : हर्बल तथा आयुर्वेदिक उत्पादन प्रयोग गरेर क्यान्सर निको हुन्छ ।
– धेरै प्रकारको हर्बल तथा आयुर्वेदिक औषधिहरुले क्यान्सर निको हुने भनेर प्रचारप्रसार गरेको पाइन्छ । तर अहिलेसम्म कुनै पनि यस्तो जडीबुटी उत्पादन भएको छैन, जुन क्यान्सरको उपचारमा पूर्णरूपमा प्रभावकारी साबित हुनसक्छ । त्यसैले कुनै पनि हर्बल तथा आयुर्वेदिक उत्पादन प्रयोग गरेर उपचारलाई रोक्न हुँदैन ।
क्यान्सरबाट जोगिन कस्तो खानपान गर्ने ?
कुनै पनि रोगको प्रमुख कारण खानपान नै हो । किनकि खानपान नमिल्दा पाचन प्रक्रियामा गडबडी हुन्छ र शरीरमा रोग लाग्छ ।
अस्वस्थ खानपान क्यान्सरको पनि कारण बन्न सक्छ । जस्तै मदिरा धेरै सेवन गर्नेलाई मुख, घाँटी र कलेजोको क्यान्सर हुने खतरा हुन्छ भने बोसोयुक्त खानेकुराले आन्द्रामा क्यान्सर हुने जोखिम बढी हुन्छ । आजभोलि प्रायजसो खाना नली र ठूलो आन्द्राको क्यान्सर अत्यधिक मात्रामा देखिन्छ, जुन बोसोयुक्त मासु, तारेको भुटेको, जंकफुड, केमिकल र विषादीयुक्त खानेकुराको दैनिक उपभोग गर्नेलाई देखिन्छ । यसको कुनै अनुसन्धानबाट प्रमाणित भएको छैन ।
क्यान्सर रोगबाट बच्न कस्तो खानपान ?
ताजा खानेकुरा, हरियो सागसब्जी, चुकन्दर, बोक्रासहितको गेडागुडी, झोलिलो खानेकुरा, अण्डा, फलफूल, बोसोरहित मासुसँगै फाइबरयुक्त खानेकुरा खानुपर्छ ।
खान नहुने खानेकुरामा तारेका, भुटेका, अखाद्य रंग राखिएका र प्रिजरभेटिभ हालेका, बट्टा बन्द गरिएका अचार, बासी खानेकुरा, बासोयुक्त मासु, जंकफुड, केमिकल हालेर उत्पादन वा बनाइएका खानेकुरा खानु हुँदैन । यी खानेकुरा क्यान्सर रोगमा मात्र नभई अन्य रोगमा पनि हानिकारक हुन्छ । साथै धुम्रपान, मद्यपान, खैनी, गुट्का, सुर्तीबाट रहनुपर्छ ।
बेसार र लसुन क्यान्सर प्रतिरोधी हुन्छ ?
बेसार र लसुन दैनिक खाँदा क्यान्सरको जोखिम हुने सम्भावना कम हुन्छ । विभिन्न अनुसन्धान अनुसार यो एकदम लाभदायक भएको देखिएको छ । साथै अमेरिकन क्यान्सर सोसाइटी (एसीएस)मा अनुसन्धान भइरहेको छ । तर लसुन वा बेसारकै कारण क्यान्सर नलागेको भनेर कुनै तथ्य वा अनुन्धान गरिएको छैन ।
बेसारमा ‘कुर्कुमिन’ भन्ने तत्व हुन्छ । जसमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्ल्यामेटरी गुण हुन्छ । यसले शरीरमा क्यान्सरका कोष मार्ने र अरू बढ्नबाट जोगाउने काम गर्छ । तर बजारमा पाइने धुलो बेसारमा भने कुर्कुमिन तत्व नै निकालिएको हुन्छ । जसले बेसार खाए वा नखाएकोमा केही फरक पर्दैन । त्यसैले सकेसम्म घरमै उत्पादन गरेर त्यसलाई धुलो बनाएर खान सकिन्छ वा कच्चा पदार्थ किनेर धुलो बनाएर खान सकिन्छ । यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । बिहान वा बेलुका आधा-आधा चम्चा गरी वा एकैपटक सानो एक चम्चा दैनिक खानुपर्छ । यो दूध र पानीसँग सेवन गर्न सकिन्छ । तर हरेक दिन तरकारीमा हालेर खाने बेसार मात्राले भने क्यान्सरको जोखिम न्यूनीकरण गर्दैन ।
त्यस्तै लसुनमा पनि एन्टिइन्फल्यामेरी गुण हुन्छ । यसले शरीरमा भएको इन्जाइम्सलाई बढाएर क्यान्सर पैदा गर्ने कार्सिजेनिक तत्व बढ्नबाट रोक्न मद्दत गर्छ । यसमा धेरै मात्रामा जीवाणुनाशक तत्व हुन्छ जसले शरीरलाई संक्रमणबाट बचाउने र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
अनुसन्धानअनुसार लसुनको सेवनले खानानली, आन्द्रामा हुने क्यान्सरमा विशेष राहत दिन्छ । त्यसो भन्दैमा अन्य क्यान्सरलाई फाइदा गर्दैन भन्ने होइन । यसले अन्य क्यान्सर पनि उत्तिकै फाइदाजनक हुन्छ ।
लसुन टुक्रा नगरी दिनभरिमा चारदेखि पाँच केस्रा खान सकिन्छ । यो पनि लसुनको साइजअनुसार हुन्छ । सकेसम्म लसुन पोलेर वा पकाएरभन्दा पनि काँचै खाँदा उपयुक्त हुन्छ । यदि सकिंदैन भने केस्रा टुक्रा नगरी सिंगै तरकारीमा हालेर सेवन गर्न सकिन्छ । किनकि लसुनलाई टुक्राउँदा वा पिसेर धुलो पर्दा त्यसमा हुने औषधीय गुण कटौती हुने गर्छ । त्यसैले बजारमा सहजै पाइने धुलो वा पिनेको लसुनभन्दा गोटा नै सेवन गर्नु लाभदायक हुन्छ । जसमा औषधीय गुण हुन्छ ।
(क्यान्सररोग विशेषज्ञ डा. आचार्य वीर अस्पतालका विभागीय प्रमुख हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)