26/06/2021
डोजरले हानेर वडा अध्यक्षको हत्या
भाईरल टुडे समाचारदाता, सर्लाही
सर्लाहीको ईश्वरपुर नगरपालिकामा डोजरले हानेर वडा अध्यक्षको हत्या गरिएको छ । शुक्रबार राति ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुरका वडा अध्यक्ष सुर्य कुमार थापालाई डोजर चालकले जेसिबको बकेटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।
वडा नं. ३ रहेको मुखलाल बाँध सिमाङ्कन करिब १८–१९ दिनदेखि मर्मत भैरहेको थियो । सोही बाँध मर्मत गर्न भाडामा प्रयोग भएको डोजरका चालकले जेसिबिको बकेटले हानेर वडा अध्यक्षको ज्यान लिएको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार रातिअबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक सर्लाहीकै हरिपुर नगरपालिका १ का रविन उर्फ हर्क बहादुर तामाङले नजिकैको होटलमासँगै खाजा खाएका थिए । खाजा खानेक्रममा चालक र वडा अध्यक्षबीच सामान्य विवाद भएको थियो । विवादकै क्रममा मुखलाल बाँध नजिक पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका ३ कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका वडा नं. १ हजारबिघा बस्ने ३८ वर्षिय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरु दुबैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।