26/10/2025
पूरा पढ्नुहोस्
डिभोर्स अगाडि श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन वर्षपछि आफ्नै घर नै नर्क जस्तो लाग्छ। खै किन लेख्दै छु—सायद यही आशामा होला, ताकि मैले गरेको जस्तो गल्ती अरु दिदीबहिनीले नगरून्। रिसको आवेगमा परिवार नफुटोस्।
गोप्य नै रहोस् मेरो नाम, उमेर, बसाइ। मैले बिहे गर्दा मेरो उमेर १९ वर्षको मात्रै थियो। आफ्नै रोजाइमा विवाह गरेकी थिएँ। मेरो श्रीमान् शान्त स्वभावका कामकाजी थिए। अलिकति जिद्दी—उसले भनेपछि हुनै पर्ने, उसको कुरा माथि पर्नै पर्ने, तर मनमा नराम्रो चाहिँ थिएन।
झण्डै तीन वर्ष हाम्रो परिवार टिक्यो। त्यसबेला हाम्रो एक वर्षको छोरा थियो। बिहेपछि सुरु–सुरुमा सबै कुरा राम्रै चलिरहेको थियो। तर म एकदम भावुक किसिमकी थिएँ, अलिक रिसालु पनि। श्रीमान्ले थोरै मेरो बारेमा नराम्रो केही भनेमा तुरुन्तै झोला बोकेर माइत जाने गर्थें। त्यसबेला दिदी–भिनाजु, दाजु–भाउजू, भाइ–बुहारी, आमाबुबा सबै मेरो पक्षमा उभिन्थे। किनकि मैले ज्वाइँले ममाथि गरेको व्यवहार सुनाउँथेँ तर आफ्ना गल्ती लुकाउँथेँ। त्यसैले सबैले मेरो श्रीमान्लाई नै दोषी देख्थे र मलाई सहारा दिन्थे। अनि मैले पनि “मेरो गल्ती केही छैन, सबै उसको गल्ती हो” भनेर सोच्ने गर्थें।
एकदिन कुरै–कुरामा हाम्रो झगडा भयो। कुनै पनि श्रीमतीले आफ्नो श्रीमान्लाई नभन्नुपर्ने कुरा मैले भनेँ। त्यसबेला रिस र उत्तेजनामा उसको सहनशीलता फुट्यो र उसले मलाई एक झापड गालामा हान्यो। त्यो एक झापडले मेरो जीवन बदल्यो।
रिसाएर झोला र नानी च्यापेर बुबाको घर आएँ। आफ्ना गल्ती लुकाएर रुँदै मैले उसले कराएको, हप्केको, कुटेको कुरा सुनाएँ, देखाएँ। त्यसबेला सबै माइती पक्षले भने—“अब त्यस्तो राक्षससँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल।” मैले पनि उसको नाममा महिला दुर्व्यवहारको मुद्दा दायर गरेँ। प्रहरीले उसलाई भगायो। उसका आमाबुबाले मुद्दा फिर्ता गर्न बारम्बार आग्रह गरे।
म राति ओछ्यानमा सुतेर सोच्थें—के ऊ साँच्चै नै नराम्रो मान्छे थियो त? केही दिनपछि धैर्य गर्न नसकी उसले माफी माग्यो। मैले मुद्दा फिर्ता लिएँ, तर उसँग उसको घरमा गइनँ। केही दिनपछि दुई परिवार मिलेर “अब नयाँ तरिकाले जीवन यापन गर” भने। म पनि सहमत भएँ।
पहिलो केही महिना राम्रैसँग बित्यो। तर अचानक फेरि झगडा भयो र म फेरि आमाबुबाको घर आएँ। केही दिनपछि श्रीमान् बिरामी छन् भन्ने कुरा सुनेँ। माइतीघरका सबैले “स्वास्नी फर्केर आउँछे भनेर नाटक गरेको हो” भने। त्यसबेला मनमा सोचेँ—उसका आफन्त लिएर यहाँ आओस्, त्यसपछि तिनीहरूको साथमा जान्छु। तर कोही आएनन्। बरु घरमा एउटा पत्र आयो—सम्बन्धविच्छेद पत्र।
पत्र हातमा परेपछि मन–मुटुमा दनदनी आगोले पोले जस्तो भयो। सोचेँ—यो आट उसमा कहाँबाट आयो? कति गाह्रो भयो, सहनै सकिनँ। माइतीपक्षले “कुचोले बढार्नुपर्ने कसिङ्गार हावाले उडायो” भन्दै अदालतमा गएर छोराको पढाइ–लेखाइका लागि मासिक खर्च र अंश माग्न सुझाव दिए। मलाई मुटुमा १००० किलोको ढुंगाले थिचेजस्तो महसुस भयो, सास फेर्न गाह्रो भयो। त्यसबेला एक शब्द पनि नसोची सबै कुरा स्वीकार गरेँ।
बच्चा मसँग आयो, आर्थिक सुरक्षा आयो—र उसको हातबाट म स्वतन्त्र भएँ। आज साढे तीन वर्ष बितेछ। उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिकासँग बिहे गरेको छ रे, सुन्छु धेरै राम्री छे रे। तर म? मेरो जिन्दगी जहाँ थियो त्यही रोकियो।
यो संसारमा लोग्ने मरेकासँग बिहे गर्न बढी रुचाउँछन्, तर हामी डिभोर्सीहरूसँग भने रात कटाउन, घुमाउन—साँचो कुरा भन्नुपर्दा—रातकी रानी वा रखेल बनाएर राख्न रुचाउँदा रहेछन्।
आज म सोच्ने गर्छु—एउटा गल्ती, अलिकति जिद्दी, रिसको एक झिल्कोले मेरो पुरै परिवार सधैंका लागि सकियो। उसले मलाई एकपटक झापड हान्यो, तर मैले उसलाई सहनै नसक्ने शब्द भनेँ। मेरो अहंकार र माइतीघरको सपोर्टको घमण्डले उसलाई बारम्बार दुःख दिएँ। आज बुझ्दै छु—परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकूल हुनु, मायामा कमी हुन नदिनु रहेछ। तर यो सबै मेरो भाग्यमा रहेन।
सम्बन्धविच्छेद गरेपछि स्वतन्त्र हुन्छु भन्ने सोच्नेहरूलाई भन्न चाहन्छु—स्वतन्त्र होइन, यो एक प्रकारको एक्लो कारागार हो, जेलबन्दी हो। जब सबैको परिवार जोडिएर बसेको देखिन्छ, खुशी जीवन देखिन्छ, त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ।
🌸 दिदीबहिनीहरू—श्रीमान्सँग झगडा गर्नु, तर रिसमा ‘डिभोर्स’ भन्ने शब्द नल्याउनु। आफू अलिक नरम बन्नु, श्रीमान्लाई अलिक छुट दिनु—सायद त्यसले तपाईंको पुरै जिन्दगी नै बदल्छ। अर्को कुरा, माइतीले पनि आफ्नो बिहे गरेर गएकी छोरीलाई चाडपर्वबाहेक अरुबेला बोलाउने–चलाउने काम नगर्नु। आफ्नो बुहारीलाई जस्तो व्यवहार गरेको छ, त्यही कुरा छोरीमा पनि लागू हुन्छ भनेर सधैं सोच्ने गर्नु।