17/07/2023
‘आफूले चाहेको मान्छेले आफूलाई अलिकति पनि मतलब गर्दैन भन्ने थाहा पाउँदा साह्रै एक्लो फिल हुँदो रहेछ’, टियू परिसरमा हिँड्दै मैले अक्षतालाई निरुसासँग भेट भएदेखि, उसको अन्तिम म्यासेजसम्मको कुरा सुनाउँदै बिलौना पोखिरहेको थिएँ ।
‘रिजेक्सन टफ नै हुन्छ’, अक्षता ठूलो घडी भएको भवन अगाडि रोकिई ।
दुवै त्यो भवनको गेटभित्र छि¥यौँ । आज घाम नलागेकोले साह्रै जाडो थियो । दिउँसोको दुई बजे साँझको पाँच बजिरहे झैँ माहोल थियो । कतिखेर पानी पर्छ झैँ आकाशमा कालो बादल लागेको थियो ।
ठूलो घडी भएको भवनको कम्पाउन्डमा धेरै बेञ्चहरू थिए । बेञ्चमा मान्छेहरू बदाम र सुन्तला खाँदै गफ गरिरहेका थिए । भवन पुग्ने सिँढी छेउको खाली बेञ्चमा हामी पनि बस्यौँ ।
‘तिमी कोहीबाट रिजेक्ट भको छौ ?’ मैले सोधेँ ।
अक्षताले भवन अगाडिको चिया पसलतिर हेरिरहेकी थिई । कालो ओभरकोटमा रातो मखलर र कालो पाइन्टमा ऊ आज पहिलेभन्दा फरक देखिएकी थिई । रुँघाले होला उसको नाक टमाटर झैँ रातो भएको थियो ।
‘मैले कसैलाई प्रपोज गरेको छैन’, मतिर फर्कदैँ उसले भनी ।
‘कसैलाई मन पराएकी छैनौ ?’
‘मन पराको भन्नाले ?’
‘मतलब लभ परेको छैन ?’ सिधै सोधेँ ।
ऊ खुट्टामा खुट्टा राखेर मतिर पूरै घुमी, ‘त्यस्तो फिल्मी लभ चैँ भको छैन ।’
‘कस्तो भको छ त ?’
‘अट्रयाक्सन चैँ भइरहन्छ...’ उसले हातले नाक चलाई ।
हातमा इन्फिनिटीको ट्याटु देखियो । उसले हामीभन्दा केही पर बसिरहेका तीनजना केटातिर हेरी । उनीहरू गफ गरिरहेका थिए ।
‘त्यो बीचको छ नि’, अक्षताले भनी ।
बीचको केटालाई हेरेँ, ह्यान्डसम थियो ।
‘ऊ मन परिराछ मलाई’, उसले भनी ।
‘हैन,मैले सोध्न खोजेको ट्रियु लभ टाइपको’, मैले भनेँ ।
‘त्यस्तो लभ हुन्छ जस्तो लाग्दैन ।’
‘ट्रियु फ्रेन्ड चैँ हुने लभ चैँ नहुने ?’
‘हेर, यो लभ भनेको,’ उसले ‘लभ’ भन्दा मुख अमिलो भएझैँ बिगारी ।
‘लास्ट ओभररेटेड, ओभर ग्लोरिफाइड इमोशन हो ।’
मैले कुरा नबुझेर उसलार्ई हेरिरहेँ, ‘मतलब ।’
उसले भनी, ‘त्यस्तो साह्रो बिउटीफुल चिज हैन जति किताबमा लेखिन्छ, फिल्ममा देखिन्छ, इनफ्याक्ट तिम्रो पनि निरुसासँग त्यो ट्रियुवाला लभ परेको हैन ।’
‘के हो त ?’
उसले केही सोचे झैँ औँलाले नाँक चलाई, ‘मे बी नोस्टाल्जिक इफेक्ट, निरुसा तिम्रो बच्चादेखिको साथी हो नि ।’
‘अनि बच्चादेखिको साथी नभएर पछि परेको लभ चाहीँ के इफेक्ट हो नि ?’
‘अपोजिट पोल इफेक्ट’, जोडले हाँस्दै ऊ उठी ।
पर बसिरहेका तीनैजना केटाहरू हामीतिर फर्किए । अक्षताले मुस्कुराउँदै चारैतिर हेरी, ‘यही बस्ने हो दिनभरी ?’
म पनि उठेँ । हामी त्यही भवन हुँदै पछाडिको पार्क निस्कियौँ ।
(Guess the name of novel and the writer.)