05/01/2026
अझै दाेधार छ मन कतै गठवन्धनकाे नाममा ठगवन्धन त भएकाे छैन ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘वृहत राजनीतिक समायोजन घोषणा सभा’ सोमबार काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता तथा थरूहट/थारूवान आन्दोलनका अभियान्तालाई रास्वपामा समायोजन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त सभामा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूको सहभागिता रहेको थियो।
सभामा उपसभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका केन्द्रीय नेताहरू उपस्थित रहे पनि वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र वरिष्ठ उपसभापति कुलमान घिसिङ भने कार्यक्रममा अनुपस्थित देखिएका छन्। कार्यक्रममा सभापति लामिछानेलाई केन्द्रमा राख्दै ब्यानर तथा दृश्य सामग्री प्रोजेक्ट गरिएको थियो।
रास्वपा र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता तथा थरूहट/थारूवान अभियान्ताबीच भएको सहमतिअनुसार समायोजन प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ। पार्टी नेतृत्वले यस समायोजनले रास्वपाको संगठन विस्तार र राजनीतिक पहुँचलाई थप बल पुग्ने विश्वास व्यक्त गरेको छ।
यसअघि रास्वपा र बालेन्द्र शाहबीच पुस १३ गते एकता सम्झौता भएको थियो। त्यस्तै, पुस १४ गते रास्वपा र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको थियो। सोही सहमतिका आधारमा आइतबार रास्वपाले बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको थियो भने कुलमान पक्षबाट केन्द्रीय सदस्य नियुक्ति भने अझै बाँकी रहेको जनाइएको छ।
सहमति अनुसार बालेन शाहलाई रास्वपाको वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने तयारी रहेको छ भने कुलमान घिसिङलाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिने सहमति भएको छ। यद्यपि, दुवैले अझै औपचारिक रूपमा शपथ ग्रहण गर्न बाँकी छ।
पार्टीका नेताहरूका अनुसार समायोजनसँग सम्बन्धित बाँकी प्रक्रिया चाँडै टुंग्याइने छ र आगामी दिनमा रास्वपाको गतिविधि अझ सशक्त रूपमा अघि बढाइनेछ।