01/07/2024
(साहित्यमा नयाँ बिधा—लघु कथन)
एक
आफ्नो घर
सरण राई
मैले बनाएको घर जस्तै म पनि थोत्रो र बुढो भएको छुँ । अब त्यो घरमा बस्ने मेरो अधिकार ‘छ, छैन ?’ प्रश्न उठ्न थालेको छ ।
मेरा उत्तराधिकारीहरू भन्न थालेका छन्, ‘ यो घर उनीहरूको हो । हो पनि, घर मरम्मत, सह्यारसम्भार, सुग्घर सफाइ गरेर घर सुन्दर राख्नमा उनीहरूको ठूलो योगदान छ । म नबसे पनि उनीहरू यो घरमा बसिरहने छन् ।
घर भत्कियो भने मलाई भन्दा बढि उनीहरूलाई नोक्सान हुनेछ । उनीहरू घरबारविहीन हुनेछन् । तसर्थ पनि उनीहरूको मान्यता छ , ‘घर भइरहनु पर्छ ।’ तर विवाद छ , घर कस्को ? घर बनाउने मेरो कि उनीहरूको ?
सबै जीवितहरूको जस्तै घरमा वा पृथ्वीमा बस्ने मेरो अवधि धेरै छैन । घर उसैको हो जो त्यहाँ बस्छ । बसुन्जेल उसले ‘आफ्नो घर’ भन्छ तर अन्तमा घर उसको पनि हुँदैन ।
र, अब मैले आफूले बनाएकै भए पनि घरलाई ‘आफ्नो घर’ भन्न छाडेको छु ।
***
"बागियान" ,साहित्यिक द्वैमासिक , वर्ष १, अङ्क १
दुई
कल्पनाको सुख
सरण राई
तीनजना खाइलाग्दा सुन्दरी तरुनीहरु आइरहेका छन् | म ति तीनमध्ये एकजना रोज्छु | राम्री 'गर्ल फ्रेन्ड ' आनन्दविभाेर हुन्छु | म तन्नेरी हुन्छु |
तिनीहरु गइरहेका छन् , फर्कीफर्की हेर्छु |
"धत् , मलाई के भएको होला ? भर्खर 'डायलोसीस' गरेर उधारो जीवन बाँचिरहेको छु | कस्तो कल्पना गर्न पुगेछु ...गर्लफ्रेन्डसँग घुमफिर रमाइलो गरि रहेको !"
म आफ्नो कल्पना सम्झेर आफै मुस्कुराउछु | मलाई मेरै उमेरका अर्थात ६० / ६१ वर्षकी एकजना महिलाले हेरिरहेकी हुन्छे , पनि मलाई हेरेर मुस्कुराउछे | सायद झुक्कीएकी हुन्छे |
मधुर कल्पना गरेर एक निमेष म आनन्दविभोर भएँ | मैले के बिराएँ ? कल्पनाको सुख प्राप्त गर्ने मेरो अधिकार कुनै तानासाहले खोस्न सक्छ ? सक्तैन | कल्पनाको आनन्द सबै जीवित प्राणीहरुको जस्तै मेरो पनि नैसर्गिक अधिकार हो ...| अस्ताउने अँध्यारोमा एक झलक उज्यालोको लागि कल्पिए...!?
२०७१ चैत ३० , मेडिकेयर अस्पताल
"बागियान" ,साहित्यिक द्वैमासिक , वर्ष १, अङ्क ३
***
तीन
कथावाचकको न्याय
सरण राई
सबैभन्दा पहिला कथाबाटै साहित्यको सुरुवात भयो | थुप्रै कथाहरुमध्ये एउटा कथा "बाघ आयो " भन्ने कथाको सम्झना मलाई भइरहेको छ |
गोठालाले "बाघ आयो ""बाघ आयो " भन्दै गाउँलेहरुलाई झुक्याउथ्यो | एकदिन साँच्चै बाघ आउदा कसैले पत्याएनन् | कोहि आएनन् र बस्तुभाउ बाघले खाइदियो |
यहाँ कथावाचकले बाघले गोठालोलाई पनि खाएको वा चिथोरेर घाइते बनाएको कथा भन्न मिल्थ्यो | उनले त्यसो नभन्नु वा गोठालोलाई सहिसलामत राख्नु कथावाचक वा कथाकारको न्याय हो | उनले कथामा आफुले चाहेको उद्देश्य प्राप्त गरिसकेपछि गोठालो वा मुख्य पात्र नायकलाई अनावश्यक दु:ख दिन चाहेनन् |
यहि नै साहित्यले समाजमा स्थापना गर्ने न्याय हो |
२०७१ कार्तिक १४, धरान
http://facebooklit.blogspot.com/
***
चार
त्यो मान्छे
सरण राई
त्यो मान्छे र म युवा कालमा घनिष्ट साथी थियौँ ।
नोकरी गरेपछि सहरमा मैले घर बनाएँ | विद्यावारिधि सोधार्थी भएको बेला ऊबाट थुप्रै पुस्तकहरू सहायक सामग्रीको रूपमा लिएँ ।
विविध कारणवश मैले विद्यावारिधि पनि गर्न सकिनँ र सहरको घर पनि बेचेर पुरानो बजार नै फर्किएँ । उसका पुस्तकहरू फर्काउन सकेको थिइनँ ।
बिसौं वर्ष पछी अचानक पुरानो बजारको सडकको रेलिङ्गमा बसेर युवाहरू जस्तै खुट्टा हल्लाउदै बसिरहेको उसलाई भेटेँ र सोधेँ ‘तपाईँको पुस्तकहरू तपाईँको सहरको घरमा ल्याईदिने छु ।’
‘ पर्दैन । सहरको घर मैले पनि बेचेँ, जागिर पनि छोडेँ । ती पुस्तकहरू कुनै पुस्तकालयलाई उपहार दिए हुन्छ ।’ उसले जवाफ दिएको हुन्छ ।
त्यतिबेला आज जस्तो मोबाईल र फोन केहि थिएन | तसर्थ भेट्ने वा सम्पर्क गर्ने माध्यम पनि केहि भएन | त्यसपछि त्यो साथीसँग फेरि भेट भएको छैन । आज अचानक उसको सम्झना आएर मौरीले चिल्दा झैँ मन र मुटु चसक्क दुखिरहेछ । ऊ बेठेगान भएछ मजस्तै । ऊ कहाँ होला वा नहोला ? मान्छेको जुनी ! के भर हुन्छ र ?
आज हाँसिरहेको,बाँचिरहेको हामीलाई पनि धेरै वर्षपछि हाम्रो अनुपस्थितिमा यसरी सम्झने कोही होलान् ? हामी सबै बेठेगान हुन्छोँ । हामी सबै ‘दुई दिनको पाहुना’....मन झन् खिन्न हुन्छ ।
***
पाँच
सपना र जीवन
सरण राई
...मलाई डरलाग्दो मान्छेले खेदी रहेको छ | ऊ धार्मिक कथाको राक्षस , भुत वा डाका लुटेरा हुनसक्छ | हातमा नाङ्गो खुकुरी छ | म चारैतिर कोहि छ कि भनेर हेर्छु , कोहि मद्दत गर्ने मानिस छैन | म भागिरहेको छु , भागिरहेको छु ...ऊ खेदिरहेको छ , खेदिरहेको छ | भाग्दाभाग्दै भीरको छेउमा पुग्छु | अब भाग्ने ठाँउ छैन | ज्यान जाने नै भयो , म पनि आफूसित भएको खुकुरी दापबाट झिकेर लडन तयार हुन्छु | लड्दालड्दै पछाडी सर्दा भीरबाट झर्छु |
के अचम्म ?
मरेँ होला भनेको म त अग्लो घरको तेस्रो तलामा पो हुन्छु | मेरा प्राध्यापक साथीहरु पनि थुप्रै छन् | सम्मेलनबाट फर्किरहेका रे | तल सडकमा हेरेको... 'बन्द' रे | पुलिस र बन्दकर्ताहरु भिडिरहेका छन् | अलिक शान्त भएपछी ओर्लन्छौँ | रात परि सकेको छ | कोहि कता कोहि कता जान लागे | म चाहीँ अब कता जाऊ | अन्यौलमा थिए | " एक छिन पर्खिदै गर्नुहोस है " भनेर गएका हरि सर आउनु भएको छैन | यो परदेसको ठाँउमा रात कता बिताउने होला ? चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ | हरि सर आउनु हुन्छ | अब कता बस्ने ? रात कता काट्ने ? अझ चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ |
अचानक आँखा खुल्छ |
टेन्सन समाप्त | आनन्द लाग्छ | अघिको मैले भोगिरहेको चर्को तनाव सपनामा पो रहेछ | आँखा खोलिनासाथ सपनाको दु:ख, सुख, रमाइलो ,नरमाइलो तनाव आदि ... सब समाप्त !
आँखा खोल्दा सपना समाप्त भएझैँ जीवनमा पाईने दु:ख -सुख , चिन्ता- पीडा, हर्ष-आनन्द अनि सबथोक सबथोक आँखा चिम्लिनासाथ समाप्त ! जीवनका सब वैभव शान शौकत हर्ष-आनन्द का साथ पीडा दु:ख रिस राग द्वेष क्लेश सब सब सपनाजस्तै आँखा चिम्लिनासाथ समाप्त !
मृत्युमा आँखा चिम्लिनासाथ समाप्त !!!
२०७१ माघ १६ बिहिबार , धरान |
***
छ
महान साहित्यकार
सरण राई
महान साहित्यकार फेसबुकमै जन्मियो , बाँच्यो र मर्यो | उसले फेसबुकमा थुप्रै कविता , अकविता , कथा, अकथा र अन्य रुचिकर सुन्दर रचनाहरु जन्मायो र विभिन्न साहित्यिक ग्रुपहरुमा पोस्ट गर्यो | धेरैले पढ्दै नपढी 'लाइक' गरे |महान साहित्यकार मख्ख पर्दै रह्यो | अझ धेरै रचनाहरु पोस्ट गर्दै रह्यो |
रचना पोस्ट गर्नु उसको लत भयो | अझ धेरै रचनाहरु पोस्ट गर्दै रह्यो | कुनै समालोचक फेसबुकमा थिएन| फेसबुकको रचनाको कमेन्ट गरेर कोहि गतिलो समालोचक हुन् सक्तैन, भन्ने समालोचकहरुले बुझेका थिए | हल्का कमेन्ट... कमेन्ट गर्नेहरु त धेरै थिए तर ति रचनाका पारखीहरु थिएनन् |
जेहोस फेसबुकको 'लाइक र कमेन्ट'हरुले उसलाई आफु महान साहित्यकार भएको भ्रम दियो |
त्यही भ्रममा ऊ फेसबुकमा जन्मियो महान साहित्यकार भएर , ऊ फेसबुकमा बाँच्यो महान साहित्यकार भएर , ऊ फेसबुकमा मर्यो महान साहित्यकार भएर !
कति मिठो भ्रम थियो , भ्रममा बाँच्नु कति रमाइलो थियो | जीवन भनेकै के हो र ? भ्रम त हो , अहिले म छु , भोलि हुने छुइनँ | म ,हामी जो कोहि पनि साश्वत र सत्य हौँ भने त भोलि पनि हुन्थ्यो , सधै हुन्थ्यो | अहिले छ भोलि हुँदैन भने अहिले भएका सबै पानीको फोकाजस्तो भ्रम मात्रै रहेछन् |
महान साहित्यकारले यो बुझेको रहेछ तसर्थ ऊ कहिल्यै साश्वत र सत्यको पछी लागेन | भ्रमलाई सत्य सरह माया गर्न सक्ने ऊ साँच्चै महान थियो |
( म पनि त्यहि साहित्यकारको सिको गरिरहेको छु र भ्रममै बाँच्न विवश भएको छु | भ्रमलाई सत्यलाई भन्दा बढि माया गर्न थालेको छु |)
***
सात
नेपाली राजनीति र 'एड्नान थेरा '
सरण राई
किसानहरु धेरै पटक रुख रोपेर झुक्किएका र लुटिएका छन् | मैले पनि सिशौको बिरुवा १००० भन्दा धेरै रोपेर दिनगन्ती गर्न थालें |२० वर्षपछी करोड़ौं रुपिया कुम्ल्याउने छु भन्ने सपना बुनेँ |सिशौ हुर्कदै गयो | रुख काट्न हुने गोलाईको हुन थाल्यो | अब भने बेच्छु भनिरहेको बेला सिशौको महामारी रोग देखा पर्यो | कालो चोप सिशौ रुखबाट चुहुने र रुख खङ्ररङ्गै सुकेर मर्ने | सिशौ रुख तौलेर दाउराका लागि बिक्रि गरियो |करोड़ौं रुपिया कुम्ल्याउने सपना तुहियो |
रक्त चन्दन भन्ने काठको तस्करी भएको समाचार सुनेर रक्त चन्दनको बिरुवा खोजेर रोपियो |
रक्त चन्दन भनेर रोपेको हुर्काएको रुख त रक्त चन्दन समूहमै पर्ने 'एड्नान थेरा ' भन्ने नक्कली रक्त चन्दन पो रहेछ जुन न फर्निचर बनाउन न दाउरा पोल्न काम लाग्छ |निराश भएर मैले सबै 'एड्नान थेरा' काटेर फाली दिएँ |
'एड्नान थेरा जस्तै नेपाली राजनीति भएको छ | राजनीतिमा जनताको सपना तुहिएको छ | किसानको सपना तुहाउने नक्कली रक्त चन्दन 'एड्नान थेरा ' काटेर फाल्न सकिन्छ तर जनताको सपना तुहाउने 'एड्नान थेरा ' जस्तो राजनीति फाल्न सकिएला ?
२०७३ जेठ २, धरान
http://boraaba.blogspot.com/
आठ
काठको बाकस
सरण राई
मलामिबाट फर्की सकेपछी दिनभरका घटनाहरु दिमागमा आई रहेका छन् | उकाली चढीसकेपछी काठको बाकस (लास राखेको कफिन ) बिसर्जन गर्न खनेको खाल्डो छेउ पुगियो | मुसलधारे झरी परेर बिस मिनट केहि गर्न दिएन | झरी थामीए पछी संस्कारने काम मृतकको नम्बरिले शुरु गरे |
"खोइ स्क्रु ड्राइभर , कसले बोकेको छ ?"
मृतक पुर्व भारतीय सैनिक थिए | सत्र वर्ष त्यहाँ काम गरेपछि अफगानिस्थानमा सैनिक भएर भर्ति भएका थिए | काबुलमा ड्युटी गरिरहेकै बेला बिद्रोहीको गोली लागी उनको प्राण गएको थियो | उनको लास काठको बाकसमा राखेर घर पठाईएको थियो | त्यो बाकस खोलिएको थिएन |
बाकस खोले पछी पत्नी छोराछोरीहरु लास हेरेर रुन थाले | सबै मलामिहरुको मन नमीठो भयो | उसका पुर्व नम्बरी चार जनाले पल्टनको झण्डा ओडाएर अन्तिम सलामी दिए | त्यसपछि एक मिनट मौन धारण गरेर काठको बाकस खाल्डोमा राखियो | मृत्यु संस्कार सम्पन्न भयो |
मैले मलामिहरुको अनुहार हेरेँ | बिभिन्न प्रतिक्रियाहरुको भाव खेलिरहेको थियो |
मुलुकमा गणतन्त्र अाईसकेपछी पनि देशवासीहरु विदेशीका लागि मारिने मर्ने पद्दत्ति रही रहनु ... दोष कसको हो ? सरकार , नेता र दलहरुलाई सर्वसाधारणहरुको जीवनसँग वास्ता नहुनु ,माया नहुनु र उनीहरुका लागि केहि गर्न नचाहनु .... कति दु:खदायी छ | त्यस्ता सरकार, नेता र दलहरुका पछी अन्धा भएर लाग्नेहरु झन् धिक्कारका कुपात्रहरु हुन् |
२०७३ जेठ १९ , धरान
http;//boraaba.blogspot.com/