01/07/2023
भाषा, विषयमा संवेदनशीलता, मानवीयताको भाव, कला र सिर्जना सिकाइका आयाम हुन् । विद्यार्थीहरुलाई यी आयामसँग सम्बन्धित व्यवहारिक ज्ञान र प्रयोगात्मक अभ्यास गराउने काठमाडौँ महानगरपालिकाको ‘शिक्षामा सिप’ कार्यक्रमबाट शिक्षामा सुधारको लक्ष्य प्राप्त गर्न हामी निरन्तर काम गरिरहेका छौँ । यो ‘टेक्निकल, एन्ड भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ (टिवेट) शैक्षिक अवधारणा अन्तर्गत सञ्चालन भएको हो ।
आज विद्यालयका निरीक्षणका लागि २ वटा विद्यालयमा पुगेका थिएँ । उपप्रमुख सुनिता डंगोल २ वटा विद्यालयमा जानुभएको थियो । यस्तै काठमाडौँ विश्वविद्यालयका प्राध्यापकसहितको टोली विद्यालय हेर्न आएको थियो । विश्वविद्यालयले स्नातकोत्तर तहमा टिवेट तालिम र अनुगमन लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । आजको निरीक्षण अनुभव आदान प्रदानका लागि हो ।
कार्यक्रमअन्तर्गत ५६ वटा विद्यालयमा ९० घण्टे तालिम सफलतापूर्वक सञ्चालन भइरहेको छ । निर्दिष्ट गरिएका विधामध्ये धेरै विद्यार्थीहरुको सहभागिता मोवाइल एण्ड एलेक्ट्रोनिक्स विधामा छ । यसमा २२ वटा कक्षा चलेका छन् । दोस्रो रुचिको विधामा कुलिनरी आर्टस छ । यसमा १३ वटा कक्षा छन् । यस्तै व्युटिसियन एण्ड हेयर स्टायलमा १२ वटा, फेसन डिजाइन एण्ड क्लोथिङ्क कन्स्ट्रक्सन (फेसन डिजाइन र कपडा निर्माण)मा ११ वटा, घरमा तार र विजुली जडान (हाउस वायरिङ् एण्ड इलेक्ट्रिकल) मा ९ वटा, एग्रिकल्चर एण्ड अर्वन फार्मिङ्गमा ६ वटा, प्लम्बिङ्मा ३ वटा, कला र मूर्तिकला (स्केचिङ् एण्ड स्कप्चर) मा २ वटा, कार्पेन्ट्री एण्ड उड कार्भिङ् (काठमा बुट्टा कुँदेर बेलबुट्टा भर्ने काम) र विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) डकर्मी कलामा १÷१ वटा कक्षा चलेका छन् ।
आज नमूना कार्यक्रमको अन्तिम हप्ताको कार्यक्रम हो । यसपछि पनि कार्यक्रम निरन्तर चल्नेछ ।
कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, शिक्षा तथा शैक्षिक क्षेत्रका अधिकारी तथा विषयविज्ञसँग अहिलेसम्मको पृष्ठपोषण लिन्छौँ । यसबाट सिकाइ, चुनौती र सम्भावना थाहा हुन्छ ।
यो अनुगमनको लागि टुल्स बनाउन सीटीइभिटीका पूर्व महानिर्देशकसँग विज्ञताका लागि सहकार्य गरेका थियौँ । महानगरको शिक्षा विभाग र सञ्चार विभागले हरेक हप्ता अनुगमन निरीक्षण गरेर प्रतिवेदन लिइरहेका छन् ।
यस अवधिसम्मको सहयात्रा र सहभागिताप्रति सम्बद्ध सवैप्रति आभार प्रकट गर्दछु । आगामी दिनमा यहाँहरुबाट समान रुपमा सहयोग प्राप्त भइरहने अपेक्षा गरेको छु ।