18/10/2023
एकचा्टी पढाैं जिन्दगी भर काम लाग्न्छ।
एकजना शिक्षकले आफ्नो प्रधानाध्यापकसँग अनुरोध गरे, "मलाई यो विद्यालयमा काम गर्न मनै लागेन । मेरो यहाँबाट सरूवा गरिदिनु पर्यो ।"
प्रधानाध्यापकले सोधे, "तर, किन ? खास कारण के हो ?"
शिक्षकले भने, "यहाँका शिक्षक कर्मचारीहरूले एक अर्काको बारेमा कुरा काट्दा रहेछन । त्यत्तिकै काम नगरेर बस्दा रहेछन । केहीले त आफ्नै साथीहरूलाई गलत नजरले हेर्दा रहेछन । यहाँ धेरै काम गलत भइरहेका छन् । म यहाँ कुनै हालतमा पनि बस्न चाहन्न ।"
प्रधानाध्यापकले शिक्षकलाई भने, "तपाईं यो विद्यालय छोड्न चाहनुहुन्छ भने ठिकै छ । तर जानु अगाडि कृपया एक काम गर्नुहोस् । त्यो के काम भने पानीले भरिएको एउटा गिलास हातमा समातेर एक थोपा पनि पानी नपोखी सबै कार्यकक्षहरूमा तीन पटक घुमेर आउनुहोस् ।"
शिक्षक आफ्नो प्रधानाध्यापकले भनेझैँ ३ पटक घुमेर आए । अनि प्रधानाध्यापकलाई भने, "यहाँले भनेअनुसार मैले गरें हजुर !"
त्यसपछि प्रधानाध्यापकले शिक्षकलाई सोधे- "तपाईं ३ पटक कार्यकक्षहरूमा घुम्दा कुनै कोठामा शिक्षक, कर्मचारीले कुरा गरेर बसेको, कुरा काटेको वा अवाञ्छित गतिविधि गरेको केही देख्नुभयो ?"
"त्यतातिर त मैले ध्यान नै दिइन, हजुर !" शिक्षकले भने ।
"किन त्यस्तो भयो, थाहा छ ?" प्रधानाध्यापकले सोधे ।"
"थाहा छैन ।" शिक्षकले भने ।
प्रधानाध्यापकले शिक्षकलाई सम्झाउँदै भने, "पानीले भरिएको गिलास लिएर घुम्दा तपाईको पूरा ध्यान गिलासमा थियो । त्यसबाट पानी पटक्कै नपोखियोस् भन्नेमा मात्र थियो । हो, जीवन पनि यस्तै हो । जब हाम्रो पूरा ध्यान आफ्नो प्राथमिकतामा रहन्छ, हामीलाई अरूले के गलत काम गरिरहेका छन् भनी हेर्ने फुर्सद नै हुँदैन ।"
आफ्नो प्राथमिकतामा ध्यान दिउँ, अरूका गल्तीमा होइन ।