ANI Nepali

ANI Nepali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ANI Nepali, News & Media Website, Delhi, Delhi.

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सा...
10/12/2023

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको आयोजना गरेको छ ।
मङ्सिर २२ गतेदेखि लुम्बिनीमा सुरु भएको सो महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
बौद्ध धर्मलाई केन्द्रमा राखी नेपाल–भारतको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई सो महोत्सवमा देखाइने बताइएको छ । महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरूले तयार पारेको ‘स्यान्ड मण्डला’ चित्रकला प्रदर्शनी रहेको थियो ।
स्यान्ड मण्डला चित्र एक परम्परागत बौद्ध कला हो, जसमा रङ्गिन बालुवाको प्रयोग गरी जटिल डिजाइनहरू सिर्जना गरिन्छ । प्रदर्शनीमा भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरूको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो ।
महोत्सवमा प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्बिरमा आधारित फोटो प्रदर्शनी, नेपाल–भारतको परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र सांस्कृतिक कार्यक्रम रहने बताइएको छ ।
महोत्सवमा बौद्ध सम्पदास्थलका आकर्षक तस्बिर समेटिएको फोटो प्रदर्शनीलाई पनि समावेश गरिएको छ । सो फोटो प्रदर्शनीमा प्राचीन कालदेखि अहिलेसम्मका बौद्ध धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे विस्तृत जानकारी दिइने बताइएको छ ।
महोत्सवमा भारतको लेहस्थित थिक्से मठका कलाकारहरूको चाम नृत्य, दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरूको भरत नाट्यम, स्थानीय कलाकारहरूको थारु नाच र नेपालको सुकर्म ब्यान्डले प्रस्तुत गरेको सितार वादनसहितको सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
मङ्सिर २२ गते बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा महोत्सवकै एक हिस्साको रूपमा ‘सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव अन्वेषण’ शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो । अब हरेक वर्ष लुम्बिनीमा यो खालका महोत्सव आयोजना गर्ने विषयमा पनि छलफल भएको छ ।
यस्ता महोत्सवले साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरूलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने विश्वास समेत लिइएको छ । स्यान्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी आगन्तुकहरूका लागि शनिवार पनि खुला रहने बताएको छ ।

सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी गरेको निर्देशिका र टिकटकमाथिको प्रतिबन्धप्रति सामाजिक सञ्जाल प्ला...
10/12/2023

सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी गरेको निर्देशिका र टिकटकमाथिको प्रतिबन्धप्रति सामाजिक सञ्जाल प्लाटफर्महरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी)ले चासो व्यक्त्त गर्दै नेपाल सरकारलाई पत्र पठाएको छ ।
डिजिटल प्लाटफर्मको नियमन आवश्यक भए पनि सरकारका पछिल्ला कतिपय निर्णयहरू विश्वव्यापी अभ्यासभन्दा फरक र सरोकारवाला क्षेत्रसँग छलफल नगरी लागू गरिएको पत्रमा उल्लेख छ ।
गुगल, एप्पल, मेटा, अमाजन, याहु, लिंक्डइन, राकुटेन, स्पटिफाइजस्ता सूचना प्रविधि कम्पनीहरू सदस्य रहेको एआईसीले मंगलबार (डिसेम्बर ५) मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्राचार गरेको थियो । सरकारले सम्बन्धित उद्योग र नागरिक समाजसँग छलफल नगरी र तयारीका लागि समय नै नदिई अपरझट ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ लागू गरेकोमा मुख्य चासो रहेको पत्रमा उल्लेख छ ।
‘सामाजिक सञ्जाल प्लाटफर्महरू अनिवार्य रूपमा मन्त्रालयमा सूचीकृत हुनुपर्ने व्यवस्थाले नेपालमा प्रत्यक्ष विदेशी लगानीलाई निरुत्साहित गर्नसक्छ,’ पत्रमा भनिएको छ, ‘साथै, चौबिस घण्टाभित्र सामाग्री हटाइसक्नुपर्ने कठोर प्रावधानले सामाजिक सञ्जाल प्लाटफर्मलाई अभिव्यक्ती स्वतन्त्रतासँग जोडिने विषयमा उचित अध्ययन गर्न बाधा पुर्‍याउनेछ ।’
निर्देशिकाको दफा ८ (ख) मा कानुनविपरीत सामग्री प्रकाशन वा प्रसारण भएको गुनासो प्राप्त भएमा सोको पहिचान र यकिन गरी सो सामग्री चौबिस घण्टाभित्र हटाउने व्यवस्था छ । त्यस्तै, एआईसीले पछिल्लो टिकटक प्रतिबन्धसँगै अन्य एपहरूमा पनि सरकारले निगरानीको तयारी गरेको विषयमा आपत्ती जनाएको छ । उचित कानुनी प्रावधान निर्माण नगरी यस्ता कदम चाल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको पत्रमा उल्लेख छ । ‘अपरझट गरिने प्रतिबन्धात्मक पहल नभइ हामी पारदर्शी र निष्पक्ष प्रक्रियाको महत्त्वलाई जोड दिन्छौं,’ एआईसीको भनाइ छ, ‘प्रतिबन्धले लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्न र नेपाल सरकारको डिजिटल नेपाल लक्ष्यमा अवरोध पुर्‍याउन सक्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सञ्चार सचिव कृष्णबहादुर राउत र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई बोधार्थ गरिएको पत्रमा एआईसीका प्रबन्ध निर्देशक जेन पेइनले यी विषयहरूमा गहन छलफलका लागि यथाशीघ्र बैठकको तालिका बनाउन अनुरोध गरेका छन् ।

सरकारले काठमाडौंस्थित भारतीय दूतावासले बाँड्ने अनुदानको रकम बढाएर हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट कार्यक्रम (एचआईसीड...
10/12/2023

सरकारले काठमाडौंस्थित भारतीय दूतावासले बाँड्ने अनुदानको रकम बढाएर हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट कार्यक्रम (एचआईसीडीपी) स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा यो कार्यक्रम स्वीकृत गरेको हो, जसअनुसार अब भारतीय दूताबासले एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्न सक्ने अधिकारीहरूले बताएका छन् ।
साना आयोजनाहरुमा सोझै लगानी गर्ने गरी भारतले २०६५ सालदेखि साना विकास परियोजना (एसडीपी) सञ्चालन गर्दै आएको छ । सुरुमा अधिकतम् ३ करोडसम्मका आयोजनाहरु दूतावासमार्फत चलाइएपनि डा. बाबुराम भट्टरराई प्रधानमन्त्री हुँदा ५ करोड रुपैयाँसम्म पुर्‍याइएको थियो ।
पछिल्लो पटक १६ साउनमा मन्त्रिपरिषदले एसडीपीको अवधि थप ३ वर्ष (२० साउन २०८३) सम्म सञ्चालन गर्न स्वीकृति दिएको थियो । यो परियोजनामार्फत हुने रकम सरकारी बजेटरी प्रणालीमा आउँदैन । दूतावासले साझै परियोजनाहरुमा खर्च भएकोे बजेट आफैंले भुक्तानी गर्छ ।

मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प...
09/12/2023

मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ ।
स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताए ।
‘मुस्ताङमा फलेको मध्ये ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको छ’, उनले भने, ‘करिब पाँच सय मेट्रिक टन स्याउ बेमौसममा बिक्री गर्न चिस्यान गृहमा राखिएको छ ।’
कृषकले बिक्री गरेको सरदर प्रतिकिलो रु एक सय १० का दरले हिसाब गर्दा रु ४९ करोड २५ लाख २५ हजार मूल्य बराबरको स्याउ निकासी भएको स्याउ जोन कार्यालयले जनाएको छ ।
म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारीले बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रुपमा स्याउ किनेर लैजाने गर्छन् ।
धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ पुगेका व्यापारी शिवाङ तामाङले बेनी, बागलुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च हुने गरेको बताए । पातलो फले पनि दाना ठूला र स्वादिष्ट रहेको उनले बताए ।
बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छन् । मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती गरिएको छ ।
मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएका स्याउका बोटले उत्पादन दिने गरेको छ । करिब ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती गरिएको छ ।
गत वर्ष मुस्ताङमा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएकामा यसपालि २४ दशमलव ५८ प्रतिशतले उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए ।
‘फूल खेलेर परागसेचन हुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेकाले उत्पादन घटेको हो’, उनले भने, ‘स्याउको फूल फुल्ने समय वैशाख-जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेसन)हुन नपाउँदा उत्पादनमा असर परेको हो ।’
केन्द्रले मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैँचामा क्रम कटिङ विधिबाट उत्पादकत्वको विवरण सङ्कलन गरेर तथ्याङ्क बनाएको जनाएको छ ।
थासाङ गाउँपालिकाको कूल एक सय आठ हेक्टरमा पाँच सय ५१ दशमलव ८८ मेट्रिक टन, घरपझोङ गाउँपालिकाको दुई सय ८२ हेक्टर क्षेत्रफलमा दुई हजार चार सय दुई दशमलव ६४ मेट्रिक टन, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक सय ८३ हेक्टर क्षेत्रफलमा एक हजार नौ सय २३ दशमलव ३३ मेट्रिक टन, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको १२ हेक्टरमा ९५ मेट्रिक टन र लोमान्थाङ गाउँपालिकाको शून्य दशमलव २५ हेक्टर क्षेत्रफलमा एक दशमलब ९९ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।
गतवर्ष रु पाँच करोड मूल्यको स्याउ बिक्री गरेका घरपझोङ गाउँपालिका-२ स्याङका किसान कर्म गुरुङले यस वर्ष रु तीन करोडको मात्र स्याउ बिक्री भएको बताए ।उनको बगैँचामा एक हजार पाँच सय बोट स्याउले उत्पादन दिन्छ । स्याउ टिपेर बजार पठाएपछि मुस्ताङका किसान बगैँचामा व्यवस्थापनमा जुटेका छन् ।
सडक यातायातको सुविधासँगै सहज बजार र राम्रो मूल्य पाउन थालेपछि मुस्ताङका किसान स्याउ खेतीमा आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार गत वर्षसम्म कूल एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको थियो ।
यस वर्ष २० हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, स्याउ राख्ने प्याक सहयोग, सिँचाइ, चिस्यान गृह निर्माणलगायत काममा किसानलाई सहयोग गरेका छन् ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखे...
09/12/2023

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउँछन् । उनी भन्छन्, ‘विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।’
उनी भन्छन्, ‘हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण तालको क्षेत्रफल निकै ठूलो रहेको थियो । अहिले बगर बनेको छ । ताल नै छैन । त्यही तालदेखि गङ्गापूर्ण हिमालसम्म मनमोहक हिउँ थियो, त्यो पनि अहिले छैन । आँखै अगाडि ताल सुक्यो, हिमाल हरायो ।’
पहिले पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङ बताउँछन् । उनी भन्छन्, ‘किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ । समयमा हिमपात हुनै छाड्यो । यसले यहाँ धेरै असर गरेको छ । समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन् । हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ ।’
उनलाई बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रुपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको उहाँ बताउनुहुन्छ । याङदुङ भन्छन्, ‘हिमाली भेगमा पानी भनेकै हिउँ हो । हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै ! हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखापर्ने भएको छ ।’
जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन् ।
नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताउँछन् । उनी भन्छन्, ‘पहिले पहिले पर्यटकले मनास्लु हिमाल नजिकैको लार्के पिक आरोहण गरेको थाहा पाएका थियौँ । अहिले लार्के पिक हराएको छ ।’
‘मनास्लु हिमालको छेउको लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको छ । तर त्यो लार्के पिक अहिले छैन’, गुरुङ थप्छन्, ‘२०४३ सालसम्म लार्के पिक थियो । अहिले त्यो नाङ्गो डाँडा भइसकेको छ । यसबारे सरकारले अध्ययन नै गरेको छैन । यस्ता विषयलाई सरकारले गम्भीर रुपमा लिन सक्नुपर्ने हो ।’
पथप्रदर्शकले लार्के पिक भनेर लार्के हिमाल आरोहण गराउन थालेको वर्षौं भइसक्यो । ‘हिजो देखेको ताल आज देख्न नपाउने, हिजो देखेको हिमाल आज देख्न नपाउने । हाम्रै जीवनभरिमा ठूलो फेरबदल आएको छ’, गुरुङ भन्छन्, ‘उच्च हिमाली क्षेत्रमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । बेलाबेलामा विपद खेप्नुपरेको छ । तर रोक्ने उपाय हामीसँग छैन र न्यूनीकरण गर्न समेत सकिरहेका छैनौँ ।’
पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ आफ्नो उमेर बढेसँगै मौसममा आएको परिवर्तनले विश्व नै फेरबदल भएको लाग्न थालेको बताउँछन् ।
अरु क्षेत्रमा भन्दा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘यहीँको गङ्गापूर्ण ताल हेर्दाहेर्दै विलीन भयो । हामीले देखेका यी हिमनदी (ग्लेसियर) माथि सरेका छन् । यसलाई नियन्त्रण, न्यूनीकरण गर्नेतर्फ कसले सोचेको छ ?’
नासों गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्र घले भन्छन्, ‘ताचै गाउँको डाँडामा असारसम्मै हिउँको थुप्रो हुन्थ्यो । कुनै वर्ष त बाहुनडाँडा (लमजुङ) सम्म परेको हिउँ लामो समय रहन्थ्यो । आजभोलि आरीघोप्टे पानी पो पर्छ । गएको वर्ष त हिउँ देख्न पनि पाइन्न भन्दा भन्दै बेमौसममा हिउँ पर्‍यो । त्यो पनि पर्याप्त परेन ।’
खेतबारीमा पहिले भएका जीव किरा हराएको र नयाँ प्रजातिका किरा देखिन थालेका उनी बताउँछन् । ‘यहाँका डाँडाहरुमा भेटिने हाब्रे पनि लोप भएका छन् । डोना तालको बाटोबाट गोठमा जाँदा ४०–५० वटा हाब्रे भेट्थ्यौँ । एउटै रुखमा ५–७ वटा हुन्थ्यो । १० वर्ष अगाडि त हाब्रेको दिसासम्म देखिन्थ्यो । आजभोलि खोज्दा पनि देखिदैन’, उनी भन्छन् ।
हिमाली जिल्लामा विपद्
विसं २०७८ मा मनसुनको सुरुआतमै विपद आइलाग्यो । मनाङमा बाढीले अधिकांश पूर्वाधारमा क्षति पुर्‍यायो । मस्र्याङ्दी किनारका बस्ती खण्डहर भए । विसं २०७८ जेठ १४ र असार १ गते अनावृष्टि भयो ।
अनावृष्टिले मनाङको भौतिक तथा प्राकृतिक क्षेत्रमा अधिक क्षति पुग्यो । जसबाट हालसम्म पनि मनाङ उठ्न सकेको छैन । मस्र्याङ्दी नदी किनार भएर यहाँका बस्ती बसेका छन् । विगतमा हिउँ पर्ने स्थानमा नै अहिले वर्षा हुन थालेको छ । यसले पनि यहाँका स्थानीयमा त्रास छ ।
मर्स्याङ्दीमा यस्तो ठूलो र क्षति पुर्‍याउने गरी बाढी कहिल्यै थाहा नपाएको यहाँका स्थानीय बताउँछन् । ‘नदी किनारमै झुप्प परेर बसेको बस्ती सखाप पर्छ भनेर नै सोचिएन । एक्कासी बाढी आउँदा हाम्रा जिजुबाजेको पालादेखि बसेको बस्ती सखाप भयो ।
हामीभन्दा पनि ज्येष्ठ व्यक्तित्वले समेत यस्ता बाढी आएको कसैले नदेखेको र नभोगेको प्रलय तालगाउँबासीले भोग्यौँ”, नासों गाउँपालिका-१ का वडाध्यक्ष मिनराशी गुरुङ भन्छन्, ‘अलिअलि जानेका मान्छेले जलवायु परिवर्तनको असर भनिरहेका छन् । परम्परागत बुझाइ अनुसार कली बहुलाएको भन्ने पनि गरिन्छ ।’
उनले तालगाउँका खोलामा बिस्तारै माछा भेटिन थालेको बताए । ‘यहाँका खोला नदीमा माछा नै पाइँदैन थियो । अहिले देखिन थालेको छ । यति चिसो पानीमा माछा हुर्किने परको कुरा, बाँच्दै बाँच्दैनथ्यो । पहिला पहिला हामीले माछा पाल्न प्रयास गरेका हौँ । तर ल्याएर हालिएको भुरा नै मरे’, उनले भने, ‘ आजभोलि खोलामा माछा मज्जासँग खेलिरहेको देखिन्छ । अनौठै लाग्छ ।’
चिसो पानीमा हुने ट्राउट माछा मनाङमा व्यावसायिक पालन हुन थालेको छ । तर, विगतमा ट्राउट माछा बाँच्नै नसक्ने भए पनि अहिले व्यावसायिक रुपमा पाल्न थालिएको उनले बताए ।
नासों गाउँपालिका-६ तिल्चेका होटल व्यवसायी गुणराज गुरुङ भन्छन्, ‘हिउँ पर्ने सिजन नै फेरिएको छ । हामीले उत्पादनमा जलवायु परिवर्तनको अनुभव गरिरहेका छौँ ।’ उनी भन्छन्, ‘पुस-माघमा बेस्सरी हिउँ पर्थ्यो। आजकल वैशाख, जेठमा पर्छ । यसको कारण के हो ? झारपातमा पनि धेरै फरकपन आएको छ । नौलो नौलो झारपात देखिन थालेका छन् । हाम्रो ठाउँमा खुर्सानी र गोलभेँडा हुन्थेन । आजभोलि व्यावसायिक खेती हुन थालेको छ । भेडेखुर्सानी मजाले उत्पादन भइरहेको छ ।’
यहाँ उत्पादन नै नहुने फलफूल तथा तरकारीको उत्पादन हुन थालेको उनी बताउँछन् । ‘प्याज, काँक्रो पनि उत्पादन हुन थालेको छ,’ उनी भन्छन्, ‘यहाँको तापक्रममा पनि परिवर्तन आएको छ । विगतमा बाक्लो ज्याकेट र स्वीटर लगाएर बस्ने हामी अहिले दिउँसोमा टिसर्ट लगाएर बस्छौँ ।’
गुणराज भन्छन्, ‘कारण के हो भन्ने त हामी गाउँलेलाई के थाहा ? तर वर्षैपिच्छे दैनिकीमा ठुलो अन्तर भोगिरहेका छौं ।’ हिउँ पर्ने स्थानमा अहिले झरी पर्न थालेको उनी सुनाउँछन् ।
दुई वर्षअघि तल्लो मनाङमा मात्रै होइन, जिल्लाको सुदूर उत्तरमा रहेका नार र फूमा पनि झरी पर्‍यो । हिउँ मात्रै पर्ने ठाउँ भएर यहाँका नागरिकले तातोका लागि माटोको घरमा माटोकै छानाले छाउँथे ।
अघिल्लो वर्षामा पानी पर्दा माटोको छाना चुहिन थाल्यो । केही घर बगायो पनि । ‘आम्मामा पहिलो पटक फूमा यत्रो ठूलो झरी पर्‍यो । गाउँलेको भागदौड नै चल्यो नि,’ नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामा भन्छन्, ‘ग्लेसियर पग्लेर जमिन मरुभूमि जस्तो हुन थालेको छ । गाउँलेको जीवनमा धेरै सङ्कट आइरहेको छ ।’ उच्च हिमालमा नयाँ ताल देखिन थालेको र पुराना तालहरु हराएको उनी बताउँछन् ।
नासों गाउँपालिकाको टुप्पोमा रहेको डोना तालको आकार निकै बढेको छ । सन् १९९४ मा नाप्दा तालको लम्बाई एक हजार तीन सय मिटर थियो । सन् २०११ मा नाप्दा दुई हजार पाँच सय मिटर पुग्यो । अहिले नाप्यो भने अझै बढेको छ ।
‘तालको लम्बाइ बढ्यो, चौडाई चाहिँ घटेको छ । कुन दिन के हुने हो भनेर चिन्ता बढेको छ,’ नासों–५ का वडाध्यक्ष थुतेन लामा भन्छन् । अचेलका अव्यवस्थित विकासका कारण भू-क्षयका घटना बढेका उनी बताउँछन् ।
हिमाली क्षेत्रमा लामो समय अनुभव बटुल्नुभएका नरेन्द्र लामा हिमाली जलवायुले अस्वाभाविक रुप देखाएको बताउँछन् । ‘हामी हिमाली क्षेत्रको भ्रमण गर्दा हिजो जस्तो अवस्था थियो, आज त्यस्तो कहाँ पाउनु ? माथिल्लो क्षेत्रको स्वभाव धेरै फेरिएको छ,’ उनी भन्छन्, ‘जङ्गलमा पहिरो झर्ने, बाढी आउने भइरहेको छ । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडो हुन थालेको छ ।’ सरकारले समयमै जलवायु परिवर्तनको नियन्त्रणको उपाय खोज्नुपर्ने उनको भनाइ छ ।
पर्याप्त हिउँ परेन
गत वर्ष मनाङमा हिउँद सकिन लाग्दासम्म पनि पर्याप्त हिउँ पर्न सकेन । विगतका वर्षमा हिमपातले आवागमन घरबाट बाहिर निस्कन नसकिने मनाङमा आवश्यक मात्रामा नै हिउँ परेन ।
गत वर्षको फागुन महिनाको मध्यसम्म हिमपात नै भएन । सो समयमा आंशिकमात्र हिउँ परेको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरे बताउँछन् । ‘पहिले पहिलेको जस्तो गत वर्ष हिउँ नै पर्न सकेन’, उनले भने, ‘यस वर्ष सुरुआती हिमपात भयो । जाडो सुरु भएको छ । डाँडा माथिल्लो भागमा भने हिउँ परेको देखिन्छ, तर बजार क्षेत्रमा हिउँ पर्न सकेको छैन ।’
गतवर्ष हिमपात बढी हुने क्षेत्र माथिल्लो मनाङमा आंशिक रुपमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका ओमबहादुर गुरुङले बताए ।
‘विगतका वर्षमा हिउँले डाँडाकाँडा, भिरपाखा सेताम्मे भएर ढाकिएको हुन्थ्यो, गत वर्ष आंशिक रुपमा देख्न पनि मुस्किल भयो,’ उनले भने । हिमपात नहुँदा यसले विशेष गरी कृषि क्षेत्रमा असर पर्‍यो, मनाङका कृषक चिन्तित भए । हिमाली जिल्लामा नै हिमपात नभएपछि यहाँका मानिस के खाएर बाँच्ने भन्ने चिन्ताले सताएको ताचैका सोलबहादुर गुरुङले बताए ।
‘मनाङको मुख्य उत्पादन भनेको फापर, करु, जौ, आलु, कोलो, स्याउ हो, हिमपात नहुँदा पानीको अभावले यी कृषि उपज उत्पादन हुन पर्याप्त पानीको मात्रा पुगेन र यस वर्ष उत्पादन राम्रो भएन”, उनले भने ।
मनाङमा कात्तिकको अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट हिमपात हुनुपर्ने भए पनि गत वर्ष फागुन अन्तिम सातासम्म हिमपात भएन । वातावरणमा परिवर्तन आएकाले मनाङमा पर्याप्त हिउँ पर्न नसकेको स्थानीय बताउँछन् ।
यसरी हिउँको पानी सिञ्चित भएर खेतीपाती गरिने स्थानमा हिमपात नहुँदा मनाङ लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषकको उत्पादन घट्ने क्रम बढ्दो छ ।
हिउँ चितुवाको संरक्षण
हिउँ चितुवालाई हिमालको रानी मानिन्छ । यसले हिमाली क्षेत्रको वातावरणको सूचक पनि हो हिउँ चितुवा । अहिले हिमाली क्षेत्रमा नै लोपोन्मुख अवस्थामा पुगेका छन् ।
लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको हिउँ चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेशनका संयोजक नरेन्द्र लामाले बताए । उनले भने, ‘हिउँ चितुवाको भूमिकालाई मानवले बुझ्न आवश्यक रहेको छ ।’
उनका अनुसार लोपोन्मुख हिउँ चितुवाको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने अवस्था रहेको छ । उनले भने, ‘अब हिउँ चितुवा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटक आगमनलाई बृद्धि गर्नुपर्छ । हाम्रो मुख्य आयस्तर नै पर्यटन भएकाले यसको पनि उपयोग गर्नुपर्छ ।’
हिउँ चितुवा बृद्धिले वातावरण सन्तुलनको सन्देश जाने उनले बताए । हिउँ चितुवाको वृद्धिले वातावरण सन्तुलन छ भनेर बुझ्न सकिन्छ भने चितुवाको सङ्ख्या घट्नुले जलवायु परिवर्तन भएको स्पष्ट सन्देश दिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।
उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको बताए । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानका रुपमा परिचित रहेको विज्ञ बताउँछन् ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेल भन्छन्, ‘हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा छ, स्वच्छ छ, हिमाली वातावरण सन्चो छ भनेर बुझिन्छ ।’
विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा रहने गरेको छ । मनाङमा करिब २५ रहेको आङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ ।
कार्यालयका अनुसार केही वर्षयता चितुवाको सङ्ख्या घटेको अनुमान गरिएको छ । यसले कम सङ्ख्या हुने भए पनि विश्वको वातावरण सन्तुलनमा भूमिका खेल्ने विज्ञहरुको भनाइ छ ।
हिमाल काला पत्थर
वर्षमा दुई पटक हिमपात हुने मनाङमा आजकल हिमपात मुस्किलले हुन्छ । हिमपात नभएपछि यहाँका हिमशृङ्खला कालापत्थरमा परिणत भएको देखिन्छ ।
पुसदेखि माघसम्म हिउँले ढाकिएर सेताम्मे देखिनुपर्ने हिमालमा हिउँ कम देखिन थालेको स्थानीय याङ्दुङ गुरुङ बताउँछन् । उनले भने, ‘पहिलेजस्तो हिमपात अहिले हुँदैन । हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् ।’
मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको उनले बताए । हिउँ कम पर्दा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, चलु फरेस्ट, हिम्लुङ, मनास्लु, निलगिरी, तिलिचो पिक, थोराङ पिकलगायत हिमालको रङ उडेझै फिक्का देखिन थालेका छन् ।
मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । उनले जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको बताए ।
फेरिँदै व्यवसाय
हिमाली क्षेत्रका किसान पनि परम्परागत पशुपालन व्यवसायलाई फेर्न बाध्य हुन थालेका छन् । पशुपालनका लागि वातावरणमा आएको परिवर्तनले निकै महत्व राख्ने गरेका मनाङको नासों गाउँपालिका–४ का पशु व्यवसायी सुरेश थकाली बताउँछन् ।
व्यावसायिक रुपमा पशुपालनमा लाग्नुभएका थकाली मौसम फेरिँदा पशुपालन घट्न थालेको उनी बताउँछन् । ‘पहिला याक, चौँरी गन्न नसक्ने गरी पालिन्थ्यो, अहिले त कति छ भनेर आँखा अगाडि फ्याट्टै भन्न सकिन्छ, वातावरणमा आएको परिवर्तनले चरणका खर्क माथि सरेका छन्, उनले भने ।
पहिले करिब एक सय याक, चौरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले घट्दो क्रममा रहेको थकालीले बताए ।
थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) पालिएको छ । याक, चौरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेको उनले बताए । ‘पशुपालक किसान आजभोलि लेकका खर्कतर्फ जान चाहँदैनन् । खर्कमा याक, चौरी पाल्न सकिँदैन । पहिला ६०/७० याक, चौँरी पालेको थिएँ, अहिले ४०/५० झोपा पाल्न थालेको छु’, व्यवसायी थकालीले भने ।
ढुवानी र ऊनका कपडा लोप हुँदै
विकट तथा हिमाली जिल्लामा पशुपालनका रुपमा रहेको याक, चौँरी, घोडा, खच्चर ढुवानीका प्रमुख साधन हुन् । मोटरेबल सडक निर्माण भएसँगै ढुवानीका प्रमुख साधन नै फेरिएको छ । विगतमा जिल्लामा सामान ढुवानीका लागि नै याक, चौँरीको प्रयोग गरिन्थ्यो ।
गणना गर्न नसकिने याक चौँरीलाई भारी बोकाएर एक स्थानबाट अर्को स्थानमा सामान ल्याउने लैजाने गरिन्थ्यो । तर, अहिले मनाङमा यस्तो गरिन्थ्यो भन्ने कुरा कथा मात्रै बनेका छन् ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामा भन्छन्, ‘हामीले मनाङमा स्थलमार्गको ट्रयाक नबन्दै गर्दा याक, चौँरीमार्फत सामग्री ढुवानी गरेको देखिन्थ्यो । तर, यो अहिले पूर्ण रुपमा हराएको छ । अहिले त हामीलाई पनि कथा भनेको जस्तो लाग्छ ।’
‘तल्लो मनाङबाट माथिल्लो मनाङ याकचौँरीमार्फत नै सामान ढुवानी हुन्थ्यो,’ उनले भने । अहिले सडक र पशुपालनमा कसैको पनि चासो नहुँदा ढुवानी होइन आम्दानीका स्रोत नै फेरिँदै गएको उनको बुझाइ छ । याक चौरीँको माध्यमबाट नै मनाङमा कृषि व्यवसाय जोत्न र सामग्री ढुवानी गर्न प्रयोग गरिन्थ्यो । तर, अहिले यसको प्रयोग घटेको छ ।
हिमाली क्षेत्रमा भेडाच्याङ्ग्रा प्रशस्त पाल्ने र यिनैको ऊनबाट बनाइएका कपडा प्रयोगमा हुन्थे । बाह्य कपडा आयात गर्ने प्रचलन थिएन । तर, अहिले यसको प्रयोगमा पनि परिवर्तन आएको छ ।
याक, चौँरी, भेडाच्याङ्ग्राको ऊनबाट बनाइएको लुगा नै लगाइन्थ्यो । अहिले त कुन देशबाट आउँछ भन्ने भन्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । यहाँका पुराना मानिसले याक, चौँरी र भेडाच्याङ्ग्राको ऊनबाट बनेका भाङ्ग्रालगायत कपडा उत्पादन गर्न कम भएको छ ।
लामाले पशुपालन घटेसँगै ऊनका सामग्री बनाउन पनि कम भएको बताए । याक चौँरी कम पाल्न थालिएपछि सामग्री ढुवानी र यात्राको सहजताका लागि यस पालिकालाई सडक सञ्जालसँग जोड्न थालिएको अध्यक्ष लामाले बताए ।
पशुपालक किसानलाई आकर्षित र व्यवसायलाई निरन्तरता दिनका लागि स्थानीय सरकारले प्रोत्साहन गर्न उन्नत प्रजातिका याकका ब्याडमा ५० प्रतिशत अनुदान दिएको छ । पशुपालनलाई निरन्तरताका लागि ल्याइएको योजनाले यहाँका पशुपालक कृषकलाई प्रोत्साहन मिल्ने स्थानीय सरकारले अपेक्षा गरेको छ ।
हिमाली क्षेत्र मनाङमा हिउँदमा समेत आवश्यक हिउँ नपर्दा याक, चौँरी र भेडाच्याङ्ग्राको चरन क्षेत्रमा जलवायु प्रदूषणको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र पशुपालन व्यवसायका लागि पानी अत्यावश्यक मानिन्छ ।
तर यहाँ सुक्खा र खडेरी भएर मरुभूमिको आभास हुन थालेको छ । हिउँ नपर्दा यहाँ पानीको अभावले कृषि र पुशपालनमा असहज भएको कृषकको भनाइ छ । पानीको अभावले चरन क्षेत्र घटेको किसान बताउँछन् । यसले गर्दा पशुपालन र कृषि क्षेत्र प्रभावित भएको उनीहरुको भनाइ छ ।
हिमपात समयमा भएको भए बिरुवा र पशुपक्षीले खानेपानीको जोहो हुने थियो । तर अहिले खोला, नदीको भर पर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । पानी नै मुख्य आवश्यकता हो । मौसम प्रतिकूल हुँदा यहाँ पशुपालन घट्ने अवस्था देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले जनाएको छ ।
संकटमा पदमार्ग
लामो समय हिमाली जिल्ला मनाङ पुग्न पदयात्राबाट मात्रै पुगिन्थ्यो । पदयात्रामार्फत नै यहाँको रमणीय स्थलमा रमाउन विदेशी पर्यटक आउने गर्दथे । स्थानीय पर्यटक कमै पुग्ने भए पनि विदेशी पर्यटक पदयात्रामा रमाउँदै मनाङका रमणीयस्थलमा पुग्थे । तर, मनाङ पुग्न सहज बनाउने उद्देश्यले ३१ वर्षअघि नेपाली सेनाले स्थलमार्गको ट्र्याक खोल्यो ।
नेपाली सेनाले २०६९ सालमा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकको ट्र्याक खोलेर यात्रा सहज बनाइयो । सेनाले सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्दा यस भेगका धेरै जनामा खुसियाली छाएको थियो ।
यस सडक सञ्जाल निर्माण भएपछि भने यहाँका स्थानीय, पर्यटक र भारी बोकेर दैनिकी चलाउने मजदुरलाई भने असर गरेको छ । यसले पदमार्ग नै प्रभावित भएको छ ।
केही स्थानमा पदमार्ग र सडक एउटै बनेका छन् । यसले स्थानीय, पर्यटक र ज्यालादरी मजदुरलाई प्रत्यक्ष प्रभाव परेको छ । सडक सञ्जाल जोड्ने क्रममा भारी बोकेर दैनिकी चलाउने मजदुरलाई पर्ने प्रभावका विषयमा कसैको चासो दिएन । यही कारण अहिले पदयात्रीले सकस भोगिरहेका छन् ।
साथै मनाङको माथिल्लो क्षेत्रमा पनि सडक सञ्जाल पुर्‍याइयो । मनाङ सदरमुकाम चामे पुगेको सडक विसं २०७१ मा त्यहाँभन्दा २५ किलोमिटर टाढा सडक सञ्जालसँग जोडियो । यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किलोमिटरमाथिको खाङ्सारसम्मै सडकले जोडिएको छ ।
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ (पाँच हजार चार सय १६ मि.) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ ।
यस पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् । कैयौँ पदमार्गबाटै सडक त कैयौँ पदमार्ग नै मेटिएका छन् । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले सातदेखि १० दिनमा पूरा गर्न सकिने भएको छ । यसको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् ।
मनाङमा विसं २०५० सम्म खासै होटल थिएनन् । चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो । सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिने र यसको प्रचारप्रसार हुन थालेका बताइन्छ । त्यतिबेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैन थियो । भरियाले बेशीसहरबाट ५/६ दिन लगाएर भारी बोकेर सामग्री पुर्‍याउने गरिन्थ्यो ।
सडक सञ्जालको अभावमा पर्यटक र स्थानीय कतै–कतै डोरी र भर्‍याङमार्फत हिँड्थे । यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् । उनका अनुसार अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ । तर, कम मात्रामा प्रयोग गर्ने गरिन्छ ।
‘गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ’, उनले भने । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा बर्सेनि १९ हजारको हराहारीमा विदेशी पर्यटक आउने गर्दथे ।
सन् १९९९ मा आठ हजार बढी पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्याङ्क राखिए पनि कुनै पनि निकायले भरियाको तथ्याङ्क सङ्कलन गरेको छैन । बेँसीसहरसम्म मोटर चल्ने भएकाले पर्यटकहरू बेँसीसहर बास बस्न आइपुग्थे । बेँसीसहरबाटै भरियामार्फत सामग्री लैजाने गर्दथे ।
गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ । धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ ।
मनाङको आलु धेरैजसो मनाङमै खपत हुन्छ । सडक सञ्जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात सहरमा रहेका होटलमा खपत हुने गरेको पाइन्छ । पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार अहिले मनाङमा उत्पादित आलु, फापर बेँसीसहर हुँदै पोखरा–काठमाडौँसम्म पुग्छ । यहाँको यातायात चले पनि यहाँबाट सामग्री बजारसम्म पुर्‍याउन भने सहज छैन ।
यहाँको रहनसहन, पहिरन, खानपान, पशुपालन, व्यावसायिक फेरिनुले नै जलवायु परिवर्तन भएको बुझ्न सकिन्छ । अहिले मनाङमा ऊनको कपडा बाहिरबाट आयात हुने गरेको छ । विगतमा भन्दा यहाँको तापक्रममा पनि परिवर्तन आएको छ । यहाँको वातावरणलाई सन्तुलनमा ल्याउन मनाङवासीले मात्र नभई सरकारले नै कदम चाल्नुपर्ने देखिन्छ ।
स्थानीयलाई प्रत्यक्ष प्रभाव पारिरहेका विषयलाई गम्भीर अध्ययन गरी बेलैमा ध्यान दिन मनाङवासीले अनुरोध गरेका छन् ।

यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत भारत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गर...
09/12/2023

यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत भारत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् गत २८ जेठबाट भारतीय बजारमा बिक्री गर्न सुरु गरेको थियो ।
प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम ७०० मेगावाटसम्म विद्युत निर्यात गरेको थियो । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।
चालु आर्थिक वर्ष २०८०-८१को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।
सुख्खायाम सुरु भएसँगै खोला र नदीमा पानीको बहाव घटेकाले देशभित्रका जलविद्युत गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत आयात सुरु भएको छ । जसकारण शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक विद्युतको अधिकतम माग १ हजार ७०० मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत आयात सुरु गरिएको बताए ।
‘अहिले विद्युत उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युतगृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पिक समयमा आयात गर्दा विद्युतको दर महंगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ ।’
चैत र वैशाखमा विद्युत आयातको परिणाम केही बढे पनि यस वर्ष आयातभन्दा निर्यात बढी हुने उनको भनाइ छ । ‘आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत निर्यात पुनः सुरु हुने छ,यस वर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिंदैछ, त्यसैले अर्को वर्ष २५-३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुने छ,’ घिसिङले भने ।
प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यसैगरी असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यातबाट आर्जन भएको छ ।

09/12/2023

‘पठान’ र ‘वार’जस्ता व्यवसायिक हिट बलिउड फिल्म निर्देशन गरेका सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’को टिजर सार्वजनिक भएको छ । फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुरको शीर्ष भूमिका छ ।
यो एक एक्सन फिल्म हो जसमा दीपिका र ऋतिक स्क्वाड्रन लिडर बनेका छन् । फिल्ममा अनिलले ग्रुप क्याप्टेन शमशेर पठानियाको भूमिका निर्वाह गरेका छन् ।
अनिल अहिले फिल्म ‘एनिमल’का कारण पनि चर्चामा छन् । यसमा रणवीर कपुरको बुवाको भूमिकामा उनलाई निकै रुचाइएको छ । ‘फाइटर’ को बजेट करिब २५० करोड भारु छ र यो फिल्म माघ ११ गते (२५ जनवरी २०२४) मा भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुनेछ ।
‘फाइटर’को कथा लडाकु विमानको वरिपरि घुमेको छ । सन् २०१९ मा ‘वार’ मा काम गर्ने क्रममा सिद्धार्थ आनन्दले यसै विषयमा फिल्म बनाउने सोचेका थिए । ‘फाइटर’ भारतको पहिलो एरियल एक्सन फिल्म भएको बताइएको छ ।
यो फ्रेन्चाइजको पहिलो फिल्म हो । ‘फाइटर’बाट निर्देशक आनन्दले धेरै आशा राखेका छन् । उनले अहिलेसम्म दर्शकले पर्दामा नदेखेको दृश्यलाई ‘फाइटर’मा देखाइने बताए । फिल्मको कथा सिद्धार्थ आनन्दसँगै भारतीय सेनाका पूर्वअधिकृत अधिकृत तथा लेखक रामन छिबले लेखेका हुन् ।

Address

Delhi
Delhi

Alerts

Be the first to know and let us send you an email when ANI Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ANI Nepali:

Videos

Share


Other Delhi media companies

Show All