03/05/2025
Repost,correction!!!
सम्पूर्णमा नमस्कार !
गैरआवासीय नेपाली संघ, क्रोएसिया (NRNA, Croatia)
विषय: नेपाली राजदूतावास समक्ष ध्यानाकर्षण र पत्राचार सम्बन्धमा।
आजको मिति २०८२ साल बैशाख २० गते (२०२५ मे ३) का दिन, NRNA क्रोएसियाको ग्रुपमार्फत केही नेपाली दाजुभाइहरूबाट एक संवेदनशील विषयमा भिडियो सामग्री साझा गरिएको छ। उक्त भिडियोले सबैको ध्यानाकर्षण गराएको छ, र यसले गम्भीर सामाजिक तथा मानवीय पक्षहरू उजागर गरेको देखिन्छ।
गैरआवासीय नेपाली संघ, क्रोएसिया, नेपाली समुदायको हित र सुरक्षा प्रति सधैं जिम्मेवार रहँदै आएको संस्था हो। हामी कुनै पनि नेपालीको ज्यान–धनमा क्षति हुने अवस्था हेर्न वा सहन सक्दैनौं। त्यसैले यस्तो संवेदनशील विषयमा चुप लाग्नु वा उदासीन रहनु हामी सबैको नैतिक जिम्मेवारी विरुद्ध हो।
संस्थाको तर्फबाट आवश्यक पहल र औपचारिक पत्राचार राजदूतावासमा गरिसकिएको जानकारी गराउँदै, निम्न महत्वपूर्ण बुँदाहरूमा ध्यान दिन हार्दिक अनुरोध गर्दछौं:
१. सबै संघ–संस्थाहरूप्रति आह्वान:
नेपाली समुदायसँग सम्बन्धित समस्याको समाधान गर्न आपसी सहयोग र सकारात्मक सोचका साथ अघि बढ्न सम्पूर्ण संघ–संस्थाहरूप्रति अनुरोध गर्दछौं।
२. राजदूतावासको भूमिकाको स्पष्टता:
शोकपूर्ण अवस्थामा समेत नेपाली नागरिकको संरक्षण तथा हितका लागि राजदूतावास र कन्सुलर सेवाबाट आवश्यक पहल र जवाफदेही भूमिका अपेक्षित छ। यसमा अध्यक्षज्यूको नेतृत्व स्पष्ट र प्रभावकारी रहेको कुरा अवगत गराउन चाहन्छौ।
३. कानुनी प्रक्रिया र असर:
हिजोआज युरोपियन युनियन (EU) भित्रका कानुनी प्रक्रियाहरूले नेपालीहरूलाई प्रत्यक्ष असर पार्ने अवस्था आएको छ। यसरी उत्पन्न हुने कठिन परिस्थितिमा संस्थाले विगतमा पनि पहल गर्दै आएको र भविष्यमा पनि जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता पुनः व्यक्त गर्दछौं।
४. राहदानी सम्बन्धी पहल:
राहदानी सम्बन्धी समस्यालाई लिएर राजदूतावास समक्ष औपचारिक पत्राचार भइसकेको छ, र समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी गराइन्छ।
अन्तमा, सम्पूर्ण समुदायलाई संयमता अपनाउन, गलत कदम नचाल्न तथा सकारात्मक सूचनाको प्रतीक्षा गर्न हार्दिक अनुरोध गर्दछौं।
गैरआवासीय नेपाली संघ, क्रोएसिया
परिवार